दमौली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका सवालमा भइरहेका दलाली र विकृति अन्त्य गर्ने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) तनहुँले दशैँका अवसरमा शनिबार दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले समाजवादोन्मुख राज्य प्रणाली स्थापनाका निम्ति नीति, कानून र मापदण्ड बनाउँदै श्रमिकले श्रमको मूल्य नपाउने अवस्थाको पूर्ण अन्त्य गरिने बताए ।
कोभिड महामारीका कारण करिब १५ लाखले रोजगारी गुमाएको बताउँदै मन्त्री श्रेष्ठले रोजगारी गुमाएकाको पुनःस्थापना अहिलेको चुनौती रहेको बताए । ‘सबै क्षेत्रसँग समन्वय गरेर सकेसम्म देशभित्रै रोजगारका अवसर सिर्जना गर्ने र आत्मस्वाभिमानको साथ काम गर्ने वातावरणको निम्ति पहलकदमी लिनेछु,’ मन्त्री श्रेष्ठले भने । औद्योगिक क्षेत्रमा श्रमिकमाथि हुने शोषणको अन्त्य गर्ने बताउँदै मन्त्री श्रेष्ठले औद्योगिक निकायसँग छलफल गरेर दीर्घकालीन समाधानको काम गर्ने बताए ।
कार्यक्रममा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गरिन । मन्त्री झाँक्रीले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताईन। भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै लड्दै आएको र आगामी दिनमा पनि सोहीविरुद्ध लड्ने मन्त्री झाँक्रीले उद्घोष गरिन् ।
मन्त्री झाँक्रीले समय धेरै नभएकाले जनअपेक्षाअनुसार काम गर्ने बताउँदै भनिन्, ‘हामीसँग समय छैन भनेर बस्ने छुट छैन, समय छोटो छ तर केही न केही गरेरै छाड्छौँ ।’ मन्त्री झाँक्रीले न्यायोचित विकासको पक्षमा रहेर काम गर्ने बताउँदै भनिन्, ‘गुल्मीले मन्त्री पायो भन्दैमा गुल्मीमा मात्रै विकास होइन, जुम्ला र हुम्लामा पनि विकास हुनुपर्छ, न्यायोचित विकासको पक्षमा म छु ।’ मन्त्री झाक्रीले स्मार्ट सिटी मात्र नभई बस्न योग्य सहर बनाउनेतर्फ मन्त्रालयले ध्यान दिने बताइन् ।
कार्यक्रममा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य कलिला खान, रेखा थापा बस्याललगायतले तनहुँ जिल्लामा एकीकृत समाजवादीको सङ्गठन सुदृढीकरणमा ध्यान दिने बताए । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies