देवेन्द्र आलोक/मध्यान्ह
विराटनगर : डेढसय वर्ष अगाडिदेखिको स्रोतलाई व्यवस्थित गर्न नसक्दा पूर्वी नेपालको प्रमुख शहरमध्येको एक, सुनसरीको धरानमा खानेपानीको हाराकार भएको छ । मुख्य स्रोतलाई व्यवस्थित गरेर पूर्ण क्षमतामा खानेपानी संकलन नहुँदा धरानबासी खानेपानीको समस्या भोग्न बाध्य भएका हुन् ।
डेढसय वर्ष अघिदेखी यहाँको परम्परागत खानेपानीको श्रोत सर्दु–खर्दु जलाधार रहँदै आएको छ । पचासौं वर्ष खानेपानी संस्थानले त्यही श्रोतबाट धरानबासीलाई पानी वितरण गर्दै आएको थियो । तर, मुख्य श्रोतलाई व्यवस्थित गरी पूर्ण क्षमतामा पानी संकलन नगर्दा अहिले खानेपानीको समस्या निम्तिएको हो ।
खानेपानी संस्थान खानेपानी बोर्डमा मर्ज भएपछि जलाधार क्षेत्रको निरीक्षण गरिएको थियो । निरीक्षणका क्रममा संस्थानले मुहान व्यवस्थित नगरेको पाइएको हो । शनिवार र आइतवार खानेपानी बोर्डका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहितको टोलीले मुहानको अनुगमन गरेको थियो । अनुगमनका क्रममा मुहानैमा पानी खेर गइरहेका पाइएको हो । टोलीमा सहभागी बोर्डका ईञ्जिनियर प्रशान्त अधिकारीले भने ‘मुहानमा पानी संकलन व्यवस्थित नगर्दा धेरै पानी खेर गइरहेको पाइएको छ ।’
धरानमा खानेपानी सहज बनाउन अहिले पनि जलाधारको ठूलो भूमिका छ । बढ्दो आवश्यकता पूर्तिका लागि मुहानको अधिकतम् उपयोगमा संस्थान गम्भिर नभएको बताउँदै अनुगमन लगत्तै सर्दु–खर्दुको मुहान व्यवस्थित गर्न मर्मत गरिने निर्णय भएको उनले बताए । मर्मत गरेर पानीको स्रोतबाट खेर गैरहेको चुहावट रोकिने खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।
सर्दु–खर्दुको मुहानको अवस्थाको निरीक्षणमा खर्दुमा स्लोप प्रोटेक्सन वक्र्स तत्काल गरिनुपर्ने देखिएको छ । उक्त कार्यअन्तर्गत आरसीसी पर्खाल निर्माणका लागि बोलपत्र आह्वान गरिने जनाइएको छ ।
खर्दुको पानी आँपगाछी हुँदै आउँछ । खर्दु मुहान आसपास अनावश्यक मानिसहरु प्रवेश गर्दा फोहोर हुने गरेकोले मानवीय प्रवेश बन्द गरिने भएको छ ।
बीपी पार्क उत्तरस्थित जलाधार क्षेत्रमा रहेको खानेपानीको मुहानको सरक्षाका लागि निकै काम गर्नुपर्ने देखिएको छ । अहिलेसम्म संस्थानले खानेपानी संकलनका पाइप व्यवस्थित नगरेकाले मर्मत कार्यहरु धेरै गर्नुपर्ने देखिएको ईञ्जिनियर अधिकारीले बताए । उनले भने ‘प्रोटेक्सन वर्कहरु, नयाँ च्याम्बर निर्माणका साथै वर्षाको बेलामा पनि पानी संकलन सहज बनाउने कामहरु गरिने छ ।’
ईन्जिनियर अधिकारीका अनुसार खर्दुमा पहिरो आउँदा खानेपानीको पाइप नै भत्किने र बग्ने अवस्था छ । अब भने सर्दुको मुहान लामपाते झरना नजिकै च्याम्बर निर्माण गरिने छ । च्याम्बरमा पाइप जोडेर इन्टेकसम्म पानी ल्याइएने छ । बीच बीचमा टेवा पर्खाल ग्याबेनका काम गर्नुपर्ने देखिएको छ । ती कामहरु भएपछि मुहानहरुको अधिकतम् उपयोग हुने जनाइएको छ ।
ईन्जिनियर अधिकारीका अनुसार सर्दुको फोहोर व्यवस्थापन, मर्मत कार्यहरु एक महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies