– यश घिमिरे
राधाले आज सपिङ्ग मलमा प्रत्यक्ष देखी, संजय एउटा केटीसँग त्यहीँभित्रको क्याफेमा मुखामुख हुँदै कफी पिउँदै गरेको । एकदुई जनाले “भाउजू ! दाईको आजकल अफिसकै एउटीसँग लसपस छ है !” नभनेका होइनन् । यस्तो कुराले मनमा केही चिसो पसेपनि “ह्या ! होइन होला है ! कोही राम्रो साथी पनि त हुनसक्छ नि !” भनेर हाँसेरै टारीदिएकी थिइ । तर आज भने खुद आफ्नै आँखाले देखी – दुबैजना एकआपसमा झुक्दै आँखा जुधाउदै र ओँठमा मुस्कानको स्वाद लिएर कफी पिउँदै गरेको । त्यही माथि टेबलमा क्यास्ट्रो ब्राण्डको सामानसहितको झोला देख्नेबित्तिकै त शान्त स्वाभावकी राधालाई पनि रिसको ज्वाला छुट्यो –“गिफ्ट किनिदिएको होला नि नकचरीलाई ...” बिजुली चम्केसरीको यो बिचारले कतै भित्रैसम्म हल्लायो । त्यहीं गएर झोलालाई च्यातचुत बनाउदै त्यो केटिको जगल्टा उखेल्न मन बन्यो । खाईरहेको तातोकफी लोग्नेको टाउकोबाट खन्याईदिन मनलाग्यो ।
“होस्, तमाशा के बनाउनु ? अहिलेसम्म सहनु सहेँ, अब भने खबर लिन्छु । घर त आउ“ –मनमनै सोंची । छोराको लागी हेर्दै गरेको टि–शर्ट पनि त्यतिकै छोडेर खुसुक्क बाहिरिई ।
“ट्याक्सी ! घट्टेकुलो जाने हो ?”
“हुन्छ बस्नुस !”, ड्राइभरले पछाडीको लक खोलिदिदै भन्यो, “५०० रुपिया लाग्छ ।”
अरुबेला भा’भए तीनसय भनेर बार्गेनिङ्ग गर्ने राधालाई आज केही भन्न मन लागेन, चुपचाप बसी । मनभित्र तर्कनाको आँधीबेरि चल्दैछ भन्ने त अत्यधिक रातो अनुहारले बोल्दै थियो । तर्कनाको हुँडरीमा हेलिँदै गर्दा कतिखेर ट्याक्सीले घट्टेकुलो पुर्यायो थाहै पाईन । भाडा तिरेर यन्त्रवत कोठाको बेडमा साडी पनि नखोली डंग्रङ पल्टिई । सिनेमाको दृश्य झै सन्जयसँग चिसिदै गएका दिनहरु उनको मानशपटलमा फनफनी घुम्न थाल्यो ।
“होईन ! के ल्याङ्गफ्याङ्गको कपडा लगाएकी ? अल्लि म्याचेबल त लगाउनु .. पल्लो घरकी समाको ड्रेसअप सेन्स त ख्याल गर्नु ।”
“तिमी त दुइटा छोरा पाउनासाथ बुढीमान्छे जस्ती देखियौ । अनुहारमा चार्मिङ्गनै छैन । अगाडीको रमिला भाउजूलाई हेर त, दुई बच्चाको ममि भएर पनि अनम्यारिड जस्ती देखिनुहुन्छ । टिप्स लिने गर वहाँसँग ।”
ब्रेकफास्ट तयार भाछैन अझै ? कति बजे पुग्नु अफिस ? हाउ स्लो यु आर ! सरिता माईजुसँग सिक, कसरी फटाफट मामालाई तयार हुन मद्दत पुर्याउनुहुन्छ भनेर । आई बिकेम लेट अलवेज !”
“एउटा जाबो साडी लगाउन कति बेर लगाकी हो ? शर्मिला दिदीले टीसर्ट–पैन्टमा ठाँट्टिएर हिंडदा तिम्रो चाहिँ घन्टौ साडी मिलाउदैमा जान्छ भन्या ।”
“गार्डन किन त्यति फोहोर ? यो डगीलाई किन ननुहाई दे’ को ? रमेशको बुडिले पनि कुकुरको स्याहार गेरेकी नै छे त । नसक्ने भए क्यानल हाउस फिर्ता गर ।”
“बाबुहरुको स्कुलबाट फोन आ’को थियो आज, कुन्नी के फन्क्सन छ रे । म अफिसको कामले भ्याउदिन । तिमी जानू ।”
“राधा ! एककप कफी बनाएर ल्याउ ।”
“राधा ! मेरो मोजा खोई ?”
“ राधा ! जुत्तामा पोलिस लगाईदेउ है, बाबुहरुको लगाउँदाखेरि ।”
“राधा ! बच्चाहरुको कपडामा आईरन लगाईदिँदा मेरो सर्टपैन्टमा पनि लगाईदेउ है । म जिम गर्न हिँडे ।”
“राधा ! बाबुहरुको होमोर्क हेरिदेउ त मलाई अफिसकै कामको ओभरलोड छ । आई एम टायर्ड टु ।”
“राधा ! निम्तोमा तिमी जाउ, म बिजी छु, भ्याउदिन ।”
“राधा ! हाउ कोल्ड यु आर अन बेड । यस्तो लाग्छ तिमी किनेर ल्याएको सेक्स डल हौ । यु ह्याभ जिरो सेक्स अपिल ।”
राधा ! राधा ! राधा !
मानौ, राधाको ज्यान फलामको हो । हात चारओटा छ । मुख सिलाईएको छ । मस्तिष्क रोबोटको हालिएको छ । स्वाभिमानमा भोटेताल्चा मारिएको छ अनि उनको भागमा ईच्छा, आराम, आमोद –प्रमोद भन्ने बिषय बनेको नै छैन ।
“सन्जय ! म नपढेकी गँवार नारी थिईन । साह्रै कुरुप पनि त थिँइन । तिमी नै मरिहत्ते गरेर माग्न आ’का थियौ । बाबा–आमाको बिरोधका बाबजुद मैँले तिमीलाई रोजें । बाबाले भन्नूहुन्थ्यो – लागेको बानी छुटन गाह्रो हुन्छ लोग्नेमान्छेलाई । धनी, पढेलेखेको, हेण्ड्सम भएर के गर्नु ? अल्ली धेरै केटीहरु खेलाउदै हिँड्छ रे त्यो मान्छे ! बिहेपछि पनि त्यस्तै रहिरह्यो भने जीवन नर्क हुन्छ छोरी ! मैँले भनेको मान । सोझो सज्जन केटो पनि पाईन्छन् । यो केटालाई चाहिँ ‘नो’ भन्देउ ।”
“तर तिम्रो चेहरा देख्ने बित्तिकै मलाई के भयो के भयो ! पहिलो भेटमै माया लागेर आयो । अनि बिग्रेकै बानी रहेछ भनेपनि सुधार्छु भन्ने लाग्यो । मैले ढिपी कसें । मेरो जिदको अगाडि वहाँहरु हार्नुभयो र तिमीलाई स्वीकार्नु भयो । बाबा–आमाले तिमीलाई मानसम्मान दिनुभएकै थियो । ज्वाइँ मान्नुभएकै थियो । तिम्रै जागिरको खातिर मैले आफ्नो हुँदाखादाको जागिर छोडेर यहि घर व्यवहार र दुईबच्चाको रेखदेख सर्लक्क धानेरै बसेकी थिएँ । आखिर के पुगेन संजय तिमीलाई ? ममा के कुराको कमि भयो र तिमीलाई त्यो नखरमाउलीको माया चाहियो ? अनि त्यस्तो गिफ्ट आजसम्म मलाई कहिलै दिएको सम्झना छ तिमीलाई ? तिमीलाई त न मेरो जन्मदिन याद रहन्छ न हाम्रो वेडिङ्ग एनिभर्सरी नै ।”
ओछ्यानमा ढल्किएर यस्तै तर्कना मनमा खेलाउँदा खेलाउँदै कतिखेर आँशुको ढिक्का कानभित्र पसिसकेछन थाहै पाईन । टुक्रुक्क पलङ्गमा उठेर बसी ।
सम्झीन्न भनेपनि बारबार राधालाई त्यही क्यास्ट्रोको झोला याद आईरह्यो । मन्द मुस्कानसहितका ओठहरु र ति चार आँखाको चमकिलो भाका झलझली नाचीरह्यो ।
“नकचरी आईमाई ! एउटी नारी भएर नारीकै घर खोस्न तम्सीने । पक्कै थाह छ त बच्चाको बाउ हो, बिबाहित हो भन्ने । ४५ वर्षकोले म कुमार केटो हुँ भनेर फसाएन होला त ! खान पल्केकी नाई हरामी केटी ! खुब चेपारो पार्दै धुत्छेहोलि’ नि मेरो लोग्नेलाई ! रिसको पारो पुनः ट्यक्सीमै हुँदाको बेला जसरी माथि उक्लियो – “त्यहीँ गएर जगल्ट्याउन पर्नेरहेछ नखर्माउलीलाई ! बेक्कारमा हिँडेछु ।”
राधालाई क्याफेमा केही नगरी यत्तिकै हिँडेकोमा भने थकथकी लाग्न थाल्यो ।
“हुन त आफ्नै सिक्का खोटो भएपछि अरुलाई नि के दोष दिनु र ? लामो निश्वास छोड्दैगर्दा अर्को तर्कना मनमा खेल्यो –“संजयको बारेमा बाबा सहि हुनुहुन्थ्यो, आई वाज रंग । बाह्र बर्ष कुकुरको पुच्छर ढुंग्रोमा हाले नि बाङ्गा’बाङ्गै भनेको यस्तैलाई होला ।”
मन बेस्सरी बेचैन भयो । छाती गरुङ्गो भएजस्तो, सासफेर्न गाह्रो भएजस्तो भयो । छटपटी बढेर बेडको छेउमा टुक्रुक्क बसिरहन सकिन अनि उठेर कोठाभित्रै टहलिन थाली । अचानक, भित्तामा झुन्डीएको ठुलो काठको फ्रेम भएको ऐनामा राधाको नजर पर्यो । छरपस्ट भएको कपाल, आँशुले लत्पताएको गाजल, बिना मेकअपको फुङ्ग उडेको सपाट चेहरा ! आँफ्नै रुपरंग देखेर खीन्न बनायो ।
“उफ्फ बच्चाको हेरचाह, नाता कुटुम्ब, घर व्यवहार अनि लोग्नेको जागिर भन्दैमा मैँले १५ वर्ष आँफैलाई बिर्सेछु । हरेक श्रीमानलाई आफ्नो श्रीमती अल्ली शृङ्गारपटार गरेर चिटिक्क परेर बसोस भन्ने चहना हुन्छ होला । साथी भाईको अगाडी लिएर हिँडदा “वाह” सुनियोस् भन्ने चाहना हुन्छ होला । जतिसुकै व्यस्त भएपनि एकघण्टा बिहान छिटो उठेर आफैलाई हल्का सिँगार्न समय निकाले पनि त हुन्थ्यो ! म पनि उस्तै हो ! लोग्नेलाई मात्र के दोष दिनु ? त्यो केटिले कस्तो आफैलाई सजाएकी थिई ! कपाल त्यस्तै सिल्की, अनुहारमा मेकअप त्यस्तै खुलेको, हरियो साडी कस्तो सुहाएको ! सन्जयलाई पक्कै त्यही श्रृंगारले नजिक खिँचेको हुनुपर्छ । मैँले यो चिज दिन्थें भने पक्कै उ मसँग चिस्सीने थिएन ।”
यो विचारले भने राधाको मनको ज्वारभाटालाई एक्कासी शान्त बनाईदियो । मुख फेसवासले धोईपखाली गरेर दराजबाट हरियो साडी र त्यस्लाई सुहाउने ब्लाउज निकालेर ड्रेसिङ्ग टेबल अगाडी बसेर मेकअप गर्न थाली ।
“वाउ ! ममु, यु लूक्स सो ब्युटिफुल । हजुर कतै निस्किन लाग्नुभएको हो र ?” – भर्खर स्कुलबाट आइपुगेको १२ वर्षको रोहनले बिस्मयकारी नजरले हेर्दै भन्यो । ८ बर्षको कान्छो छोरो पनि ममुको बद्लिएको स्वरुपलाई उस्तैगरि नियाली रह्यो ।
“बच्चा ! तिमीहरु आइपुगेउ ? ल ,फटाफट ड्रेस खोलेर हातमुख धोएर ज्ञानी भएर बस्ने, म खाजा रेडी बनाईहाल्छु हस !”
राधाले आफ्नो अनुहार एकपल्ट घोरीएर ऐनामा हेरी । कुनै पनि कोणबाट लोग्नेको गर्लफ्रेण्डभन्दा कम सुन्दर लागेन । हरियो साढी अझ खुलेको देखि अनि मुसुक्क हाँसी । हृदयको कतै कुनामा आत्मविश्वास जाग्यो । अनि बच्चाहरुलाई खाजा बनाउन व्यस्त रही ।
“राधा ! यो डंगीलाई पानी त राख्दीनु । हेर, बिचरोको कपमा एकथोपा पानी छैन ।”– झमक्क साँझमा आईपुगेको संजय गार्डेनबाटै करायो –“दिनभरी केही काम छैन तैपनि यत्ती एउटा ककुरको स्याहार गरेको पाँउदिन । थाह छ ? कति हालेर किनेको यो जर्मन शेफर्ड ? पूरा २२ हजार ! हेर्नसक्दिन भनेको भए ल्याउनेनै थिईनँ ।”
कुकुरलाई टाउको र गर्धनमा सुम्सुम्यायो । ‘हग’ गर्यो । कुकुरले पनि पुच्छर हल्लाउदै उ प्रती कृतज्ञता प्रकट गर्यो । बच्चाहरुलाई होमवोर्क गराएर भर्खर खाना बनाउन भान्छामा छिरेकी राधाले संजय कराएको सुनेर जगमा पानी लिएर हतार–हतार बाहीर कुँदी । उसलाई पुर्णविश्वास थियो, आज मलाई देख्नासाथ लोग्नेको आँखा विष्मयले भरिनेछ, एकटक लगाएर हेर्नेछ अनि पछाडीबाट अंगालो मारेर कानमा सुस्तरी भन्नेछ – “वाह, मेरो श्रीमती जी ! हाऊ ब्युटीफुल यु आर !”
जगबाट पानी खन्याउदै गर्दा लोग्नेबाट प्रशंसाको यो शब्द कतिखेर सुनुँजस्तो भएको राधालाई – “लु ! के पारा हो आज तिम्रो ? कस्लाई देखाउनको लागी यसबेला सझधज भएर बसेकी ? टोलका केटाहरुलाई ?” भन्ने रुखोअवाजले टाउकोबाट चिसोपानी खन्याएको जस्तो बनायो । मर्ममा शाब्दीक तातोझीर रोपियो । अकस्मातको अनपेक्षित पीडाले रन्थन्याएर जड्वत त्यहिँ उभिईरही । लोग्ने भने उस्लाई हेर्दै नहेरी भित्र पस्यो ।
राधाको मनमा सानो तिनो भूकम्पनै गयो अनि मनमनै भनी – “नाउ ! आईएम स्योर । आई एम ईन रंग ह्याण्ड । म गलत थिएँ । बाबा, हजुर सहि हुनुहुन्थ्यो । अब भने मैँले जिबनकै ठूलो यो भुललाई सुधार गर्नुपर्छ र गर्छु पनि ।”
राधाको मनमा केही कुराको दृढ निश्चय पलायो ।
टेबल माथी राखेको फाईल पल्टाउँदै संजयले थोरै आश्चर्य मिश्रीत हुँदै सोध्यो – “यो के हो ?”
“तिम्रो र मेरो पन्ध्र बर्षको यात्रा टुङ्याउने निर्णय, अ डिभोर्स पेपर, आई वान्ट योर साईन ।” बच्चाको कपडा पट्याउँदै दराजमा थन्क्याउदै गर्दै, उतिर हेर्दैनहेरी शुष्कश्वरमा जवाफ दिई ।
शायद जवाफ अपेक्षित भएर होला केही बोलेन । राधाको पारपाचुके गर्ने निर्णयले वास्तवमा भित्रभित्रै खुशी पनि थियो तर भावलाई बाहिर प्रकट हुन दिएन । झलक्क गर्लफ्रेन्डको चेहरा सम्झीयो – भर्खरकी छे, राम्री छे, मोर्डन छे । बोल्न, हाँस्न, खान जानेकी छे । गीत उस्तै मीठो गुनगुनाउछे डान्स उस्तै राम्रो । उस्लाई अपनाउने बित्तिकै जीवन अहिले जस्तो बोरियतसँग कट्ने छैन भन्ने सोचेर ढुक्क भयो ।
अनि उनीहरु बिधिवत रुपमा अलग भए । छोराहरु आमासँगै बस्ने अदालती फैसला रह्यो । यता संजय स्वतन्त्र भएको मात्र के थियो, गर्लफ्रेन्डले लात हानी । एउटा धनी एन.आर.एन.सँग अमेरिका भास्सिई । स्वास्नी र गर्लफ्रेण्ड दुवै गुमेपछि भने उस्को दिनचर्या अस्तव्यस्त हुनथाल्यो । न खानको ठेगान न घर आउनको ठेगान । ईष्टमित्र साथीभाईहरु यसै–यसै तर्किएर किनारा लाग्न थाले । अरुको त कुरै भएन, समयमा खान नपाएपछी उस्को त्यै बफादार जर्मन शेफर्ड कुकुर पनि नफर्किने गरी कतै गायब भयो । घर भुतबङ्गला जस्तो भयो अनि आँफु जोगीजस्तो ।
दुईवर्ष पछी .......
एकदिन अकस्मात राधासँग भूगोल पार्कमा संजयको आमुन्ने सामुन्ने भयो । एकछिन त दुबैजना हेराहेर मात्र गरे । बोली फुट्न हम्मे पर्यो । के बोल्ने नबोल्नेको दोधारमा संजयकै बोली फुट्यो – “सन्चै छ्यौ राधा ?”
झुस्स बढेको दाह्री, खुज्मुजिएको सर्ट, मुर्झाएको अनुहार देखेर राधालाई नमिठो लाग्यो । बिचरा ! त्यस्तो आगो जस्तो भर्भराउँदो मान्छे यस्तो भएर हिँड्दैछ भनेर कता–कता माया पनि लाग्यो । छातीको देब्रे कुना चस्किएको जस्तो भयो । मलीन स्वरमा भनी – “अँ, सन्चैछु । के स्वरुप लिएर हिँड्नु भएको यस्तो ? बिहे गर्नुभएको छैन अझै ?”
उ केही बोलेन । पर क्षितिज तिर नियाली रह्यो । मनमा अतितको छाँया परेर होला आँखाको कुनो रसायो । रसाएको आँखा देखेर राधाले अनुमान गरीहाली’ पक्कै त्यो केटीले धोका दिई’ ।
“तिमीले बिहे गर्यौ ? छोराहरुलाई कस्तो छ ? मलाई कत्तीको याद गर्छन् राधा ?” योभन्दा बढि सोध्न सकेन । गला अबरुद्ध भएर आयो ।
“फेरि के बिहे गर्नु र संजय ! एकपल्टकोले नै जीवनभर भारी पुग्ने गरेर चोट दिएको छ ! मेरो अबको जिन्दगी भनेकै तिनै दुई छोराहरु हुन ।” राधाको अनुहारमा पीडा मिश्रीत उदासी छायो अनि पार्कको हरियो धुपीको पात औलामा खेलाउदै भनी – “बरु तिमीलाई छोराहरुको याद आउदैन शायद । रोहनले मिस त बेस्सरी गर्छ तर अल्ली बुझ्ने भैसक्या’छ, त्यति पिरोल्दैन । कान्छो अझै सानै छ, जतिखेर नि बाबा कहिले आउनुहुन्छ भनेर हैरान बनाउँछ । तिमीले आफ्नो फोन नम्बर चेन्ज गरेछौ । फेसबुक पनि डिएक्टिभ गरेछौ । कसरी तिमीसँग कन्ट्याक्ट् गराईदिनु मैँले ? एकपल्ट भेटाउन लिएर आएको पनि थिएँ । घरमा ताला झुन्डिएको देखेँ, त्यत्तिकै फर्कियौं ।”
अबभने उस्को संयमको बाँध टुट्ने तर्खर गर्दैथियो । त्यहीँ डाँको छोडेर रुँदै राधाको पाउ समाएर माफी माग्न मन भयो । तर पारपाचुके लिईसकेको स्वास्नीसँग कुन मुखले माफी माग्नु ? गरूङ्गो मन बनाउँदै चौरबाट उठ्यो अनि बिस्तारै भन्यो –“ल राधा, आफ्नो र छोराहरुको ख्याल राख है । उनीहरुलाई तिमीजस्तै ज्ञानी र असल मान्छे बनाउनु ।”
चारपाईला पर पुगीसकेको संजयले रुँदै भन्दै गरेकी राधाको आवाज सुन्यो –“म एक्लैले सक्दिन संजय । छोराहरुलाई तिमी चाहिन्छ । म के गरुँ ?”
हाल : भरतपुर –१२ , चितवन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies