– सरस्वती गौतम
मानिस समयको कमारो हो । समयले मानिसलाई जसरी चलायो त्यसैगरी चल्नु पर्ने सास्वत सत्य नै रहेछ । मानिस विभिन्न युगहरू पार गर्दै आए, सत्य युग, द्वापर युग, त्रेता युग हुँदै अहिले कलियुगमा छ । मानिसले यो घोर कलियुगमा नसोचेको र नदेखेको देख्न पाइन्छ । अन्याय र अत्याचार बढ्छ भन्ने सुनेको थिएँ बुढापाकाहरूबाट । तर आज मलाई लागि रहेको छ यी चार युगमा थपिएको छ अर्को युग, त्यो हो घोप्टे युग । त्यही घोप्टे युगको उपज आज हरेक घरघरमा मानवता, अपनत्व, नैतिकता आदि सबै हराउँदै गएको छ ।
हो यस्तै यस्तै सोच्दै भान्छामा खाना पकाउँदै गरेकी उषाले तल सडकमा नमीठो सुन्नै नसकिने असभ्य आवाज सुन्छे । ऊ झसङ्ग हुँदै बार्दलीबाट तल नियाल्छे । एक जना करिब पैँतालिसदेखि पचासे उमेरका जस्तो देखिने मान्छे आफ्नो मनको भडास निकाली रहेको हुन्छ । त्यहाँ अरू बटुवाहरू पनि जम्मा भएका हुन्छन् । विशेषगरि मोबाइल हातमा लिएकाहरूलाई तारो पार्दै भट्याई रहेको हुन्छ । ‘ए, ए ! मोबाइल नचला, भगाउला भगाउला जोइटिङ्ग्रेले । खबरदार ! ट्यापे होलास्, त्यो, त्यो मोबाइल नचला, चलाउन नदे तेरा छोराछोरीलाई । ऊ–ऊ छोरी पोइला गई छोरो ट्यापे भो हा हा हा स्वास्नी गई गई सबै लटिपटि पारेर बुझिस् बुझिस् अब तेरो पालो ।’ घरी हास्दै घरी छाती पिटी पिटी रुदै कुर्ली रहेको थियो । एकैछिनमा रमीतेहरू थुप्रीए त्यहाँ ।
उषा अचम्म मान्दै सोंच्न थाली, ‘यस्तो कोरोनाको महामारीमा सरकारले लकडाउन गरेको बेला पनि मानिसहरू कस्तो अबुझ भएर रमिता हेरीरहेका । वास्तवमै मानवलाई चेतनशिल प्राणी भन्नु बेकार हो, खै त चेतना ? यत्रो विश्वनै कोरोना भाइरसको कारण आक्रान्त छ । ठूला ठूला सुविधा सम्पन्न शक्तिशाली राष्ट्रहरूलाई त छोडेन भने हाम्रो जस्तो विकासशील देश, नेपालमा त त्यो भाईरसले छोयो भने सबै सखाप पार्छ । सरकारले गरेको लकडाउनलाई उल्लंघन गरी यस्तो अवस्थामा पनि मानिस रमिते भएर बस्छ भने ऊ कसरी चेतनशील प्राणी भयो ।’ उषा दिक्क मान्दै, तपाईँहरू आ–आफ्नो घर जानुस् भन्न नपाउँदै साइरन बजाउँदै एम्बुलेन्स आईपुग्यो । केही मान्छे निक्लीएर, त्यो जथाभावी बोली रहेको मानिसलाई समात्दै– ‘यो पागलले कति दुःख दिएको भागेर यहाँ आईपुगेछ’ भन्दै समातेर एम्बुलेन्सभित्र हालेर जान्छन् ।
उता भने उषाको दाल डढेर भुसुक्कै, विचरीले त्यो फालेर अर्को दाल बसाउँदै थिई । तल त फेरि पनि गाईगुई सकिएकै रहेनछ । उषा फेरि पनि ग्यासको आँच सानो बनाएर सडकतिर नियाल्छे । अघि कै मान्छेको चर्चा चलिरहेको रहेछ । एकजना भद्र मानिसले त्यो मानसिक सन्तुलन गुमाएको मान्छे, माइला दाइको कहानी भन्दै रहेछन् ।
माइला दाइ अति नै सोझो, इमान्दार र स्वावलम्वी स्वभावका रहेछन् । उनको सानो सुखी परिवार थियो । समय, काल, परिस्थितिले गर्दा घरपरिवार छोराछोरी छाडेर विदेश, कतार गएका रहेछन् । छोराछोरीलाई राम्रो शिक्षा दिने अनि प्यारी श्रीमतीलाई सुखले पाल्ने सपना बोकेर गएका माइला दाइको सपना नभन्दै एक पछि अर्को साकार हुँदै गयो ।
काठमाडौंमा घर बनाए, छोराछोरीलाई पनि राम्रै विद्यालयमा पढाए । बेलाबखत नेपाल आउँथे, छुट्टी मिलाएर । घरमा ठुलो टि.भि., छोराछोरीलाई ल्यापटप, श्रीमतीलाई आईफोन बोकेर ल्याउँथे माइला दाइ । वर्षमा एकपटक नभए पनि दुई वर्षमा त आउँथे । इमान्दारी, मेहेनती, सरल स्वभावका माइला दाइलाई पनि कम्पनीले राम्रै व्यवस्था मिलाएको थियो । उनी त्यो कम्पनीको पुरानो कर्मचारी भएरै होला, मालिकले असाध्यै विस्वास गथ्र्यो भने उनले सेवा सुविधा राम्रै पाएका थिए । त्यही भएर माइला दाई पन्ध्र वर्ष भन्दा बढि जीवन बिताएका थिए कतारमा ।
पछिल्लो चोटी छुट्टीमा घर आउँदा घरको वातावरण अली अपाच्य भयो, माइला दाईलाई । श्रीमती जतिवेला पनि मोबाइलमा नै झुण्डीएको देखे, छोरी टि.भि.मा सिरियलमै व्यस्त, भने छोरा ल्यापटपमा, उनी छक्क परे । त्यहाँ कसैलाई कसैको केही परवाह छैन । झनभन्दा झन बिग्रिदै गरेको परिवेश देखेर उनलाई दिक्क लाग्छ र श्रीमतीलाई सम्झाउछन् । श्रीमतीको जवाफ ‘हजुरले मलाई छाडेर गएपछि मेरो साथी यही मोबाइल भएको छ । म कसरी दिन काट्नु नि ? यसलाई जाहारको रुपमा नलिनु न बाबा,’ चेपारो पार्दै लाडे पल्टिन्छे । माइला दाई मख्ख हुदैँ, ‘बल्लबल्ल बिस, पच्चीस दिनको छुट्टी मिलाएर आएको हुन्छु, के झगडा गर्नु , यस्को पनि को नै छ र विचरी, यो मोबाइल पनि भएन भने कसरी दिन काटोस् । गाउँघरमा भएकी भए वस्तुभाउ, घाँस दाउरा, चुलो चौको गर्नु पथ्र्यो र दिन वितेको पत्तो पाइँदैन थियो ।’ यस्तै तर्कनामा चित्त बुझाउँछन् माइलादाई ।
समय बित्दै जान्छ, प्रत्येक पटक छुट्टीमा नेपाल आउँथे माइला दाइ, परिवारलाई सम्झेर । छोराछोरी पनि ठूला भैसकेका थिए । सबैका हातहातमा नयाँ–नयाँ मोडलका मोबाइल थिए । झन भन्दा झन घरको विग्रदो स्थिति देखेर श्रीमतीलाई आक्रोस पोख्दै ‘छोराछोरी साह्रै बिग्रिए के भएको यस्तो, छोरो छेऊ नै पर्दैन, मुन्द्रा लगाएर हिड्छ । जतिबेला पनि ढोका थुनेर बस्छ, हैन के चाला हो यस्को खानाखान पनि सँगै बस्दैन । उता छोरी पनि त्यसै गर्छे के हो यो म त केही बुझ्दिन,’ मनको भडास निकाल्छन् माईला दाइ, ‘हैन, के भयो हँ हजुरलाई ? तपाईँ गाउँमा बसे जस्तो हो र ? यो एक्काइसौँ सताब्दीमा पनि हाम्रा छोराछोरी हामीसँगै बस्छन् त । यो विज्ञानको दुनियाँ हो केही रिसर्च गर्दै होला, विज्ञान विषय पढाएका छौँ हामीले, अनि खलबलाउन हुन्छ त छोरालाई । तपाईँ आफै भन्नुस् त उनीहरूको पनि त उमेर हो, अलि अलि परिवर्तन आउनु त ठिकै हो त । हेर्नुहोस् मान्छेका छोराछोरीलाई कस्तो स्वतन्त्रता छ, जे भन्यो त्यही पु¥याएका छन् बुवाआमाले । हाम्रा त धन्न भन्नुहोस् न । किन कचकच गर्नुहुन्छ विचराहरू लाई आफ्नै पालाको कुरा गरेर हुन्छ जमाना काहा पुगिसक्यो ।’ श्रीमतीको कुराले त चित्त बुझाउँछन् तर माइला दाइको मनभने थिर थिएन ।
श्रीमतीलाई एक हप्ता साथीको घरमा पुगेर आउँछु, उसको सामान पनि पु¥याई दिन्छु भनेर निस्कन्छन माइला दाइ । उनले श्रीमतीले थाहा नपाउने गरी साउण्ड रेकर्ड गरेर छोडेका हुन्छन् । एक दुई दिनको बसाईपछि घर फर्कन्छन् । परिवारका सबै नै छक्क पर्छन, कसैको अनुहारमा खुशी देख्दैनन् । ‘तपाईँ त एक हप्ता बस्छु भन्नु भएको हैन ? चाँडै फर्कनु भएछ त ।’ श्रीमतीको आवाज सुनेर दिक्क मान्दै, माइला दाइ भन्छन्, ‘अँ, बस्न मन लागेन, तिमीहरूको यादले गर्दा आइहालेँ ।’ ‘हैन, बसेको भए त भइ हाल्थ्यो नि विचरा साथी रिसायो होला !’ श्रीमती मुखले ठिक्क पार्दै भान्छातिर पस्छीन् । माइला दाइ हतार–हतार गर्दै रेकडर झिकेर सुन्नथाले । स्वर्ग जस्तो घर क्षणभरमै भताभुङ्ग भएजस्तो लाग्छ उनलाई, दिक्क लाग्छ, मुटुले ठाउँ छाड्छ, आँखाभरी आँसु छचल्काउँदै निर्णय लिन्छन् माइला दाई । अब यो विदेशको बसाई मैले छोड्नु पर्छ भनेर ।
बेलुका श्रीमतीलाई केरकार गर्छ उल्टै रिसाउँछीन् । शंका गरेको भन्दै झुण्डीएर मर्ने धन्की दिन्छिन् । माइला दाइले पनि उसलाई शान्त गर्न रेकर्ड सुनाउँछन् । श्रीमती तुरुन्तै छेपारोले रंग फेरे जस्तै ‘कुराकानी मात्र हो, मेरो त्यस्तो केही छैन प्लिज, मलाई माफ गरिदिनुस् । अब म बाट यस्तो गल्ती हुँदैन ।’ भन्दै रुन थालीन् । यदि माफ नदिए विष सेवन गरेर मर्छुु भनीन् । विचरो, माइला दाइ श्रीमतीलाई विश्वास गर्छन् र सम्झाउँछन् उसको गल्ती र परिवारमा परेको असरबारे ।
उता माइला दाइले आफ्नो कम्पनीको मालिकलाई आफू कम्पनीमा अब काम नगर्ने भन्दै बिदा माग्छन् । कम्पनीको मालिकले ‘भर्खरै त तिमी छुट्टी सकाएर आएको फेरि जान नदिने बरू फेरि सेवा सुविधा थपीदिने निर्णय सुनाउछ ।’ मालीकको माया र विश्वासलाई मनभरी सगांल्दै ,केहि नबोली आखाभरी आँसु छचल्काउदै मालिकको सामु रेकर्ड झिकेर सुनायो माईला दाईले,जुन उसकी श्रीमती र उसको नाठोको सम्बाद थियो । सबै कहानी सुनेर सहानुभुति दिदै विदा गर्छ घर परिवार सम्हालन माईलालाई कम्पनीको मालिकले ।
उ पुर्णंरुपमा मारीमेटी छुट्टी मिलाएर घर फर्कन्छ । माइला दाईको आगमनलाई सबै आश्चर्य मान्छन् । ‘भरखरै जानु भएको तीन महिना भएको छैन, कति चाँडै आउनु भएको नि ?’ श्रीमतीको अनुहारमा खुशी हुनुको साट्टो उल्टो ससंकीत थियो । मनभरी खुशी लिएर आएको माइला दाइ परिवारको व्यवहार देखेर विरक्तिएर गाउँ जान्छन्, पुख्र्यौली घर मन वहलाउन । त्यहाँ उनका आफ्ना भनेका काका काकी मात्र थिए । यता जागीर छोडेर मारीमेटी घर आएको आफ्नो पोइको बारेमा उसैको साथीबाट थाहा पाएपछि, जायजेथा सबै गोलमोटोल पारेर श्रीमती पोइला जान्छे । यो खबर गाउँमै थाहा भएर आत्तिदै घर आइपुग्छ । श्रीमतीलाइ सबै ठाउँमा खोज्छ, कहीँ पनि फेला पार्दैन । टोलवासी गाइगुई कुरा काट्छन् कतै माइला माइलीको झगडा परेर स्वास्नीले त छोडेर गइन, अथवा कतै कोशीमा हामफालेर त मरिन विचरी ! जस्ता आवाजले आधा सन्तुलन त गुमाईसकेका हुन्छन् माइला दाइले भने आर्थिक अभावका कारण घरमा पनि छोराछोरीसँग कलह सुरु हुन्छ । ऊनी चौबिसे घण्टा रक्सीको सहारामा बस्छन् भने छोरो पूरै लागुपदार्थको कुलतमा फसेर लागुपदार्थकै व्यापारमा संलग्न भएर पुलिसले हिरासतमा लियो । उता छोरी भने दिन–प्रतिदिनको फेशनको कारण कुलतमा फस्दै वेश्यावृत्तिको सिकार हुन्छे र डान्सवारमा काम गर्न थाल्छे । अनि त माइला दाइको दिमागले कसरी काम गरोस् त अनि पागल भए विचरा ।
ति भद्रको कुरा नसकिँदै एकजना ले सोध्छन्, ‘अनि ति माइला दाइ कि श्रीमती मरी कि बाँचेकी छिन् त ?’ ‘के को मर्नु नि सबै परिवार तहसनहस गरेर नाठोलाई खुवाउनुसम्म खुवाइ । सबै सम्पत्ति सकेपछि त्यही नाठोले पनि छोडेर भागेछ । अहिले भारततिर देह व्यापार गर्छे रे । ‘ए विचरा माइला दाइ । अनि छोरी नि ?’ ए छोरी ! छोरी त उही पेसामा छे तर कहिले नेपाल, कहिले भारत त कहिले विदेशी मुलुकमा ग्राहकसँग । ‘अनि छोरा नि छोरा ?’ ‘छोरा त पुरै लागुपदार्थको व्यापारले गर्दा बिस वर्ष कैद भएको थियो । जेल भित्रै मरेछ, खै ? के बिरामीले हो ।’
बिचरो माइला दाइ कठैबरा, के पागल भन्नु, उसको ठाउँमा म भएको भए पनि यस्तै हुन्थे । यस्तै आवाज गुन्जी रहेको थियो । उषा सोंचमा मग्न भैरहेकी हुन्छे, ‘ओहो ! त्यसरी कुलतमा लागेको त टोलवासीले कहीँ न कहीँ त थाहा पाएका थिए होला नि । त्यो श्रीमती त्यसरी त्यो सोझो माइला दाइलाई धोका दिएर अर्कै नाठो खेलाउँदा कतै न कतै त संकेत पाएका थिए होला नि ? ती टोलवासीले खबरदारी गरिदिएको भए, आज त्यो सुन्दर घर बिग्रदैनथ्यो होला । अनि क्षणीक मस्तीमा परेकी माइला दाईकी श्रीमतीले पनि आफ्नो परिवार गुमाएर अहिले यो दुःखको भवसागरमा डुब्नु पर्दैनथ्यो होला । त्यी देशका कर्णधार छोराछोरी कोपिला फूल फक्रीन नपाउँदै अपराधी बन्नु पर्दैनथ्यो होला ।
आज माइला दाईको परिवार सकिदै थियो होला । यो समाज के काम मात्र गलतलाई गलत भनिदिने कोही भएन, अहिले लाज पचाएर च्वा–च्वा गर्छन् ।’ उषाका मन भित्र–भित्र तर्कना उर्लदै थिए । अचानक पछाडिबाट छोरीले, ‘मामु खाना पाकेन ? भोक लाग्यो ’ भन्दा झसङ्ग हुन्छे उषा ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies