दिपेन्द्र श्रेष्ठ/मध्यान्ह
भक्तपुर : उद्योग वाणिज्य संघ भक्तपुर र भक्तपुर इन्टरनेशनल अस्पतालबीच सम्झौता भएको छ । उद्योग वाणिज्य संघ भक्तपुरका सदस्यहरु तथा उनीहरुका परिवारका सदस्यहरुको आकस्मिक, स्वास्थ्य उपचार र प्रयोगशाला परिक्षण, तथा अन्य सेवाहरुमा विशेष सहुलियत सहित विभिन्न छुटका साथ सेवा उपलब्ध गराउने विषयमा संघ र कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालबीच सम्झौता भएको हो ।
उद्योग वाणिज्य संघ भक्तपुरमा आयोजित एक समारोहमा संघको तर्फबाट अध्यक्ष प्रदीप श्रेष्ठले हस्ताक्षर गरेका थिए भने अस्पतालको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रामजीकुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
उक्त सभामा बोल्दै संघका अध्यक्ष श्रेष्ठले यस सम्झौताले संघका सदस्य मात्र नभई परिवारहरुलाई पनि अस्पतालले राम्रो सेवा प्रदान गरी शुल्कमा पनि विशेष सहुलियत दिने भएको बताए । यसले समाजमा राम्रो र सकारात्मक सन्देश प्रवाह हुने र यस्तो किसिमको सम्झौताले संघका सम्पूर्ण बहालवाला सदस्यहरुलाई प्रिभिलेज कार्ड प्रदान गरिने हुनाले यसबाट हाम्रा सदस्यहरु अनावश्यक झमेलाबाट जोगिने र त्यस्तो किसिमको सम्झौताले सदस्यहरुलाई स्तरीय स्वास्थ्य उपचारमा सहजिकरण हुने उनले बताए ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत रामजी कुमार श्रेष्ठले यस समझौताले अस्पताल र संघबीच रहेको सम्बन्धलाई अझ प्रगाढ पार्ने छ भन्दै अस्पतालले गुणस्तरीय सेवा प्रदानमा कुनै कमी नगर्ने विश्वास दिलाएका थिए । त्यसैगरी अस्पतालले संघका सम्पूर्ण सदस्यहरुको प्रिभिलेज कार्ड बनाउन शुरु गरी सकेको र केही दिनमै उपलब्ध गराउने पनि बताएका छन् ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष शिव प्रसाद मानन्धरले संघका सदस्यहरुका लागि यो सेवा राम्रो हुने बताउँदै यसमा कुनै पनि प्रकारले सेवाको स्तरमा कमी नहोस र यसले उदाहरणीय नतिजा दिनेमा ढुक्क भएको बताए । कार्यक्रममा संघका पूर्वअध्यक्ष, सल्लाहकार तथा कार्य समिति सदस्यहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies