माधव पराजुली/मध्यान्ह
पोखरा : सन् १९८० देखि सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसको रुपमा मनाइँदै आएको छ । विश्व पर्यटन संगठनलाई संयुक्त राष्ट्र संघले सन् १९७० को सेप्टेम्बर २७ मा अपनाएको दिनलाई विश्व पर्यटन दिवसको रुपमा मनाइँदै आएको हो ।
विश्वको सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक मूल्यका साथै दिगो विकासका लक्ष्य प्राप्त गर्न पर्यटन क्षेत्रले गर्न सक्ने योगदान र यस विषयमा जागरूकता बढाउन विश्वव्यापी रुपमा पर्यटन दिवस मनाइन्छ । ‘समावेशी विकासको लागी पर्यटन’ भन्ने मूल नाराकासाथ यसपालिको विश्व पर्यटन दिवस मनाइएको छ ।
विश्व पर्यटन दिवसका अवसरमा यतिबेला ११ देशका राजदूतले गण्डकी प्रदेशको राजधानी पोखरा भ्रमण गरका छन् । कोरोनाले थलिएको पर्यटन क्षेत्रमा अब कुनै त्रास नरहेको र निर्धक्क घुम्न जान सकिन्छ भन्ने सन्देश दिन गण्डकी प्रदेश सरकारले नेपालस्थित विभिन्न मुलुकका दूतावासका राजदूत सहित विकास साझेदारका उच्च पदस्थ पदाधिकारीहरुलाई पोखरा निम्त्याएको हो ।
आइतबार दिउँसो पोखरा पुगेका उनीहरुले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरी मुख्यमन्त्रीले आयोजना गरेको रात्रीकालिन भोजमा सहभागी भए । सोमबार छोटो दूरीको हाइकिङ समेत गरेका उनीहरु दिनभर पर्यटन दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भए ।
दक्षिण एसियाकै पहिलो अपाङ्गमैत्री पदयात्रा मार्गमा हाइकिङ गरेको उक्त टोलीलाई स्थानीयवासीले पञ्चेबाजा सहित भव्य स्वागत गरे । राजदूतको टोलीले त्यहाँको आतिथ्यता, संस्कृती र प्रकृतिको खुलेर प्रशंसा गरे । त्यहाँबाट देखिने हिमाल र प्राकृतिक छटा, डाँडाकाडाँ अनि तालले सबैको मन लोभ्यायो । मनोरम हिम श्रृङखलाहरुको दृश्य देख्दा विदेशी पाहुनाहरु छक्क पर्दै नेपाल साँच्चिकै स्वर्ग रहेको प्रतिक्रिया जनाउदै एक पटक नेपाल भ्रमण गर्न सबैमा आव्हान समेत गरे । पोखरा बसाईको क्रममा विभिन्न पर्यटकीय गतिविधिमा रमाएका उनीहरुलाई पोखराले मोहनी नै लागाएको छ ।
यूएइ, कतार, फिनल्याण्ड, कोरिया, साउदी अरब, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्ट लगायतका मुलुकका राजदूतले पोखराको भ्रमण गरेका हुन् । यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव, यूएनका नेपालस्थित प्रतिनिधि, विकास साझेदार इसिमोड, यूनेस्को, अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) लगायतका निकायका पदाधिकारी र केही सरकारी उच्चपदस्थ पदाधिकारीले समेत पोखरा भ्रमण गरेका छन् ।
विदेशी कुटनीतिक पदाधिकारी पोखरा आउँदा पर्यटनमा सकारात्मक सन्देश पुग्ने भन्दै पोखराका पर्यटन व्यवसायी निकै उत्साही देखिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले विदेशी कुटनीतिक पदाधिकारीहरको भ्रमणले कोभिड–१९ ले थलिएको पर्यटन क्षेत्रलाई पुनःउत्थानमा ठुलो टेवा पुग्नुका साथै यस क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमै चिनाउन मद्दत पुग्ने बताए ।
पर्यटनको इतिहासमा सबैभन्दा ठूलो संकट बनेर आएको कोभिड–१९ ले विश्वको पर्यटन क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । यसले विश्वको अर्थतन्त्रमा करीब चार खर्ब अमेरिकी डलर बराबरको नोक्सान गरेको संयुक्त राष्ट्र संघको प्रतिवेदनले देखाएको छ । कोरोनाले थलिएको पर्यटन क्षेत्रमा विदेशी कूटनीतिज्ञको भ्रमणले गर्भिलो गण्डकी प्रदेशबारे अन्तर्राष्ट्रिय बजारमा सकरात्मक सन्देश फैलिने र पर्यटन क्षेत्रले गति लिने आशा गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies