यही साता सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ । सर्वोच्च अदालतबाट पुनस्र्थापित प्रतिनिधिसभाले एउटै पनि विधेयक नबनाइ अधिवेशन अन्त्य गरियो । त्यो पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै परामर्श समेत नगरी र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले समेत थाहा नपाइँ अधिवेशन अन्त्य गरिएको छ । प्रधानमन्त्री ओलीको पद संकटमा पर्ने संकेत देखिए लगत्तै संसद् अन्त्य गरियो । नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिनेगरी बैठक बस्न लागेका बेला प्रम ओलीले हठात् संसद् बैठक अन्त्य गरे । वर्षे अधिवेशन बोलाउने बेला भएकाले पनि यसतर्फ धेरैको चासो गएन । बरु, संसद्को हिउँदे अधिवेशनको समीक्षा भयो । तर, अधिवेशनको अन्त्य सहज थिएन ।
किनभने, गएको वर्षे अधिवेशन र त्यस अगाडिको हिउँदे अधिवेशन पनि प्रम ओलीले बिना सल्लाह गरेका थिए । जबकी, संसद् अन्त्य र बोलाउन सभामुखसँग मात्रै नभएर दलहरु बीच पनि सहमति जुट्न जरुरी छ । प्रतिनिधिसभा जनप्रतिनिधिहरुको संस्था भएकाले दलीय सहमति खोज्ने प्रायः संसदीय अभ्यास रहन्छ । तर, सत्तारुढ दलको कलहकै कारण यसपटक पनि अधिवेशन हठात् अन्त्य गरिएको छ र अर्को अधिवेशन बोलाउने कुनै छाँट देखिएको छैन । जबकी, मुलुकमा यतिबेला कोरोना महामारीको भय फेरि बढेर गएको छ । यस्तो बेला दलहरु बीच मात्रै नभएर आम सरोकारवाला बीच राष्ट्रिय सहमतिको खाँचो छ । कोरोना एक मनोवैज्ञानिक महामारी भएकाले यसबाट जोगिन र मुलुकलाई सामान्यकाल तर्फ फर्काउन पनि राष्ट्रिय सहमति र आम अपिलको खाँचो छ ।
गएको वर्षे अधिवेशनका बेला पनि राष्ट्रिय सहमतिको खाँचो महशुस भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् अधिवेशन अन्त्य गरेका थिए । गएको ५ पुसतमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नै विघटन गरिदिए । मुलुक असामान्य कालमा रहेका बेला जनप्रतिनिधिमुलक संस्थाको असंवैधानिक विघटनको निर्णय राजनैतिक र संवैधानिक संकट तर्फ मुलुक तानिएको थियो । त्यसबेला कोरोना महामारी केही कम भएकाले राजनैतिक, संवैधानिक र अन्य क्षेत्रको मात्रै बहस भयो । अहिले फेरि मुलुकमा असमान्य अवस्था देखिएको छ र फेरि पनि राष्ट्रिय सहमतिको खाँचो छ । त्यसका लागि वर्षे अधिवेशन बोलाउन विलम्ब गरिनु हुन्न । यसको पहलकदमी लिने दायित्व फेरि पनि प्रधानमन्त्री ओलीकै हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies