वैदेशिक रोजगार सुरक्षित गर्दै आन्तरिक श्रम सम्बन्धलाई मैत्रीपूर्ण बनाउने लक्ष्य
काठमाडौं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण स्वदेश तथा विदेशमा समस्यामा रहेका नेपाली कामदारको सुरक्षा र आन्तरिक श्रम सम्बन्धलाई रोजगारदाता तथा श्रमिक सम्बन्ध मैत्रीपूर्ण बनाउने प्रतिवद्धता जनाएका छन् ।
शुक्रबार मन्त्रालयमा पदवहालीपछि मध्यान्ह राष्ट्रिय दैनिकसँगको कुराकानीमा नवनियुक्त मन्त्री श्रेष्ठले कोरोनाका कारण संसारका विभिन्न भागसहित नेपालमा पिल्सिएका कामदारलाई राहत दिने, आन्तरिक श्रम सम्बन्धलाई मैत्रीपूर्ण बनाउने र विदेशमा जस्तै नेपालमा पनि कार्यस्थलमा श्रमिक भौतिक तथा अन्य सुरक्षाको प्रत्याभुति गर्ने बताए ।
मन्त्री श्रेष्ठले भने, ‘आज शपथ र पदवहाली भयो, एक हप्ताभित्र कार्ययोजना बनाएर पत्रकार सम्मेलनमार्फत विस्तृतरूपमा सार्वजनिक गर्ने छु । तर उल्लेखित तीन पक्षमा नै मेरो फोकस रहने छ ।’
वैदेशिक रोजगार व्यवसायीको पनि पृष्ठभूमि भएका श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका हुन् । तनहुँ जिल्लाको क्षेत्र नं. १ बाट बाम गठबन्धनका लागि तत्कालिन नेकपा एमालेको उम्मेद्वार बनेर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई फराकिलो मत अन्तरले पराजित गरेपछि राष्ट्रियस्तरको राजनीतिक चर्चामा आएका श्रेष्ठ एमालेबाट विभाजित बनेको नेकपा एकीकृत समाजवादीतर्फ लाग्दा थप चर्चित बनेका छन् ।
श्रेष्ठले २०७४ सालको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता पौडेललाई ६ हजार ८ सय १४ मतान्तरले पराजित गरेका थिए । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत पाएका थिए भने पौडेलले २७ हजार ६ सय ७५ मत पाएका थिए ।
लामो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिएका मन्त्री श्रेष्ठ हाल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य रहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर एकीकृत समाजवादीमा सक्रिय भएका मन्त्री श्रेष्ठ गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीमा प्रत्यक्ष निर्वाचन जितेका उनी एक्लो सांसद हुन् । गण्डकी प्रदेशका एमाले प्रमुख नेताहरू पृथ्वीसुब्बा गुरूङ, खगराज अधिकारी, किरण गुरूङ लगायत धेरै एमालेमै छन् । तर मन्त्री श्रेष्ठले उनीहरू सबैको अगाडि आफू भारी पर्ने दाबी गरेका छन् ।
तीन साताअघि प्रदेश कमिटी कार्यालय स्थापनापछि पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘१८ निर्वाचन क्षेत्रमा एउटा पनि माधव नेपाल समूहका मान्छेलाई टिकट दिइएन । कसरी बलियो हुन्छ ? यो पार्टीमा गण्डकीबाट म मात्रै निर्वाचित सांसद छु । उनीहरू १४ जना छन्, उनीहरूका लागि म एक्लै भारी पर्ने छु । अब हामी देखाइदिन्छौं, एकीकृत समाजवादी गण्डकीमा के छ भनेर ।’
विगतमा वैदेशिक रोजगार व्यवसायीको पनि पृष्ठभूमि भएका मन्त्री श्रेष्ठले हाल घरजग्गा तथा निर्माण व्यवसाय, बैंक तथा वित्तीय क्षेत्रमा लगानी गरेका छन् । धेरैले मन्त्री श्रेष्ठलाई व्यापार व्यवसाय बुझ्ने राजनीतिकर्मीका रूपमा समेत बुझ्ने गरेका छन् ।
श्रेष्ठ श्रम मन्त्रीको जिम्मेवारीमा आएपछि वैदेशिक रोजगार व्यवसायीहरू लामो समयदेखि थाँती रहेका समस्याहरुको सकारात्मक समाधान हुने भन्दै आशावादी देखिएका छन् । विगतमा वैदेशिक रोजगार क्षेत्र बुझेका व्यवसायी टेकबहादुर गुरूङ मन्त्रालयमा राज्यमन्त्री हुँदा आएको फ्रि भिसा फ्रि टिकटको निर्णयले आफुहरु समस्यामा परेको व्यवसायीहरुले गुनासो पोख्दै आएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ अहिलेको सरकारले वैदेशिक रोजगार व्यवसायको महत्व र भूमिका बुझेको भन्दै विगतको कमजोरी नदोहोरिने बताउँछन् ।उनी भन्छन्, ‘व्यवसाय बुझेको व्यक्ति मन्त्री नियुक्त भएर मन्त्रालयको नेतृत्वमा आउँदा आशावादी बनेका छौं ।’
भिजन एण्ड भ्यालु ओभरसिज प्रा.लि.का सञ्चालक पदमराज पौडेल मन्त्री श्रेष्ठको नजिकका छिमेकी नै हुन् । श्रेष्ठले मन्त्रीको शपथ लिएपछि मध्यान्हलाई प्रतिक्रिया दिँदै व्यवसायी पौडेलले भने, ‘मन्त्री श्रेष्ठ वैदेशिक रोजगार क्षेत्रले मुलुकको अर्थतन्त्रमा हाल पु¥याइरहेको र भविष्यमा पु¥याउने योगदान र वैदेशिक रोजगारको महत्वबारे बुझेका व्यक्ति हुन् । वैदेशिक रोजगारको क्षेत्रमा सेवा शुल्क परिमार्जनदेखि ऐन कानून परिवर्तन गरी सुधारका विषय धेरै गर्न बाँकी भएकाले त्यसमा मन्त्रीको एक्लो प्राथमिकता मात्रैले पुग्दैन, त्यसका लागि राष्ट्रिय परिवेश पनि सोही अनुसार सकारात्मक बन्नुपर्छ । मन्त्रीले अघि बढाएका सुधारका एजेन्डामा सिंगो सरकार सकारात्मक हुनुपर्छ ।’
मन्त्री श्रेष्ठले शपथ लिएपछि सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गर्ने अधिकांशले रोजगारदाता र मजदुरको श्रम सम्बन्धलाई मैत्रीपूर्ण बनाउँदै वैदेशिक रोजगारीमा रहेका कामदार र उनीहरूका परिवारको हितमा ध्यान दिन आग्रह गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies