काठमाडौं : वैदेशिक रोजगारमा गएका कामदारहरुको बाहुल्यता रहेको मध्यपूर्वका मुलुकहरुबाट नेपालीहरुले पठाएको ५ सय ६० वटा अक्सिजन सिलिण्डर नेपाल सरकारले प्रयोग गर्न शुरु गरेको छ । शनिबार साँझ नेपाल आइपुगेका सिलिण्डरहरु आइतबार बिहान स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र पूर्व अध्यक्ष उपेन्द्र महतोले हस्तान्तरण गरे ।
अध्यक्ष पन्तले नेपाल ल्याइएको सिलिण्डरमध्ये लुम्बिनीमा २ सय, सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा एक–एक सय, गण्डकी र प्रदेश नं. २ मा ८५–८५ वटा पठाउन अनुरोध गरिएको बताए ।
यूएई, ओमान, कुवेत, कतार, साउदी अरब र बहराइनलगायतका खाडी मुलुकहरुमा रहेका एनआरएनए राष्ट्रिय समितिहरुको संयोजनमा ती मुलुकहरुमा कार्यरत नेपाली कामदारसँग चन्दा संकलन गरेर एनआरएनए ओमानको संयोजनमा ओमानमा ७५ लाख रुपैयाँ बराबरको सिलिण्डर खरिद गरिएको थियो ।
अध्यक्ष पन्तले ‘नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियानअन्तर्गत थप ६ सय ७० वटा अक्सिजन कन्सन्ट्रेटर तत्कालै उपलब्ध गराउने योजना रहेको बताए ।
यसैबीच पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जन्मभूमिलाई अप्ठ्यारो परिरहेको अवस्थामा आफ्नो गाँस काटेर सास पठाएको भन्दै खाडीमा कार्यरत नेपालीको सह्राहना गर्दै सामाजिक सञ्जालमार्फत कामदारहरुले पठाएको अक्सिजन सिलिण्डरले थुप्रै नेपाली नागरिकहरुको जीवन जोगिने भन्दै कामदाहरहरुको योगदान र मद्दतलाई सलाम भनेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies