दिपेन्द्र श्रेष्ठ/मध्यान्ह
काठमाडौं : काठमाडौं उपत्यकामा सिताके च्याउको माग उच्च छ तर उत्पादन न्यून भएका कारण माग धान्न सकिएको छैन । उत्पादन कम हुँदा माग धान्न नसकी उपत्यका बाहिरबाट पूर्ति गर्नुपरिरहेको मसरुम सिड नेपाल प्रालि ठिमीका आकाश बादे बताउँछन् ।
सिताके च्याउ उत्पादनका लागि काठको मुढा प्रयोग गर्नुपर्ने र उपत्यकामा त्यो त्यती सम्भव नभएको हुँदा केही फर्म मात्र सञ्चालन छन् । ती सीमित फर्मबाट उत्पादन हुने सिताके च्याउले उपत्यकाको माग धान्न नसकेको उनले बताए । उपत्यकाभन्दा बाहिरी जिल्लामा काठ सस्तो हुने तथा किसानको आफ्नै खेत बारीमा भएका रुख काटेर त्यसमा फलाउन सकिने भएकोले यसको प्रमुख उत्पादन भनेकै ग्रामिण भेग भएको बादे बताउँछन् ।
उपत्यकामा च्याउका जातमध्ये सबैभन्दा बढी कन्य च्याउको उत्पादन हुने गरेको छ । कन्य च्याउ सजिलै उत्पादन गर्न सकिने र थोरै समयमा उत्पादन हुनेहँदा प्राय: कृषकहरु पनि कन्य च्याउ तर्फ नै आर्कर्षित देखिन्छन् ।
उपत्यका बाहिरका सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप, धादिङ, नुवाकोट आदि स्थानहरुबाट उत्पादित च्याउ उनले संकलन गरेर उपत्यकामा बेच्ने गरेका छन् । उपत्यका बाहिरका उत्पादन भएका च्याउले बजार नपाए आफुलाई निर्धक्क सम्पर्क गर्न सकिने बादे बताउँछन् ।
च्याउको बजारमा माग बढी हुँदा उत्पादन कम र उत्पादन बढी हुँदा माग कम हुने हुँदा व्यवस्थापनमा एकदमै समस्या हुने गरेको उनी बताउँछन् । यस्तो अवस्थामा उत्पादन बढी भएका बेला कोल च्याम्बरमा राखेर बिक्री गरिने र कोल च्याम्बरमा राखेर पनि बेच्न सकिएन भने ड्रायरमा राखेर सुकाएर बेचिने उनी बताउँछन् ।
होटल व्यवसायी सागर थापाका अनुसार पहिले सिताकेको बजार पाँचतारे होटल, रेष्टुराँ भएको र हाल आएर सर्वसाधारणले पनि प्रयोग गर्ने भएकाले यसको माग बढेको हो । त्यस्मा पनि साकाहारी मानिसहरु बढीजसो सिताके च्याउ खान रुचाउने भएकाले पनि अहिले बजारमा माग बढी छ ।
सिताके च्याउले नै कृषक आत्मनिर्भर
व्यवसायी आकाश बादेका अनुसार सिताके च्याउमै पनि कृषक आत्मनिर्भर बन्न सक्छन् । अहिले बजारमा सिताकेको उच्च माग भएको र मूल्य पनि राम्रै भएका कारण बजार नपाउने भन्ने समस्या नभएकाले जती उत्पादन भएपनि सजिलै बजार पाउने उनी बताउँछन् । उपत्यका बाहिर बजार नपाएको खबर सुन्दा खल्लो लागेपनि बजार नपाएमा आफ्नो सम्पर्कमा आए आफुले बिक्री गरिदिने बादे बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies