नहकुल जोशी/मध्यान्ह
बाजुरा : नेपाली कांग्रेस बाजुराको सभापतिमा पौडेल सिटौला पक्ष निकट रामसिंह रावल विजयी भएका छन् । पहिलो चुनावमा कसैको पनि ५१ प्रतिशत नपुगेपछि बिहीबार भएको दोस्रो चरणको चुनावबाट रावलले ६ सय ५ मत ल्याएर विजयी भएका हुन् । कुल खसेको १ हजार १८२ मतमध्ये रावलले ६ सय ५ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी निर्वतमान सभापति कविराज पण्डितले ५ सय ६६ मत ल्याएका निर्वाचन समितिले जनाएको छ । यो सँगै बाजुरामा देउवा पक्षको विरासत भत्किएको छ ।
सातौं जिल्ला अधिवेशनमा सभापतिसहित ८० प्रतिशत कार्यसमितिमा पौडेल सिटौला पक्ष विजयी भएको छ । लामो समयसम्म देउवा पक्षको विरासत रहेको बाजुरा कांग्रेसमा सातौँ जिल्ला अधिवेशनबाट भने देउवा पक्षको विरासत भत्किएको हो ।
जिल्ला कार्य समितिको पदाधिकारीमा देउवा पक्षका सहसचिव सुरेन्द्र सिंह बाहेक सबै पौडेल सिटौला पक्षका पदाधिकारी विजयी भएका छन् । सिंह भने देउवा पक्षबाट टिकट पाएर चुनावी मैदानमा उत्रिएका थिए ।
उपसभापतिमा नारायण पाध्याय र पदम बडुवाल पौडेल सिटौला पक्षका हुन् । पाध्यायलाई दुबै टिममा राखेपनि उनी जनक गिरी नजिकका रुपमा चिनिँदै आएका छन् । त्यस्तै सचिव विजयी तिलकराज पुरी र भरत बहादुर रोकाया दुबै जना पौडेल सिटौला पक्ष हुन् । सहसचिवमा कृष्णराज पाध्याय पौडेल सिटौला पक्ष हुन् भने सुरेन्द्र बहादुर सिहं देउवा पक्षका हुन् । जिल्ला कार्य समिति सदस्यमा पनि पौडेल सिटौला पक्षको स्पष्ट बहुमत देखिएको छ । खस आर्य खुला सदस्यमा निर्वाचित ६ जना सबै पौडेल सिटौला पक्षबाट चुनावी मैदानमा आएका थिए । पालिका र अन्य समावेशीबाट विजयी जिल्ला कमिटिमा पौडेल सिटौला समूहकाले धेरै विजयी भएका छन् ।
पौडेल सिटौला पक्ष विजय गराउनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रि प्रसाद पाण्डे, जनक गिरी, चक्र शाह, मान बहादुर रावल सक्रिय भएका थिए । त्यस्तै देउवा पक्षधर विजयी गराउनका लागि संविधान सभा सदस्य देवराज जोशी, महा नेपाली, पदम शाहि लगायतका नेताहरु परिचालन भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies