काठमाडौं : वैदेशिक रोजगार विभागले नयाँ महानिर्देशक पाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार कृष्ण प्रसाद दवाडीलाई विभागको महानिर्देशकको जिम्मेवारीमा पठाएको छ ।
विभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहाललाई लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालय बुटवलमा सरुवा गरेपछि विभागको महानिर्देशक पद एक हप्तायता रिक्त थियो । सामान्य प्रशासन मन्त्रालयले गत मंगलबार ७९ जना सहसचिवहरुको सरुवा गर्दा शहरी विकास मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका दवाडी श्रम मन्त्रालयमा सरुवा भएर आएका हुन् ।
महानिर्देशक दवाडी वैदेशिक रोजगार क्षेत्रका जानकार मानिन्छन् । यसअघि उनले वैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यलय प्रमुख र साउदी अरबस्थित नेपाली दूतावासमा श्रम काउन्सिलरको जिम्मेवारी सम्हाली सकेका छन् । वैदेशिक रोजगारका प्राविधिक पक्षका विषमा जानकार विभागको महाानिर्देशकको जिम्मेवारीमा आएपछि वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याले छिटो समाधान पाउने भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् ।
मुलुकमा वार्षिकरुपमा आउने करिब ९ खर्ब रेमिट्यान्स क्षेत्र सुधार र व्यवस्थित गर्न व्यवसायीहरुले पटक–पटक आवाज उठाएपनि विभागको नेतृत्व गर्ने महानिर्देशक करिब एक वर्षमात्र टिक्ने गरेका छन् । वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्ने र रोजगारीमा जाने कामदारहरुको अधिकार संरक्षण गर्ने जिम्मेवारी भएपनि विभागले विगत केही वर्षयता नेतृत्वको स्थायित्व पाउन सकिरहेको छैन । त्यसले वैदेशिक रोजगार क्षेत्रको प्रशासन र सुशासनमा समस्या रहेका भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले अनुभवी व्यक्ति विभागको नेतृत्वमा आए सुधारका कामले छिटो गति पाउन सक्ने बताउने गरेका छन् ।
सुधारको प्रयास गरेका विभागका तत्कालीन महानिर्देशक डा. भीष्म कुमार भुसालले दश महिनामात्र विभागको नेतृत्व गरे भने त्यसपछि आएका कुमार दाहाल पनि १४ महिना जति विभागमा बसे पनि कोरोना संक्रमणका कारण उनले देखिने गरी काम गर्न पाएनन् ।
पछिल्लो समय गर्नुपर्ने काम नगर्ने तर अनावश्यकरुपमा म्यानपावर व्यवसायीका कार्यालयमा अनुगमन गरेको भनेर व्यवसायीले दाहालको कार्यशैलीको चर्को आलोचना गरेका थिए ।
महानिर्देशकको जिम्मेवारीमा आएका दवाडीले कुन क्षेत्रमा रुची देखाउलान् त्योे भने प्रतिक्षाको विषय छ । महानिर्देशक दवाडीको अवकासको लागि धेरै समय नरहेका कारण विभागका काममा सुस्तता र औपचारिकतामा मात्र सीमित हुन पनि सक्ने कतिपयको विश्लेषण छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies