काठमाडौं : चीनको वुहानबाट सन् २०१९ मा शुरु भएको कोरोना भाइरस संक्रमणको विस्तारले मानव सभ्यतामा नै परिवर्तन देखाएको छ । एक आपसमा भेट्दा अंकमाल गरेर भावना साटासाट गर्ने प्रवृत्तिलाई कुइनो ठोक्याउने शैलीमा परिवर्तन गरिदिएको छ भने एकले अर्कोलाई संक्रमितको शंका र त्रासको नजरले हेर्न बाध्य बनाएको छ ।
यस्तो अवस्थामा अन्तर्राष्ट्रिय यात्रा कसरी ? यो प्रश्नको उत्तरको खोजीमा विश्वका सबैभन्दा व्यस्त विमानस्थलका प्रमुखले कोभिड राहदानीको अवधारणा ल्याएका छन् । आगामी दिनमा वैदेशिक यात्रा पुनः निरन्तर गर्ने बाटो कोभिड राहदानी भएको दबाब आइरहेको बीबीसीले उल्लेख गरेको छ । खोप राहदानीको अवधारणा लागू भएमा विदेश यात्रा गर्न राहदानीसँगै अब खोप लगाएको प्रमाणपत्रको विद्युतीय प्रति देखाउनु पर्ने छ ।
विपन्न अवस्थामा रहेको नेपालजस्ता गरिब मुलुकबाट सम्पन्न देशमा वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि महँगो र जटिल हुने छ । वैदेशिक रोजगारीमा जाने बाध्यतामा रहेका नेपाली कामदारहरु खोपको पुहँचबाट बाहिरै रहेका छन् । काम गर्न जाने कामदार मात्र होइन उनीहरुको व्यवस्थापनका लागि यात्रा गर्ने रोजगारदाताहरु पनि खोपको पुहँचमा छैनन् ।
तर विश्वको अतिव्यस्त मानिने दुबई विमानस्थलका प्रमुख कार्यकारी पल ग्रिफिथले अब अन्तर्राष्ट्रिय यात्रालाई सुचारु गर्ने हो भने कोभिड राहदानीको विकल्प नभएको बताउँछन् । खोप राहदानीको नयाँ व्यवस्थाले खोप पाउन नसक्नेहरूप्रति विभेद हुने मत कतिपयको छ । तर विमानस्थल प्रमुख ग्रिफिथ आगामी दिनमा खोप राहदानी ‘अपरिहार्य’ हुने बताउँछन् ।
विश्व स्वास्थ्य सगठन (डब्लुएचओ) र विश्व यात्रा तथा पर्यटन परिषद्ले दुई तहको समाज सिर्जना गर्नसक्ने भन्दै त्यसमा असहमति जनाएका छन् । गत महिना डब्लुएचओका डा. माइक रायनले खोप राहदानीका विषयमा नैतिक र निष्पक्षताको प्रश्न उठ्ने चिन्ता व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies