काठमाडौं : नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघको अध्यक्षमा पुनः रामराजा गौतम चयन भएका छन् । राजधानीमा सम्पन्न आठौं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले प्रथम उपाध्यक्षमा टुनुकाजी पौडेल, अर्का उपाध्यक्षमा कल्पना पाण्डे न्यौपाने, महासचिवमा लक्ष्मी प्रसाद लामिछाने र सचिवद्वयमा गायत्री जिसी र उद्वव सापकोटालाई चयन गरेको छ । कार्यसमितिको कोषाध्यक्षमा नारायण अधिकारी तथा सह कोषाध्यक्षमा उत्तम गौतम र कार्यसमिति सदस्यहरुमा माया जोशी, सरिता न्यौपाने, ज्योति श्रेष्ठ, मनोज सिंखडा, रघुनाथ पनेरु, सुशीला कार्की, सिकन्दर साह, प्रकाश राई, नितेश अर्याल, चन्द्र सुदाम, पंवर लामा र श्याम सुन्दास चयन भएका छन् ।
महासंघले प्रदेशमा पनि कार्यसमिति चयन गरेको छ । प्रदेश नं १ मा गणेश खड्का, प्रदेश नं २ मन सञ्जित साह, बागमती प्रदेशमा दिवाकर गौतम र लुम्बिनी प्रदेशमा दिपेन्द्र पौडेलको अध्यक्षतामा समिति चयन गरिएको छ । गण्डकीमा चार वटा मात्र संस्था रहेको हुँदा सुदन अर्याललाई संयोजक चयन गरिएको महासंघले जनाएको छ ।
नयाँ कार्यसमितिलाई वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्ले, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तारा अर्याल, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय अध्यक्ष अशोक राई, वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष उद्धव भट्टराई, नेपाल मेडिकल संघका महासचिव जिवन राई, वैदेशिक रोजगार व्यवसायी प्रगतिशील मञ्च नेपालका पूर्व अध्यक्ष टंकबहादुर राउत तथा महासंघका सल्लाहकारहरु निवर्तमान अध्यक्ष पुर्णबहादुर मल्लले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए । विभागका महानिर्देशक काफ्लेले आएका सुझावलाई कार्यान्वयन तहमा लाने प्रतिवद्वता जनाए ।
शुभकामना मन्तव्यका क्रममा महासंघका सल्लाहाकार तथा पुर्व अध्यक्ष मल्लले राज्यले अभिमुखीकरण तालिमलाई उपेक्षित गरी गैरसरकारी संघसंस्थाको गलत प्रचारको पछि लागेको भन्दै असन्तुष्टि जनाए ।
पाँच वर्षअघि २०७३ सालदेखि वायोमेट्रिक हाजिरीमार्फत भौतिक उपस्थितिमा प्रशिक्षण गराउँदै आए पनि अनेक लाञ्छना मात्रै लगाउने गरेको भन्दै मल्लले विमानस्थलमा औंठाछाप मेसिन देखाउन मात्र राखेको दाबी गरे । ऐन नियम बनाउँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको ढाँचा देखाई सरोकारवालालाई उपेक्षित बनाएको, मन्त्रालयको मन्त्री र सचिवदेखि नीति नियम बनाउने कर्मचारीको तलब दश गुणा वृद्धि हुँदा २०६० सालदेखि हालसम्म सात सय रूपैयाँमा प्रशिक्षण गराउन बाध्य बनाएको, वैदेशिक रोजगार बोर्डले अभिमुखीकरण तालिम लिने वातावरण बनाउनुको साटो व्यवहारमा व्यवसायी विस्थापति गर्ने नीति लिएर तालिम प्रदायक संस्थालाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सामी परियोजनामा लगेर बुझाउन खोजिएको आरोप लगाए । विदेशीको हस्तक्षेपका कारणले बोर्डका कार्यकारी निर्देशक सरकारी कर्मचारी हो वा सामीको कर्मचारी हो चिन्नै गाह्रो परेको उनले टिप्पणी गरे ।
एसोसिएसनका वरिष्ठ उपाध्यक्ष अर्यालले निजी सरकारी दुबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने सुझाव राखे । बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले २०७७ सालमा नै पाठ्यक्रम निर्माण भैसकेकाले कार्यान्वयनमा ल्याउन व्यवसायीलाई अनुरोध गरे । उनले अभिमुखीकरण संस्थाले बजारीकरण गर्न नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए ।
अध्यक्ष गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघका महासचिव लक्ष्मी प्रसाद लामिछानेले स्वागत मन्तव्य राखेका थिए । साधारणसभावाट निर्वाचित अध्यक्ष गौतमले सबै प्रदेश तथा आवद्ध नभएका सबै व्यवसायीलाई समेटेर व्यावसायिक आचारसंहितामार्फत व्यवसायीबीच एकता गर्ने प्रतिवद्धता जनाए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies