-कल्पना पौडेल ‘जिज्ञासु’, बाँके
रेखा जग्गासम्बन्धि कामको सिलसिलामा जिल्ला अदालतमा गएकी थिइन् । आफ्नो वकिल ठिक समयमा नआइपुगेको कारण समय बिताउन गाह्रो भएकोले अदालतमा यता उता डुल्दै थिइन् उनी । अचानक रेखाको नजर कैदी कक्षमा पुग्यो । त्यहाँ हातमा हथकडी लगाएर राखिएका धेरै कैदीहरु थिए तर, रेखाको नजर एक अधबैँसे महिलामा गएर टक्क रोकियो । झ्यालनेर दुब्ली काली, झट्ट हेर्दा रोगी जस्ती देखिने महिला मैलो धोतीको सप्कोले आसुँ पुछ्दै सुक्क–सुक्क रुँदै थिइन् । कोठाभित्र जाने अनुमति थिएन । त्यसैले रेखा त्यहिँ झ्याल छेउमा गएर महिलालाई बोलाइन् ।
दिदी हजुरको नाम के हो ?
महिलाले भनिन–सुन्तली ।
यहाँ कुन गल्ति अपराध गरेर आउनुभएको अथवा ल्याइएको हो नि ?
सुन्तली दिदीलाई रेखाले बडो प्रेमपूर्वक सोधीन् ।
सुन्तलीले मुख घोप्टो पारेर भूूइँमा हेर्दै जवाफ फर्काइन् – मैले चोरी गरेकी थिए बहिनी ।
‘ओहो चोरी ? के चोरी गर्नु भएको थियो ?’– रेखाले आश्चर्यजनक शैलीमा सोधीन् ।
‘अन्नको बोरा चोरेको थिए’ सुन्तलीले छोटो जवाफ फर्काइन् । रेखाको जिज्ञासा झन् बढ्दै गयो अनि फेरि सोधिन्– ‘दिदी कति अन्न थियो त्यो बोरामा ?’ ‘दश किलो जति चामल र चार किलो जति पिठो थियो ।’ सुन्तलीले सुक्क–सुक्क सिंगान पुछ्दै भनिन् ।
‘दिनभरी काम गरेको भएपनि त्यति अन्न किन्ने पैसा कमाउन सक्थेउ, फेरि चोरी किन गर्यौ ? चोर्नु नराम्रो आदत हो दिदी त्यति अन्न चोरी गर्दा हथकडी लगाएर अदालत आउनु पर्यो चोरी गर्नुको कारण के थियो दिदि ?’ रेखाले फेरि सोधीन् ।
सुन्तलीले सुक्क–सुक्क रुँदैरुँदै भनिन्– ‘म केहि दिनदेखि बिरामी थिँए । काम गर्न नसक्ने गरि थला परेकी थिए । घरमा स–साना छोराछोरी छन् । खानको लागि अन्नको एक दानासम्म थिएन । छोराछोरीको पेट भर्न म बल्ल–बल्ल उठेर भिख माग्न मन्दिरको छेउमा बसेको थिँए तर, मन्दिरमा पूजा गर्न आउने जतिले सिसाको बोतलभरी दूध फलफूल ल्याएर मूर्तिमाथि चढाए मलाई कसैले हेर्दा पनि हेरेनन् । एक पैसा कसैले दिएनन मूर्ति माथि बगाएको दूध अबिरमा मिसिएर रातो खोला झैँ बगिरहेको थियो अनि म भोकले मर्नै लागेको थिए । मन्दिरको नजिकै पसल रहेछ, एकजना व्यक्तिले त्यहि अन्नको बोरा किनेर ल्यायो र मन्दिरको गेटमा राख्यो र आफूभित्र दर्शन गर्न गयो । अलिपर एक बालक चिच्याई–चिच्याई रोएको देखे, अनि मँैले घर छोडेर आएका स–साना छोराछोरी सम्झे उनीहरु पनि भोकले यसरि नै रोएका होलान् भन्ने लाग्यो । पापी पेटको लागि मैले दाँया–बाँया सहि गलत केहि नसोँची त्यहि अन्नको बोरा समातेर घरतर्फ जादै थिए पुलिसले समात्यो र मलाई नजिकको चौकीमा ल्यायो ।’
सुन्तलीको कुरा सुनेर रेखाको आखाँ रसाए लामो स्वास फेरीन् र भनिन् –‘ अनि हजुरको श्रीमान कहाँ हुनुहुन्छ ? चौकीमा छोराछोरी लिएर छुटाउन आउनु भएन ? श्रीमान बितिसक्नु भयो । उहाँ साहुको घरमा काम गर्नु हुन्थ्यो । एकदिन खेतमा पानी लगाउन जाँदा सर्पले टोक्यो उपचार गर्ने पैसा थिएन । साहुसँग माग्दा ‘अब तँ मरीस् भने मेरो ऋण कसले तिर्छ, तेरी स्वास्नी रोगी छ’ भनेर एक पैसा दिएनन् । गाउँमा गुहार मागियो, कसैले सहयोग गरेनन् अनि बित्नुभयो । छोरा–छोरी चौकीमा आएर सबै कुरा भनेका थिए । हामी गरिबको कुरा कस्ले सुन्थ्यो र बहिनी ? छोराछोरीको भोक मेटाउँछु भनेर चोरी गर्दा मलाई एक सालको सजायँ तोकियो !’ भन्दै सुन्तली जोडले रुन थालिन् ।
सुन्तलीलाई सान्त्वना दिनको लागि रेखासँग कुनै शब्द थिएन । ‘नरुनुस् दिदी, आफुलाई सम्हाल्नुस्’ भनेर रेखा अदालतको बाहिर निस्कीन र बगैचाको कुर्चीमा थचक्क बसीन् । सुन्तलीको कथा सुनेर मनभरी अनेक प्रश्न खडा भए उनमा । देशको दरिद्रता र यिनी निरिह गरिबहरुको दुःख, कष्ट हटाउने कुनै उपाय छैन ? एकै देशका जनता हामी सबैको खाने लगाउने समान अधिकार त हुनुपर्ने नियम कानुन सबैलाई बराबर हुनुपर्ने तर, त्यस्तो छैन । भ्रष्टाचार गरेर रातारात अरबपति हुने, चोरी तस्करी गर्ने, कलिला मुनाजस्ता छोरी चेलीको बलात्कार गर्ने जस्ता असती पापी यहि समाजमा सम्मानित भएर हिँडेका छन् । भोको पेटको लागि अन्न चोरी गर्दा सुन्तली जस्तालाई जेलको सजाय भएको छ ।
स–साना छोराछोरीलाई एक्लै अलपत्र पारिदिएको छ । नेपालको कानुनले जो गरिब छ, असक्षम छ उसैलाई सजायँ तिर्न लगाउँछ । हुने खाने धनी सम्पन्नसालीको लागि अलग नीति नियम र सिद्धान्त छ । धिक्कार छ नेपालको कानुन । जून सरकार आए पनि दुःखी गरिब मजदुरको अवस्था फेरीएन । राज्यले गरिबी निवारण गर्न सकेन । उसैमाथि विश्वब्यापी रुपमा फैलिएको यो कोरोनाको सबभन्दा बढी असर गरिवलाई नै परेको छ । कहिले आउने रैछ र गरिबको दिन ? सोँच्दा सोँच्दै रेखा अर्कै दुनियाँमा पुगिन् । जँहा विभेद रहित सभ्य समाज हुन्छ सरकार हुँदैन नेता हुदैनन् सबै जनताले रोजगार पाउँछन् । सबै जनताको, सबै कुराको बिमाको व्यवस्था गरिएको हुन्छ । बेरोजगारीलाई बेरोजगार भत्ता उपलब्ध गराइएको हुन्छ । रोगीलाई निःशुल्क उपचार गरिन्छ । जति पनि राज्यको स्रोतसाधन छन् समान हुन्छन्, त्यो दुनियाँको कल्पनामा डुबिरहेकी थिइन रेखा ।
अचनाक पछाडीबाट आवाज दिँदा झस्किन । ‘रेखा जी हजुर यहाँ पो बस्नु भएको रैछ, कति पटक फोन गरे उठाउनु भएन, अब फर्कन्छु भनेर हिँड्दै थिए हजुरलाई देँखे’ रेखाका वकिलले भने । ‘ओहो पदम जी, माफ गर्नु होला, मैले फोनको रिंग बजेको सुनिन ल जाउँ जग्गाको मन्जुरी नामसम्बन्धि काम सकौँ’, भन्दै दुवै जना अदालतभित्र पसे । केहि समयमा सबै काम सकियो वकिललाई फिस बुझाएर धन्यवाद दिँदै बिदा मागिन् । अदालतबाट फर्किनु अघि सुन्तलीलाई भेटिन् रेखाले ।
उनका अबोध छोराछोरीको हेरचाह गर्ने बचन दिएर घर फर्कीन रेखा । सुन्तली अहिले खुसीका आसुँ पुछ्दै सन्तोषको सास फेरिन् ।
रेखा भने सुन्तलीका आखाँबाट खुसीका आसुँ बर्सिदा केहीबेर अघि आफुले देखेको साम्यवादी व्यवस्थाको सपना सम्झेर एक्लै मुसुक्क हाँसिन् । यी जिउँदै मरेका नेताले के ल्याउथे र बरै साम्यवादी व्यवस्था । ‘दुःखी गरिब निमुखा जनताको खुन पसिना चुस्न पल्केका नामर्दहरु’ यस्तै के–के भटभटाउंदै मूल गेटबाट बाहिर निस्किन् । बाटोभरि मनमा अनेक तर्क बितर्क खेलाउँदै घर पुगिन् । अनि अठोट गरिन्, सुन्तलीका मात्र होइन सुन्तलीजस्तै हजारौँ लाखौं आमाका सन्तानलाई आश्रय दिन पालन पोषण गर्न र शिक्षा दीक्षा दिनको लागि बालआश्रम खोल्ने र आश्रमको नाम ‘ह्याप्पी होम राख्ने ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies