सन् १८१५ को घटना हो । विश्व इतिहाँसकै योद्धा फ्रान्सेली शासक नेपोलियन बोनापार्ट वाटर लुको युद्धको लागि तयारी गर्दै थिए । उनका समर्थक, चाकरीवाजहरु विश्व विजेता भन्दै उनको जयजयकार गर्दै थिए र उनी पनि त्यसमै मख्ख थिए । त्यसको परिणाम, सोही वर्षको जुन १८ मा शुरु भएको उक्त युद्धले देखाइदियो । युद्धकलाले निपूर्ण रहेको ७२ हजार सैनिक लिएर उनले ब्रिटिश फौजमाथि आक्रमण गरे । तर, त्यसमा उनी नराम्रोसँग पराजित भए । करिब ३३ हजार फ्रेन्च सैनिकको मृत्यु भयो । हजारौं सैनिक घाइते भए र नेपोलियन भागेर स्वदेश फर्किए । त्यही युद्धले उनको विश्व विजेता बन्ने सपना अधुँरो मात्रै रहेन, पतनको शृङ्खला पनि शुरु भयो ।
समय, विषय र प्रसंगले सोझै मेल खांदैन । तर, नेकपा एमालेको शुक्रबारदेखि शुरु भएको विधान महाधिवेशनमा गरिएको पार्टी अध्यक्ष केपी शर्मा ओलीको अशोभनीय गुणगानले नेपोलियन पतनको झल्को दिन्छ । पार्टी कार्यक्रममा अध्यक्षको सम्मान र श्रद्धा गरिनुलाई स्वभाविक मान्न सकिन्छ । तर, गुणगानको सीमा हुन्छ । विधान महाधिवेशनको लागि गरिएको प्रचार र पार्टीका दस्तावेजहरुमा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारी जस्ता पार्टीका संस्थापक तथा वैचारिक नेतृत्व प्रदान गरेका नेताहरुलाई समेत ओझेल पार्नेगरी ओलीलाई दैवीय शक्ति प्राप्त नेताको रुपमा प्रस्तुत गरिएको छ । ओली त्यसमै रमाइरहेका छन् । त्यसैले ओलीको चाकरीमा भइरहेको तामझामको पछाडि आत्मरतीमा रमाउने ओलीकै रणनीति मुख्य कारण रहेको स्पष्ट हुन्छ ।
जब कुनै नेता जनताको भावनासँग जोडिएर आफूलाई अब्बल साबित गर्न भन्दा चाकरीबाजहरुको जत्था तयार गरेर आत्मरतीमा रमाउन थाल्छ, तब उसको पतन अनिवार्य हुन्छ । कुनै बेला विश्व हल्लाइदिने १८औं शताब्दीका नेपालियन मात्र होइन, २०औं शताब्दीमा कुनै बेला विश्वकै जनताको आशाको केन्द्र बनेका रोमानियाका चाउचेस्कु, लिबियाका मुअम्मर गद्धापीहरुको उथ्थान र पतनको घटनाले स्पष्ट पार्छ । पक्कै पनि ओली उनीहरु जस्तो निरंकुश शासक होइनन्, तर जयजयकारको आत्मरतीमा रमाउने उनको प्रवृत्तिले प्रत्यक्ष लाभ लिइरहेका केही सीमित नेता, कार्यकर्ता र दलालहरु बाहेक स्वंय नेकपा एमालेकै समर्थक, शुभेच्छुकहरुको उनीप्रति हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको छ । त्यो हुनु भनेको अन्ततः ओलीकै पतनलाई निम्त्याउनु हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies