काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणका बिरामीहरुको ज्यान जोगाउन वैदेशिक रोजगारमा रहेका नेपालीहरु अक्सिजन ग्यासका सिलिण्डर खरिद गरी नेपाल पठाउने अभियानमा सक्रिय भएका छन् ।
मध्यपूर्वका विभिन्न देशमा कार्यरत नेपालीले सानो–सानो रकम संकलन गरी खरिद गरेको ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल आइपुगेको छ । स्थानीय समय दिउँसो २ बजे ओमानको मस्कटबाट अक्सिजन सिलिण्डर बोकेर उडेको नेपाल एयरलाइन्सको विमान शनिबार साँझ काठमाडौं आइपुगेको हो । नेपालीहरुले अक्सिजन सिलिण्डर खरिद गरेपछि तीे सिलिण्डर लिन नेपाल सरकारले नेपाल वायु सेवा निगमको जहाज पठाएको थियो ।
नेपालमा देखिएको अक्सिजन अभाव कम गर्न वैदेशिक रोजगारमा रहेका नेपालीहरुले ठूलो योगदान दिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रवक्त डिबी क्षेत्रीले बताए । संघको मध्यपूर्व क्षेत्रीय समितिले खाडीमा रहेका सबै संघसंस्थाहरुको समन्वयमा रकम संकलन गरी ती सिलिण्डर खरिद गरेको हो ।
प्रति सिलिण्डर १ सय २० डलर खर्च भएको बताइएको छ । ढुवानीदेखि नेपाल पठाउनेसम्मको कार्यमा ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल सक्रिय रहेको प्रवक्ता क्षेत्रीले बताए । संघले आज ती सिलिण्डर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने बताएको छ ।
उता गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको समन्वयमा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउन शुरु गरिएको छ । एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले तत्कालका लागि १ सय अक्सिजन कन्सन्ट्रेटर पठाउन रकम संकलन शुरु गरेको बताए ।
एनआरएनएले कोरोना भाइरस संक्रमणबाट संक्रमितहरुलाई बचाउन ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान शुरु गरेको छ । नेपालमा कोभिड–१९ को दोश्रो लहर तीव्र भएपछि अक्सिजन तथा बेडहरु अभाव भएपछि संघले अक्सिजन, आईसीयु बेड र अत्यावश्यक स्वास्थ्य सामग्री पठाउने अभियान शुरु गरेको हो ।
संघले अक्सिजन र आईसीयु बेड भएमा बढ्दो मृत्युदर घटाउन सकिने बताएको छ । एनआरएनएले गतहप्ता तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको थियो । एनआरएनए कुवेतले पनि सिलिण्डर खरिदका लागि अभियान चलाएको छ । शनिबारसम्म ७ लाख नेपाली रुपैयाँ बराबरको रकम संकलन भइसकेको बताइएको छ । त्यसमा एनआरएनए कुवेतले दुई लाख रुपैयाँ योगदान गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies