काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले मन्त्री बन्नका लागि सबैखाले ‘कम्बिनेशन’ मिल्नुपर्ने बताएका छन्। समाजवादीको तर्फबाट मन्त्री बन्ने चर्चामा रहेका चौधरीले छनोटमा नपरेपछि यस्तो टिप्पणी गरेका हुन्।
‘को मन्त्री बन्नुभयो? को मन्त्री हुनु भएन। मुख्य विषय होइन। मुख्य विषय प्रणाली जोगिएको छ‚’ उनले फेसबुकमा लेखेका छन्, ‘संवैधानिक सर्वोच्च कायम भएको छ र कानुनी राज्यको स्थापना भएको छ। जहाँसम्म मन्त्री बन्ने सम्भावनाको कुरो प्रतिनिधिसभाको सदस्यले त्यो चासो राख्छ र राख्नु पनि पर्दछ।’
चौधरीले दीर्घकालीन चेत राखेर राजनीतिको खुला चौरमा प्रवेश गरेको राजनैतिक खेलाडीका लागि मन्त्री पद गौण हुने र मन्त्री बन्न सबै खालको कम्बिनेशन मिल्नुपर्ने बताएका छन।
उनले लेखेका छन्‚ ‘फेरि मन्त्री हुने कुरो सबै प्रकारका कम्बिनेशनहरू मिल्नु पर्दछ। कहिले काहीँ त्यो कम्बिनेशन नमिल्न नि सक्छ। आजको परिस्थिति यही नै हो।’
चौधरीले पार्टी निर्माण हुने क्रममा रहेकाले गुनासा र मोलमोलाइ गर्न राम्रो नहुने बताएका छन्। निर्णय गर्नु हुने नेतृत्वलाई अनावश्यक दवाब दिनु जरूरी नहुने भएकाले पार्टीलाई अझ सशक्त र समृद्ध बनाएर जानुपर्ने बताएका छन्।
‘पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइका लागि स्पेश दिनु जरूरी देख्दैन‚’ सांसद चौधरीले लेखेका छन्, ‘नेपालको लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा योगदानको लागि पहल गरौँ। यो बीचमा म प्रति धेरै साथीहरूले साहनुभूति राख्नुभएको महसुस मैले गरेको छु। सबै महानुभावहरूप्रति हार्दिक नमन गर्न चाहन्छु।’
उनले मन्त्रीको सिफारिसमा भएका सवै सांसदहरूको सफल कार्यकालको लागि शुभकामना समेत व्यक्त गरेका छन्।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies