हिमेश बि.क/मध्यान्ह
धनगढी : जडान भएदेखि विवादमा तानिँदै आएको बिलबोर्ड कम्पनीले २६ महिनादेखि विद्युत महशुल नबुझाइएको पाइएको छ । कैलालीको अत्तरिया चोकमा जडान गरिएको उक्त बिलबोर्डका नाममा जडान भएको मिटरको २०७६ साउन यता महशुल नतिरेको पाइएको हो ।
बिलबोर्ड जडान गरेको क्यालडोन ग्राफिक्स नेपाल नामक कम्पनीले २६ महिनाको २ लाख ११ हजार ७ सय ८८ रुपैयाँ विद्युत महशुल तिर्न बाँकी देखिएको अत्तरिया नो लाईटले मध्यान्हलाई जानकारी दिएको छ । नो लाईटका अनुसार क्यालडोन ग्राफिक्स नेपाल कम्पनीको नाममा २०७६ बैशाख महिनामा २ फेजको मिटर जडान भएको छ ।
मिटर जडान भएपछि २०७६ असार १७ गते १७ हजार ७ सय ३० रुपैयाँ तिरेको देखिएपनि त्यसयता विद्युत महशुल नतिरेको नो लाईटका कर्मचारी गुणराज भट्टले मध्यान्हलाई बताए ।
क्यालडोन ग्राफिक्स नेपालका संचालक कृष्ण आचार्यले शुरुदेखि नै काम गर्न नदिएकाले महशुल पनि नतिरेको बताए । उनले बिलबोर्ड संचालन नै गर्न नपाएकाले विद्युत महशुल पनि नतिर्ने बरु लाइन काटिदिए फरक नपर्ने बताए । ‘काम गर्न नगरपालिकाले नदिने अनि महशुल मात्रै कसरी तिर्ने,’ उनले मध्यान्हसँग भने, ‘जसले काम गर्न दिएको छैन उसैले महशुल तिर्नुपर्छ ।’
उनले लाखौं रकम खर्च गरेर बिलबोर्ड राखेको र नगरपालिकासँगको सम्झौता अनुसार काम गर्न नपाएपछि आफू घाटामा गएको बताए ।
व्यावसायिक प्रयोजनका लागि अत्तरिया चोकमा राखिएको उक्त बिलबोर्डबाट गोदावरी नगरपालिकाले समेत फाइदा लिन सकेको छैन । बिलबोर्ड जडानपछि नगरपालिकाको आन्तरिक आय वृद्धि हुने भनिएपनि सम्झौता अनुसार काम नहुँदा करसमेत उठ्न सकेको छैन ।
गोदावरी नगरपालिकाका आन्तरिक लेखा परीक्षण शाखाका अधिकृत राजेन्द्र प्रसाद जोशीले नगरपालिकाभित्र जडान भएका सम्पूर्ण व्यावसायिक प्रयोजनका विज्ञापनको कर ठेकेदारमार्फत उठाउने गरिएको बताए । उनले बिलबोर्डमा पनि व्यावसायिक प्रयोजनका सामग्री राखे बापत कर लिने सम्झौता भएको मध्यान्हलाई बताए ।
उता क्यालडोन ग्राफिक्स नेपालका संचालक आचार्यले कामै गर्न नपाएपछि कर पनि नतिरेको बताए । उनले नगरपालिकासँग काम गर्ने वातावरण बनाइदिन पटक-पटक आग्रह गरेपनि आफ्नो मागको सुनुवाइ नभएको बताए ।
बिलबोर्डमा पछिल्लो समय गोदावरी नगरपालिकाले नेपाल भ्रमण वर्षका पोष्टर राखेको छ । तर, लामो समयदेखि बेवास्ताका कारण ती पोष्टर पनि च्यातिएर झुत्रो भएका छन् ।
व्यावसायिक प्रयोजनका सामग्री राखिएको भन्दै स्थापनाकालदेखि नै बिलबोर्डमा स्थानीयले विरोध गर्दै आएका छन् । बिलबोर्ड व्यावसायिक प्रयोजनका विभिन्न कम्पनीका विज्ञापन राखिएपछि स्थानीयले चोक कुरुप बनेको भन्दै विज्ञापन नै च्यातेका थिए ।
त्यसपछि नगरपालिकाले बिलबोर्डमा सुदूरपश्चिमका पर्यटकीय क्षेत्र झल्कने सामग्री राखेको थियो । अहिले आएर नगरपालिकाले पनि वास्ता नगर्दा बिलबोर्डले चोक झन कुरुप बनेको छ । बिलबोर्डमा लाइटसँगै तापक्रम र समयसमेत देखिने सामग्री राखिएका भएपनि पछिल्लो समय ती सामग्रीले पनि काम गर्न छोडेको स्थानीयले बताएका छन् । गोदावरी नगरपालिका र क्यालडोन ग्राफिक्स नेपालबीच चोकमा १५ वर्षसम्म बिलबोर्ड राख्ने सम्झौता भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies