– डा. केशव देवकोटा
नेपाल कम्युनिष्ट पार्टीको विधिवत स्थापना भएको पनि ७१ वर्ष पूरा भएर ७२ वर्षमा लागेको छ । यसबीचमा नेपालको राष्ट्रिय राजनीतिका साथै कम्युनिष्ट राजनीतिले समेत विभिन्न किसिमका आरोह अवरोह पार गरेको छ । नेपालमा २००७ साल यता जे–जसरी राष्ट्रिय राजनीतिमा उतार चढावको अवस्था आयो कम्युनिष्ट राजनीतिमा पनि सोही किसिमले उतार चढावहरु देखिएका छन् । खासगरी ०४६ को राजनीतिक परिवर्तनपछि नेपालको कम्युनिष्ट आन्दोलनमा सुधारवादी र संसदवादी धार हावि हँुदै गएको देखिएको छ । ०६३ को राजनीतिक परिवर्तनपछि कतिपय कम्युनिष्ट पार्टीहरुको नेतृत्व नवसामन्तहरुको हातमा पुगेकाले नेपालको कम्युनिष्ट आन्दोलन रक्षात्मक मात्र नभइ विघटनको अवस्थामा जान सक्ने संकेतहरु देखिएका छन् । पछिल्लो समयमा प्रायः सबै कम्युनिष्ट पार्टीमा आन्तरिक विवाद विभाजनको दिशामा अगाडि बढेको पाइन्छ । त्यसैले नेपालको कम्युनिष्ट पार्टीको हालसम्मको अवस्थालाई मूल्यांकन गर्नुपर्दा विभिन्न चरणमा विभाजन गर्नुपर्ने हुन्छ ।
००६ सालमा स्थापना हुँदा नेपाल कम्युनिष्ट पार्टीको अवस्था प्रारम्भिक थियो । जसको स्थापना कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विधानको अनुवाद गरेर भएकाले उद्देश्यहरु राम्रा र समसामायिक रहेका थिए । नेपालमा राणा शासन कायमै रहेकाले नेकपाको स्थापना भारतमा हुनु अस्वाभाविक थिएन । त्यसपछि सानै रुपमा भए पनि नेपालभित्र कम्युनिष्ट पार्टीको संगठन थालिएको थियो । नेपाल कम्युनिष्ट पार्टीले शुरुदेखि नै तत्कालीन कांगे्रसलगायतका दक्षिणपन्थी पार्टीहरुको थिचोमिचो सहनु परेको थियो । ०१७ सालको घटनासम्म आइपुग्दा पनि नेकपाको संगठनात्मक विकास राम्रोसँग हुन नसकेको कुरा ०१६ सालको आमनिर्वाचनको परिणामले देखाएको छ । नेपालमा दलीय व्यवस्थामाथि प्रतिबन्ध लागेपछि भूमिगत अवस्थामा मात्र नेकपाको विकास तीब्ररुपमा भएको देखिन्छ । तेस्रो महाधिवेशनसम्म पुग्दा नेकपाको राजनीति देशव्यापी भैसकेको अवस्था थियो । नेपालमा कम्युनिष्ट राजनीतिको तिव्र विकास भएपछि यसका विरुद्ध दक्षिणपन्थी राजनीतिक पार्टी र शक्तिहरुले खेल्न थालेका थिए । तेस्रो महाधिवेशनमा देखिएको राजावादी रुझानले उपरोक्त कुराको पुष्टि गर्दछ ।
हुनत् नेकपाको स्थापना लगत्तै संस्थापक महासचिव पुष्पलालको विरुद्धमा विभिन्न षडयन्त्र भएबाट धेरै कुराहरु स्पष्ट हुन पुग्दछन् । कम्युनिष्ट पार्टीको स्थापना हुँदा नै कतिपय नेताहरु कांगे्रस पार्टीको राजनीतिमा अभ्यस्त भैसकेका व्यक्तित्वहरु समेत संलग्न रहेकाले धेरै कुराहरुमा भ्रम रहेको देखिन्थ्यो । तेस्रो महाधिवेशनमा नेताहरुका बीचमा देखिएको बिवादले पनि धेरै कुराहरु स्पष्ट गरेको छ । तेस्रो महाधिवेशनमा आएको विभाजनले केपालको कम्युनिष्ट आन्दोलनलाई छरप्रष्ट बनाएको थियो । जसले गर्दा आ–आफ्नै ढंगले ०४६ मा पुग्दा नपुग्दै झण्डै दुई दर्जन कम्युनिष्ट पार्टी र समूहहरुको स्थापना भएको पाइन्छ । ०४६ को राजनीतिक परिवर्तनपछि र खासगरी मनमोहन अधिकारीको नेतृत्वमा कम्युनिष्ट पार्टीकोमात्र सरकार गठन भएपछि प्रायः सबैको ध्यान सत्ता र शक्तिमा केन्द्रित हुन थालेको थियो ।
०४६ पछि नेपालको कम्युनिष्ट आन्दोलनमा तिव्र रुपमा धु्रबिकरणको अवस्था देखाप¥यो । कतिपय कम्युनिष्ट पार्टी र समूहहरु एमालेमा बिलय भए भने चौथो महाधिवेशन पक्षका पार्टी तथा समूहहरु संयुक्त जनमोर्चामार्फत संगठित भएर बहुदलीय संसदीय व्यवस्थाको निर्वाचनमा सहभागि भएका थिए । त्यतिबेला पनि कांगे्रसको तुलनामा कम्युनिष्ट पार्टीको शक्ति कमजोर नै देखिएको थियो । ०४६ पछि नेपालमा कम्युनिष्ट पार्टीहरुको संख्या घटेको थियो भने मतदाता र समर्थकहरुको संख्या बढेर गएको देखिएको थियो । यसैबीचबाट नेकपा माओवादीको गठन भई सशस्त्र जनयुद्धको अभ्यास हुँदा नेपालको समग्र कम्युनिष्ट आन्दोलन नै प्रभावित हुनपुग्यो । ०५२ पछिका केही वर्षहरुमा नेपालका कम्युनिष्टहरु प्रत्यक्ष र प्ररोक्षरुपमा समेत माओवादीत र्फ आकर्षित भएका देखिन्थे । जब माओवादीको जनयुद्ध सत्ता राजनीतिमा रुपान्तर हुँदै गयो, त्यसपछि फेरी नेपालको कम्युनिष्ट आन्दोलनले नयाँ गन्तव्यको खोजी शुरु गरेको थियो ।
०६३ को राजनीतिका परिवर्तनमा कम्युनिष्ट पार्टीको उल्लेख्य सहभागिता रहेको भएपनि दिल्लीमा भएको माओवादी र तत्कालीन सात दलबीचको १२ बुँदे सहमति एवं त्यसपछि बनेको सरकारमा नेपाली कांगे्रसको नेतृत्वले गर्दा विभिन्न कम्युनिष्ट समूहहरुमा अन्योलको अवस्था देखापर्यो । नेपालमा माओवादीको नेतृत्वमा सरकार गठन हुने अवस्था सिर्जना हुँदा पनि शोषित पीडित नेपाली जनताको पक्षमा कुनै काम हुन नसकेपछि फेरी निराशाको अवस्था सिर्जना भयो । माओवादीको मूल नेतृत्वले लिएको गलत नीतिका कारण सो खेमामा समेत एकपछि अर्कोगर्दै विभाजनहरु भए । आजसम्मको अवस्थालाई हेर्दा पूर्वमाओवादीका मात्र औपचारिक र अनौपचारिक गरेर दर्जनौ साना ठूला समूहहरु देशका विभिन्न भागमा विभिन्न किसिमले क्रियाशिल भएको देखिएको छ । माओवादीको मूल नेतृत्व निरन्तर नेपाली कांगे्रस र एमालेको वरिपरि घुम्न थालेको छ ।
तत्कालिन अवस्थामा सशस्त्र जनयुद्धको रचना गर्ने नेताहरुमध्ये कतिपय औपचारिका रुपमै कम्युनिष्ट पार्टी छाडेर गैरकम्युनिष्ट पार्टीमा पुगेका छन् भने कतिपय नेताहरु कम्युनिष्ट पार्टी विघटन हुने सपना देख्न थालेका छन् । आफ्नो सिद्धान्त र विचारलाई परित्याग गरेर एमालेमा प्रवेशगरी बाहिर निस्केका र नेपाली कांगे्रससँग पटक–पटक कार्यगत एकता गरेर सांस्कृतिक रुपमा पतन भैसकेकाहरुले फेरी नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठनको कुरा उठाउन थालेको देखिएको छ । त्यसैगरी व्यवहारिक रुपमा आफ्नो पार्टीको संगठन नगर्ने तर अरुको पार्टी फुटाउन जोडबल लगाउनेहरुले समेत बृहत वामएकताको कुरा उठाउन थालेको देखिएको छ । यर्थातमा यतिबेला फेरी विभिन्न कम्युनिष्ट पार्टीहरु आन्तरिक विवादले ग्रस्त भएर विभाजनतर्फ अगाडि बढेको देखिएको छ । जसको संकेत भनेको देशको विद्यमान राजनीतिक व्यवस्थामा आएको संकट नै हो । यस्तो अवस्थामा कम्युनिष्ट पार्टीहरुका बीचमा पार्टी एकता हुनै सक्दैन, हालको अवस्थामा हुने भनेको मोर्चागत राजनीति नै हो । तर नेपालका कम्युनिष्ट पार्टीहरुका बीचमा विभिन्न धारा र उपधाराहरु देखिएकाले आमरुपमा तत्काल संयुक्त मोर्चासमेत बन्नसक्ने अवस्था देखिएको छैन ।
बितेको ७१ वर्षको नेपालको कम्युनिष्ट राजनीतिको लेखाजोखा गरेर हेर्दा कुनै पनि कालखण्डमा अशली सिद्धान्तको सही अभ्यास हुन सकेको देखिँदैन । नेपालका प्रायः सबै कम्युनिष्ट पार्टीले कम्युनिष्ट राजनीतिका विश्वव्यापी मूल्य, मान्यता र आदर्शहरुको पालनासमेत गर्न नसकेको देखिएको छ । जबसम्म नेपालका कम्युनिष्ट पार्टीहरुले आफूलाई सच्चा र सिद्धान्तनिष्ठ बनाउन सक्दैनन् तबसम्म उनीहरुबाट शोषित पीडित नेपाली जनताको पक्षमा सही रुपले काम हुनसक्दैन । यो ७१ वर्षको अभ्यासले सिकाएको प्रमुख पाठ भनेको कमसेकम सबै कम्युनिष्ट पार्टी र समूहहरु एक ठाँउमा बसेर नेपालको समग्र कम्युनिष्ट आन्दोलनको मूल्यांकन गर्ने र निश्चित कुराहरुमा लिखित सहमति गर्ने प्रयास गर्नुपर्दछ । हालको अवस्थामा नेपालको प्रायः कम्युनिष्ट पार्टीको नेतृत्वमा नवसामन्तहरुको प्रवेश भएकाले कित उनीहरुले त्यो ठाउँ छाड्नु पर्दछ । होइन भने अन्य नेता तथा कार्यकर्ताहरुले उनीहरुलाई त्यो ठाउँबाट खसाल्ने आँट गर्नुपर्दछ । यस्तो तौरतरिकाले नेपालको कम्युनिष्ट आन्दोलन अझै विकृत र विश्रृंखलित हुने अवस्था आउन सक्छ । यो सबैले समयमा नै बुझ्नु पर्ने कुरा हो ।
(लेखक देवकोटा नेकपा (एकता केन्द्र)का महासचिव हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies