दिपेन्द्र श्रेष्ठ/मध्यान्ह
काठमाडौं : १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कलाप्रतियोगिता शुक्रबारबाट हायात होटल बौद्धमा शुरु भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा शुरु भएको उक्त मेला मंसिर ५ गतेसम्म चल्ने छ । मेलाको शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको थिए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका प्रधानमन्त्री देउवाले हस्तकला देशको कला र संस्कृतिको पहिचान भएको बताउँदै यसलाई विश्वबजारीकरणमा जोड दिनुपर्ने बताए । हस्तकलाको विकास र सरंक्षणको लागि सरकार प्रतिवद्ध रहेको र सरकारको तर्फबाट सक्दो सहयोग गर्ने उनले बताए ।
हस्तकला एक अमुर्त कला भएको भएको प्रधानमन्त्री देउवाले बताए । प्रधानमन्त्री देउवाले कोरिएका चित्रहरु, मूर्ति, विभिन्न साँस्कृतिक पहिचान सहितको कलाले धर्म संस्कृतिको पहिचान प्रदान गर्ने भएकोले यसलाई संरक्षण गर्दै पुस्तान्तरण गर्न व्यवसायीहरुलाई आग्रह गरे । सरकार हस्तकला क्षेत्रको संरक्षणका लागि तयार रहेको बताउदै कुनै ऐन तथा नियम बनाएर अगाडि बढ्न सहयोग गर्ने उनले बताए ।
मेलाको अवलोकनमा कलाकारहरुको कला, मिहिनेत र परिश्रम देख्दा आफु खुसी भएको प्रधानमन्त्री देउवाले बताए । देउवाले भने, ‘नेपालीको पहिचान कायम राख्न कालिगडहरुले परम्परागत, आधुनिक शैलीमा मिहिनेत गरेर सुन्दर मुर्ति र विभिन्न कलाकृतिका सामाग्रीहरुले मेलालाई अत्यन्त सुन्दर देखाएको छ ।’
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले देशको धर्म, संस्कृति र पहिचान नै हस्तकला भएको बताएका थिए । मन्त्री आलेले देशको अर्थतन्त्रमा हस्तकलाको महत्व अधिक रहेकाले हस्तकलाका उद्यमीहरुलाई उच्च मनोबलका साथ पेशामा लाग्न आग्रह गरेका थिए । साथै उनले सरकारले हस्तकलाको विकास तथा व्यवसायीकरणको लागि आवश्यक सहयोग गर्ने बताए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष तथा मेला संयोजक रविन्द्र शाक्यले हस्तकलाको पहिचान र संरक्षणको लागि यो वर्ष हस्तकलाको वर्ष घोषणा गरेको जानकारी गराए । शाक्यले सरकारले हस्तकलाको विकास, संरक्षण र प्रोत्साहन गर्न सरकारी कार्यालयमा स्वदेशी उत्पादित बस्तुको प्रयोग गर्न खरिद ऐनमा व्यवस्था गर्नुपर्ने विचार व्यक्त गरेका थिए । साथै उनले हस्तकला हेर्ने छुट्टै मन्त्रालय वा अन्य सरकारी संस्थाको लागी पहल सरकारसँग आग्रह गरेका थिए ।
मेलामा विभिन्न हस्तकला विधाका १ सय २० भन्दा बढी स्टल रहेको छ । मेलामा मेड इन नेपाल र मेक इन नेपाल अवधारणालाई प्रवद्र्धन गरिएको छ । मेलामा ७० वर्ष नाघेका र हस्तकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरिएको छ । महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले मेलाको विषयमा विस्तृत प्रकाश पार्दै हस्तकला व्यवसाय उठानको लागि सबै लाग्नुपर्ने भनाइ राखेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies