लघुवित्त वित्तीय संस्थाहरुले ग्रामीण क्षेत्रमा काम गर्दै आएका छन् । विपन्न वर्गको समूहलाई बिना धितो कर्जा प्रवाह गर्दै आएका लघुवित्तहरुको ब्याजदरको विषयमा पटक पटक प्रश्न उठ्दै आएको छ । किन लघुवित्तहरुले ब्याजदर घटाउन सकिरहेका छैनन् ? यस्तै ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धमा कस्तो कार्य हुँदै आएको छ ? यिनै विषयमा महुली लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जिडी पाण्डेसँग मध्यान्ह दैनिकका लागि चिरन भट्टराईले गरेको कुराकानी सारः
महुली लघुवित्तको वित्तीय स्थिति कस्तो छ ?
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७७ मंसिर ८ गते नव किरण लघुवित्त वित्तीय संस्थासँग एक अर्कामा गाभिएर एकीकृत कारोबार शुरु गरेको हो । त्यसपछिको वित्तीय स्थिति सुधारात्मक छ । राष्ट्रिय स्तरको संस्था भएसँगै गत आर्थिक वर्षको अन्त्यमा करिब ९ करोड ८० लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भयो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा निकै राम्रो हो । लगानी पनि अघिल्लो वर्षको तुलनामा १ अर्बभन्दा धेरैले वृद्धि भएको छ । पूँजी कोष पनि पर्याप्त रहेकोले हामी ‘कम्फरटेबल जोन’मा छौं । सबै सूचकाङ्कहरु राम्रै छन् ।
राष्ट्रिय स्तरको बनेसंगै महुली लघुवित्तले व्यवसाय विस्तारमा के कस्ता कार्यक्रमहरु अगाडि ल्याएको छ ?
मर्जर हुनु अघि १५ जिल्ला कार्यक्षेत्र थियो । मर्जर पछि राष्ट्रिय स्तरको भयौं । त्यसपछि यसले शाखा विस्तार गर्दै लगेको छ । अहिले भर्खरै पनि विभिन्न जिल्लामा ११ वटा शाखा थप गरिएको छ, अरु केही शाखा थपिने क्रममा छन् । केही समयमै सात वटै प्रदेशमा हाम्रा शाखाहरु हुनेछन् ।
शाखा विस्तारसँगै खराब कर्जा न्यूनीकरणका लागि पनि विभिन्न प्रयास गरिरहेका छौं । त्यसैले हाम्रो वृद्धि, विस्तार र आर्थिक अनुशासनको पाटो राम्रो छ ।
कोभिड–१९ को असर कस्तो रहयो ?
कोभिडको कारणले हाम्रो योजनाहरु प्रभावित भए । राष्ट्र बैंकले कर्जाको म्याद थप्ने अवसर दिँदा पनि हाम्रा ग्राहक सदस्यहरुलाई अत्याधिक असर परेकोले समस्या भइराखेको छ । कुनैपनि लघुवित्तले जवरजस्ती कर्जा असुली गर्न मिल्दैन । त्यसैले अझैपनि हाम्रो अप्ठेरो केन्द्रीय बैंकले नबुझेको हो की भन्ने लागिरहेको छ ।
तपाईले कोरोनाको असर परेको छ भन्नुभयो तर सबै बैंक तथा वित्तीय संस्थाहरु उच्च मुनाफामा देखिन्छन् नी ?
लघुवित्त संस्थाहरुको पूँजीकोष सानो छ । तुलनात्मकरुपमा कम पूँजी भएकाले नाफा बढी देखिएको हो । त्यसमाथि ग्रामीण भेगमा बिनाधितो लगानी हुने भएकाले जोखिम धेरै छ । कोभिडले हाम्रा सेवाग्राही सदस्यहरु सबैभन्दा बढी प्रभावित भए । लकडाउन र निषेधाज्ञाका कारण हामी पनि लामो समयसम्म सेवाग्राहीसँग सम्पर्कमा भएनौं ।
हाम्रो धेरै कारोबार गाउँगाउँमा रहेका सदस्यहरुसँग प्रत्यक्ष भेटेर हुने भएकोले प्रत्यक्ष घेटघाट नभएको अवस्थामा समस्या त हुनै नै भयो । दोस्रो सेवाग्राहीहरुबाट जोडबलपूर्वक असुलउपर गर्ने कुरा भएन । त्यसले गर्दा केन्द्रीय बैंकले किस्ता उठाउन समय दिएको अवस्थामा पनि हामीले उठाउन सकेका छैनौं । त्यसले केही गाह्रो पारेको छ ।
वित्तीय विवरण हेर्दा सबै लघुवित्तहरुमा तुलनात्मक रुपमा जोखिम कम देखिन्छ । नाफा पनि नियमित भइराखेको देखिन्छ । गत आर्थिक वर्षको पुसभन्दा अगाडि लकडाउनको असर धेरै पर्यो । पुस पछि अर्थात तेस्रो त्रैमासमा बजार पूर्णरुपमा खुल्यो, कर्जाको माग अत्याधिक बढ्यो र ब्याजदर न्यून भयो । राष्ट्र बैंकले पनि केही सुविधा दिएकोले हामीले आधार दरभन्दा तल गएर केही संस्थाहरुसँग पैसा लियौं । त्यो पैसाको कारणले गर्दा हाम्रो वित्तीय स्थिति तुलनात्मक रुपमा राम्रो देखियो ।
लघुवित्तहरुको ब्याजदर बैंककोभन्दा झण्डै दोब्बर छ । महँगो ब्याजदरका कारण सेवाग्राहीले अपेक्षित लाभ लिन सकेका छैनन् भन्ने कुरा त मान्नुहुन्छ नी ?
सम्भवतः एशियामै हाम्रा लघुवित्तहरुको ब्याजदर सबैभन्दा कम छ । अहिलेको समयमा १५ प्रतिशत अधिकतम सिमामा रहेर हामीले बिना धितो समूहको ग्यारेन्टीमा लगानी गरेका छौं । जबकी श्रीलंकामा लघुवित्तहरुले ३५ देखि ४५ प्रतिश सम्म ब्याज लिन पाउँछन् । घरजग्गा धितो राखेर बैंकबाट कर्जा लिने र हामीले दिने प्रक्रिया नितान्त फरक छ ।
अब ग्रामीण भेगका किसान, महिलाहरुलाई हामीले लिने ब्याजमा कर्जा लिएर काम गर्दा फाइदा पुग्छ की पुग्दैन भन्ने महत्वपूर्ण हो । कतिपय गाउँमा साहु महाजन र जमिनदारहरुबाट तमसुक गरेर सयकडा दुई,तीनसम्म अर्थात २४ देखि ३६ प्रतिशतसम्म ऋण लिनु सामान्य थियो । तराईका थुप्रै जिल्लामा ६० प्रतिशतसम्म ब्याज असुल्ने गरेको हामीले सुन्दै आएका छौं । लघुवित्तकै करणले साहु महाजनबाट महँगो ब्याजमा ऋण लिनुपर्ने स्थितिको अन्त्य भएको छ । यो लघुवित्तको कारणले मात्रै सम्भव भएको हो ।
अहिले मानिसहरु आफैपनि चनाखो भइसकेकी साहु महाजनभन्दा लघुवित्तहरुबाटै कर्जा माग गरेका हुन्छन् । यो निकै ठूलो सफलता हो ।
नेपालमा लघुवित्त वित्तीय संस्थाहरुबाट सेवा लिनेहरुको संख्या कति छ ?
अहिले करिबकरिब लघुवित्त क्षेत्रमा ५१ लाख सदस्यहरु छन् । जसमध्ये हाम्रो ऋणी सदस्य ६० प्रतिशत छ । ३० देखि ३५ लाखले कर्जा लिएका छन् । जबकी वाणिज्य बैंकहरुबाट जम्मा ८ प्रतिशतले मात्रै कर्जा लिएका छन् ।
त्यो हिसाबले राम्रो काम गर्न कर्जा लिन हिचकिचाउन हुँदैन, कर्जाको राम्रो सदुपयोग भयो भने अलिकति महङगो भए पनि ऋणीको वित्तीय अवस्था सुधार गर्छ भन्ने चेतना फैलाउन लघुवित्तहरु सफल भएका छन् । लघुवित्तहरुले अझ महिला दिदीबहिनीहरुलाई वित्तीयरुपमा सक्षम बनाउने काम गरिरहेका छन् । ऋण लिने र त्यसलाई नियमित रुपमा तिर्नुपर्छ भन्ने कुरामा वाणिज्य बैंंकका ऋणीभन्दा लघुवित्तका ऋणीहरु इमान्दार छन् । त्यसैले गाउँगाउँमा पुगेर महिला दिदीबहिनीहरुलाई वित्तीयरुपमा सक्षम बनाउने काममा लघुवित्तहरु सफल भएका छन् ।
दुर्गम क्षेत्रमा वित्तीय जागरण फैलाउन लघुवित्तहरुले के कस्ता कार्यक्रमहरु गरिरहेका छन ?
महुली लघुवित्त एनजिओबाट प्रर्वद्धित हुँदै आजसम्म आइपुग्दा नवौं वर्षमा प्रवेश गरेको छं । यो अवस्थामा पुग्दा हामीले वित्तीय साक्षरता सम्बन्धमा निकै विकट क्षेत्रमा पुगेर काम गरेका छौं । दुई दिन हिंडेर पुग्ने ठाउँमा पनि वित्तीय सेवा दिइरहेका छौं । त्यसैले ग्रामीण क्षेत्रमा वित्तीय साक्षरताका लागि हाम्रो पहुँच छ ।
सबै लघुवित्त वित्तीय संस्थाहरुले यसैगरी काम गरिरहेका छन् । विशेषगरी महिलाहरुलाई वित्तीय रुपमा साक्षर र सक्षम बनाउन सबैभन्दा ठूलो अभियान लघुवित्तहरुले चलाएका छन् । हाम्रो काम पनि त्यही नै हो ।
खासगरि व्याजदरको विषयमा बैंकहरुसंग लघुवित्तहरुको प्रतिस्पर्धा देखिन्छ । भविश्यमा व्याजदरकै कारण तपाईहरुका सेवाग्राही बैंकहरुतर्फ जाने र तपाईहरुको व्यवसाय चुनौतिपूर्ण हुने संभावना कत्तिको देख्नु भएको छ ?
हो, हामी हाम्रा सदस्यहरुको आर्थिक उन्नती होस भन्ने नै चाहन्छौं । यस्तो अवस्थामा सदस्यहरु भविश्यमा लघुवित्त छाडेर बैंकतिर जान सक्छन् । हामीले हाम्रा सदस्यहरुलाई वित्तीयरुपमा बलियो बनाउँदै जाने र हाम्रा सेवाको दायरा त्यही रहिराख्यो भने यो स्थिति आउँछ । केन्द्रीय बैंकले गत वर्ष समूहमा आवद्ध नभएका व्यक्तिहरुलाई धितो राखेर एकल कर्जा दिन सकिने व्यवस्था गरेको छ । जसअनुसार पहिलो चरणमा ७ लाख र दोस्रो चरणमा १५ लाख दिन पाउने गरी सहजता गरिदिएको छ । यस्तो व्यवस्थाहरुले निरन्तरता पायो भने र व्यक्तिगत रुपमा कर्जा दिन पाउने अवस्था भयो भने लघुवित्तहरुलाई छाडेर सेवाग्राही बैंकमा नजालान । अर्कोतर्फ लघुवित्तको ब्याजदर बैंकको भन्दा केही महँगो हुनसक्छ । त्यसैले लघुवित्तहरुले आफूलाई थप प्रतिस्पर्धी र सबल बनाउँदै लैजान जरुरी छ ।
लघुवित्तहरुको काम सामाजिक व्यवसाय मोडलमा आधारित छ । संस्थाका लगानीकर्ता र सेवाग्राहीहरुको हितलाई एकैसाथ लैजान कत्तिको चुनौतिपूर्ण छ ?
हामी सोसल बिजनेस मोडल नै हौं । हामी बैंकिङ सहितको सामाजिक बिजनेसमा छौं । अहिले धेरै लघुवित्तहरु सोसल मोडलमा खासै सक्रिय देखिदैनन् । तुलनात्मकरुपमा नदेखिनु स्वभाविक भयो । किनभने हाम्रा लगानीकर्ता हाम्रा सेवाग्राही होइनन् । लगानीकर्ताहरु नाफा केन्द्रीत भए र हामीबाट सेवा लिने सदस्यहरु फेरी उद्यमशिलता मोडलमा छन् । त्यसकारण हाम्रो फोकस हाम्रा सदस्यलाई कसरी फाइदा दिएर बिजनेस गर्ने भन्ने मोडलमा हुन्छ । अर्कोतर्फ लगानीकर्ताको पक्षबाट हे¥यौं भने शेयर बजारमा लघुवित्तको शेयरको बजार मूल्य उच्च हुने र वर्षको एकपटक राम्रो लाभांश पनि दिने हुनाले लगानीकर्ताहरु पूर्णरुपमा नाफा केन्द्रीत भएका छन् । साथै सामाजिक व्यवसायसँगसँगै नाफाको मोडलमा जाँदाखेरी हामीलाई केही गाह्रो भएको छ । तर माइक्रो बैंकिङको अवधारणा पनि यही हो । त्यसैले चुनौति धेरै छ । अब यो मोडेललाई सुधार गरेर लैजाने विषयमा सोचेनौं भने भविश्यमा समस्या आउन सक्छ । नियामक निकायले लघुवित्तहरुलाई बैंकिङ व्यवसाय गर्न केही स्वतन्त्रता दिने हो भने हामीलाई चुनौतिसँगै अवसर पनि रहन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies