नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बनेको ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री देउवाले संसद् जोगाउने र शक्ति सन्तुलन मिलाउन नसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका थिएनन् । तर १९ असोजमा सत्ता गठबन्धनका पाँच दलबीच मन्त्रालयमा भागबण्डा मिलेपछि शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तर सत्ता भागबण्डामा प्रधानन्यायाधीश चोलेन्द्र शमशर राणाले पनि कोटा पाएका छन् । प्रधानन्यायाधीशको कोटाबाट गैरसांसद गजेन्द्रबहादुर हमाल उद्योग मन्त्री नियुक्त भए । हमाल प्रन्या राणाका जेठान हुन् । प्रधानमन्त्री देउवाले हमाल काँग्रेसकै कोटाबाट मन्त्री बनेको बताएका छन् भने सत्ता साझेदार दलका शीर्ष नेताहरुले पनि बचाउ गरेका छन् । तर घटनाक्रम र दृष्यहरुले पनि हमाल काँग्रेसकै कोटाबाट मन्त्री बनेको पुष्टि हुन्न ।
किनकि हमाललाई काँग्रेस कोटाबाट ६ महिने मन्त्री बनाउनुपर्ने आवश्यकता र औचित्य पुष्टि हुन्न । फेरि १४औं महाधिवेशनको प्रक्रियामा रहेको काँग्रेसभित्र शक्ति सन्तुलन मिलाउन प्रधानमन्त्री देउवालाई सजिलो थिएन । अझ पाँच दलीय गठबन्धनमा भागबण्डा सजिलो थिएन । यस्तो बेला गैरसांसद हमाल मन्त्री बन्नुको अर्थ प्रधानन्यायाधीशकै कोटा रहेको बुझ्न गाह्रो पर्दैन । यसअघि गएको वर्ष मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि प्रन्या राणाले भागबण्डा लिएका थिए । संवैधानिक निकायको नियुक्तमा प्रन्या राणाले भागबण्डा लिएका थिए । त्यसविरुद्ध परेको रिट अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । अतः प्रन्या न्यायाधीशले कोटा लिएर हमाललाई मन्त्री नियुक्त गरिएको तर्क थप बलशाली देखिन्छ । जुन संविधानवादको सिद्धान्त र राज्य शक्ति सन्तुलनको प्रणाली विपरीतका कुरा हुन् ।
तर ढिलै भएपनि मन्त्रिपरिषद्ले पूर्णता पाउनुथोरै आशाको कुरा हो । प्रन्या राणाको कोटाबारे संसद् र न्यायालयभित्र पनि प्रश्न उठ्न जरुरी छ । यसबारे थप छलफल गरी न्यायालयको विश्वानीयता जोगाउन जरुरी छ । तर सरकारको ध्यान भने अब जनजिविकालाई सहज बनाउन केन्द्रीत हुनुपर्छ । त्यसले मात्रै लोकतान्त्रिक शासन प्रणालीप्रति जनतामा देखिएको वितृष्णा घटाउन सक्छ । प्रधानमन्त्री देउवा र मन्त्रीहरुले प्रभावकारी कामलाई अब तीव्रता दिन जरुरी छ । मूख्यगरी कोरोना महामारीबाट सिर्जित मानवीय समस्या हल गर्दै मुलुकलाई सामान्यकालतिर फर्काउनेमा जोड दिन जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies