काठमाडौं : मलेसियामा कार्यरत नेपालीसहित विभिन्न देशका कामदारले प्रसिद्ध अमेरिकी टायर निर्माता कम्पनी गुडइयरविरुद्धको तलव सुविधालगायतको क्षतिपूर्तिको मुद्दा जितेका छन् । कम्पनीमा कार्यरत नेपालीसहित ५६ विदेशी कामदारको अनुचित एवं गैर कानूनीरुपमा तलव काटेको, राहदानी कब्जामा लिएर मानवअधिकार हनन गरेकोजस्ता विषयमा त्यहाँको औद्योगिक अदालतमा मुद्दा दायर गरेका थिए ।
बिहीबार भएको फैसलामा विदेशी कामदारहरुले मुद्दा जितेका हुन् । गुडइयरविरुद्ध विदेशी मजदुरहरुको यो तेस्रो ठूलो सामूहिक मुद्दा हो । यसअघि १ सय १९ विदेशी मजदूरले दायर गरेको मुद्दा पनि औद्योगिक अदालतले मजदुरहरुका पक्षमा फैसला सुनाएको थियो । त्यसविरुद्ध विपक्षी गुडइयर कम्पनी उच्च अदालतमा पुनरावेदनमा गएको छ । त्यस मुद्दाको फैसला आगामी जुलाई २६ मा हुने बताइएको छ ।
उक्त कम्पनीमा ठूलो संख्यामा नेपालीसहित म्यानमार तथा भारतका कामदार रहेका छन् । उक्त कम्पनीमा सन् २०१२ देखि सन् २०२० सम्म काम गरेका नेपालका शरण कुमार राई मलेसियाको औद्योगिक अदालत जाने विदेशी कामदार मध्ये प्रमुख हुन् ।
अदालतमा प्रमाणका रुपमा पेश गरिएको तलव भुक्तानी (पेस्लीप) मा कतिपय विदेशी कामदारले महिनामा २ सय २९ घण्टासम्म ओभरटाइम काम गरेको पाइएको थियो । मलेसियाको श्रम कानून अनुसार विदेशी कामदारहरुले मासिक १ सय ४ घण्टामात्र ओभरटाइम काममा लगाउन पाउने व्यवस्था रहेको छ ।
विदेशी कामदारहरुका तर्फबाट मुद्दा लडिरहेका स्थानीय कानून व्यवसायी चन्द्रा सेगरन राजेन्द्रनले उक्त कम्पनीले कामदारको ५० लाख रिंगिट करिब १५ करोड रुपैयाँ बराबरको रकम भुक्तानी गर्नुपर्ने बताएका छन् । उनले गुडइयरले मुद्दा हारेको घटनाले मलेसियामा विदेशी कामदारको हौसला बढाएको बेलायती समाचार संस्था एपीलाई बताएका छन् ।
अधिवक्ता सेगरनले अदालतले मलेसियामा काम गर्ने विदेशी कामदारले मलेसियन नागरिक सरह सेवा, सुविधा पाउनु पर्ने पक्षमा निर्णय दिएको बताएका छन् । उक्त कम्पनीविरुद्ध मलेसियाको औद्योगिक अदालतमा यसअघि पनि विदेशी कामदारले तलव सुविधा दिलाउन माग गर्दै उजुरी दिएका थिए ।
मलेसियामा कम्पनीहरुले आप्रवासी श्रमिकलाई ठगेको, विभेद गरेको मुद्दा पछिल्ला केही वर्षयता चर्को रुपमा उठ्दै आएको छ । कामदार शोषणमा परेको विषयलाई समावेश गरी बेलायती सञ्चार संस्था रोयटर्सले एक अनुसन्धान मुलुक समाचार सार्वजनिक गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies