अत्याधिक बढेको चिसोले जनजीवन नराम्रोगरी प्रभावित बन्दै गएको छ । राजधानी उपत्यका सहित देशभर चिसो बढेर गएका बेला राष्ट्रिय राजनीतिको तापक्रम कति पनि घटेको छैन । बरु थप बढेर गएको छ । एकपछि अर्को घटनाक्रमले राष्ट्रिय राजनीति सामान्य लयमा हिड्न सकिरहेको छैन । झण्डै महिना दिनदेखि सर्वोच्च अदालत ठूलो संकटमा फसिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायिक मर्यादा जोगाउन नसक्ने निष्कर्ष सहित सर्वोच्च परिसर दिनहुँ जसो तनावपूर्ण बन्दै आएको छ । सर्वोच्चका न्यायाधीशहरु इजलासमा नसबेको तीन साता नाघिसकेको छ । कानून व्यावसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको आन्दोलन थप चर्किएर गएको छ । आजदेखि देशभर सशक्त आन्दोलनको चेतावनी बारले दिएको छ ।
दलहरुभित्र आन्तरिक प्रतिश्पर्धा र अन्तरपार्टी सम्बन्धको तिक्तताले राजनीति प्रति नै समाजमा बितृष्णा बढ्दै गएको छ । जबकी वर्तमान संविधानले अवलम्बन गरेको बहुदलीय लोकतान्त्रिक प्रणाली जोगाउन दलहरुप्रति जनविश्वास आवश्यक छ । दलहरुप्रति अविश्वास भनेको लोकतन्त्रका खातिर पनि खतरा हो । यसले संविधानले सुनिश्चित गरेको तमाम उपलब्धीमाथि प्रश्न उठ्छ । तर सत्तारुढ गठबन्धन र विपक्षी दल नेकपा एमालेबीचको सम्बन्ध तिक्ततापूर्ण बनिरहेको छ । दलभित्रै पनि नेतृत्व हत्याउन नेताहरुबीचको सम्बन्ध सौहार्द बन्न सकिरहेको छैन । यस्तै अर्को समस्या थपिएको छ, अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) ।
एमसीसीका उपाध्यक्ष फातिमा सुमार सहितको टोलीले भदौ अन्तिम साता नेपाल भ्रमण गरी नेताहरुसँग भेटवार्ता गरेको थियो । फेरि केही हप्ता अगाडि बक्तव्य जारी गरी एमसीसीबारे नेपालको धारणा प्रष्ट पार्न आग्रह गरिएको थियो । अहिले फेरि अमेरिकी सहायक विदेश मन्त्री नेपाल भ्रमणमा छन् । उनले एमसीसीबारे नेताहरुसँग छलफल गरिरहेका छन् । एमसीसी नेपालमा विवादित परियोजना बन्न पुगेको छ । कतिसम्म भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुने यो एउटा प्रमुख कारण थियो । नेकपा विभाजन, विघटन हुँदै अहिले नेपाली काँग्रेस नेतृत्वमा गठबन्धन सरकार छ । सत्तारुढ गठबन्धनमै पनि एमसीसीबारे प्रष्ट धारणा छैन । तर यसले मुलुकले दिनुपर्ने समयोचित विषयलाई बिथोलेको छ । जबकी मुलुकको नेतृत्व दिने राजनीतिक नेतृत्वले मुलुक हितलाई प्राथमिकतामा राखेर अनुचित विवादमा अल्मलिन खतरानक छ । दायित्वबाट पलायन भएको र गैरजिम्मेवार बनेको सन्देश गइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies