एजेन्सी : सातौं आइसिसी टी-२० विश्वकप आजदेखि सुरू हुँदैछ। क्वालिफाइङ चरणको पहिलो खेलमा समूह ‘बी’ अन्तर्गत ओमानको अल अमारतमा ओमान र पपुवा न्युगिनीबीच पहिलो खेल हुँदा दोस्रो खेलमा बंगलादेश र स्कटल्यान्ड प्रतिस्पर्धा गर्ने छन्।
ओमान क्वालिफाइङ राउन्डमा स्थान बनाउने अन्तिम टिम हो। उसले हङकङलाई पराजित गर्दै टी-२० विश्वकपमा स्थान बनाएको हो। ओमानले केही समयअघि भारतको घरेलु टिम मुम्बईसँग तीन खेलको टी-२० सिरिज खेलेको थियो। जहाँ उसले २-१ को जित निकालेको थियो। मुम्बईका साथमा ओमानले तीन एक दिवसीय खेल खेलेको थियो। जसमा उसले १-२ ले पराजित भएको थियो।
दोस्रोतर्फ पपुवा न्युगिनिको टिमले पनि राम्रो तयारी गरिरहेको छ। टिमले सेप्टेम्बर मा ओमान पुगेको थियो। जहाँ उसले ओमानमा एकपछि अर्को तयारी गरेको छ।
बंगलादेश र स्कटल्यान्ड दुबै दाबेदार
सुरूवाती दिनको दोस्रो खेलमा बंगलादेशले स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ। समूह 'बी'बाट यी दुवै टिम मुख्य प्रतियोगितामा पुग्ने आँकलन गरिएको छ।
यी दुईबीच हुने खेल रोमाञ्चक हुनेछ। खेलमा जित निकाल्ने टिमलाई अघिल्लो चरणको यात्रा सुखद् हुने छ।
बंगलादेशले केही समयअघि टी-२० क्रिकेटमा सानदार प्रदर्शन गरेको थियो। उसले आफ्नो घरेलु मैदानमा भएको पाँच खेलको टी-२० सिरिजमा अस्ट्रेलियालाई ४-१ तथा न्युजिल्यान्डलाई ३-२ ले पराजित गर्दै सनसनीपूर्ण प्रदर्शन गरेको थियो।
प्रतियोगिता युएई र ओमानमा संयुक्त रुपमा हुनेछ। प्रतियोगिताको फाइनल युएईको दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies