पोखरा : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सांसद दीपक मनाङेलाई बाल्मिकी बनाउन नसकेको भन्दै कटाक्ष गरेका छन् । सरकारी निवास छाड्नुअघि आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै गुरुङले स्वतन्त्र सांसद मनाङेबाट ठूलो धोका भएको उल्लेख गरे ।
रत्नाकार डाँकु बाल्मिकी बनेको उल्लेख गर्दै मनाङेलाई पनि बाल्मिकी बनाउने चाहना पूरा नभएको गुरुङले उल्लेख गरे । हिजो डाँकुको सरदार रत्नाकर डाँकु पनि बाल्मिकी बन्न सक्छन् भने दीपक मनाङे हामीजस्तै एउटा राजनीतिज्ञ किन बन्न सक्दैन भन्ने आफूले सोचेको उनले स्मरण गरे ।
‘हाम्रो दीपक मनाङे हामीजस्तै एउटा राजनीतिज्ञ किन बन्न सक्दैन भन्ने सोचेको थिएँ,’ उनले भने– ‘कहिले कहिले के हुन्छ भने सबै डाँकुहरु बाल्मिकी त हुँदो रहेनछन्, म सुध्रिन्छु, समाजसेवामा आउँछु भन्छ भने किन सक्दैन भनेर नै मैले उसलाई सघाएको हो ।’
निवर्तमान मुख्यमन्त्री गुरुङले मनाङेप्रति कटाक्ष गर्दै आँगनमा धतुरोको रुख पालेर अमृत नपाइने पनि उल्लेख गरे । प्रदेशसभाको निर्वाचनमा मनाङेलाई आफैले सघाएको पनि उनले स्मरण गरे । ‘उसलाई चुनाव जिताउने मै हुँ,’ उनले प्रश्न गरे, ‘अब म यस्तो गर्दिनँ, चुनाव लड्छु, समाजसेवा गर्छु भनेर एमाले प्रवेश गरेको होइन ?’
मनाङेलाई सांसदको रुपमा सपथ गर्न सभामुखले र अरु सांसदहरुले नमान्दा आफूले अवसर दिएको पनि उल्लेख गरे । मनाङे एमाले प्रवेश गरिसकेको र पार्टीलाई लेबी पनि तिरेको दाबी गर्दै पार्टीले चाहेमा सांसद पद नै गुम्ने अवस्था रहे पनि आफूले त्यसो नगरेको निवर्तमान मुख्यमन्त्री गुरुङले बताए । मनाङेलाई राजनीति सिक्दै छ भन्ने ठानेर आफूले त्यो कदम नचालेको गुरुङको भनाइ थियो ।
वैशाखको पहिलो साता पृथ्वी सुब्बा गुरुङ्विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि आफ्नो पक्षमा पार्न उनले मनाङेलाई मन्त्री पद साटेका थिए । मनाङेलाई मन्त्री बनाएको ११ दिनमा वैशाख २६ गते गुरुङले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
त्यसपछिको नयाँ सरकार गठन प्रक्रियामा विपक्षी गठबन्धनले बहुमत पु¥याउन नसक्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका थिए । दोस्रो पटक मुख्यमन्त्री भएपछि पनि पृथ्वी सुब्बाले मनाङेलाई पुनः युवा तथा खेलकूद मन्त्रालयकै जिम्मा दिएका थिए ।
गुरुङले बिहीबार विश्वासको मत लिने क्रममा भने मनाङेले उनको साथ छोडेर विपक्षीलाई सहयोग गरेका हुन् । विपक्षीलाई साथ दिएका मनाङेलाई विपक्षी गठबन्धनले पनि मन्त्री बनाएको छ ।
गुरुङले विपक्षी गठबन्धन लामो समय नटिक्ने पनि दाबी गरेका छन् । उनले कांग्रेस, माओवादीसहितको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको आरोप लगाए । उक्त गठबन्धनमा विवाद आउने र लामो समय नटिक्ने उनले दाबी गरे ।
गठबन्धनमा पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरको संलग्नता रहेको उनले उल्लेख गरे । गठबन्धन लामो समय जाओस् भन्ने आफूले चाहे पनि लामो समय नजाने उनले दाबी गरे । प्रदेश सभामा बलियो प्रतिपक्षीका रुपमा बसेर नयाँ सरकारलाई रचनात्मक सहयोग गर्ने उनले बताए । गुरुङले पार्टी केन्द्रको विवादको विषयाको प्रसंग पनि कोट्याएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies