दिपेन्द्र श्रेष्ठ/मध्यान्ह
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको भाउ आकासिएको छ । केहि महिना अगाडिको तुलनामा तरकारीको मुल्य सोचेको भन्दा अत्याधिक महंगो भएको व्यापारीहरु बताउँछन् । केहि तरकारी त चार सय प्रतिशतसम्म बढेको कालीमाटी फलफूल तथा तरकारी बजारका वरिष्ठ बजार संचालक अधिकृत मनोज धिताल बताउँछन् ।
तरकारी बजार क्षेत्रभित्रका थोक तरकारी बिक्रेता सोनित कार्की चितवन लगायत बढी तरकारी उत्पादन हुने क्षेत्रबाट तरकारी नआएको कारण महंगो भएको बताउँछन् । पहिलेको वर्ष पनि महंगो थियो तर पहिलेको भन्दा यो वर्ष अलि महंगो भएको कार्की स्वीकार गर्दछन् । प्रायः तरकारी तराई लगायतका जिल्लाबाट आयात गरिन्छ । त्यहाँबाट आयात रोकिनासाथ पहाडतिरको तरकारी आयात गर्दा किसानलेनै महंगोमा बिक्री गर्ने भएकोले थोक बजारमा आइपुग्दा महंगोनै पर्न जाने भएकोले बजारभाउ बढेको व्यापारीहरु बताउँछन् ।
विशेष गरेर तितेकरेला, काउली, मुला, भन्टा, बोडि, घिरौँला, चिचिण्डो, भिण्डी, कुरिलो आदीको भाउ बढेको छ भने त्यसको तुलनामा अन्य तरकारीको भाउ त्यति नबढेपनि पसलमा मनपरी भाउमा बेचिरहेको पाइन्छ ।
थोक तरकारी गत वर्षको तुलनामा यसपटक केहि बढेको अधिकृत मनोज धिताल बताउँछन् । तर पोहरकै तुलनालाई हेर्ने हो भने केहि तरकारी दुई सय प्रतिशत भन्दा माथिनै बढेको पाइन्छ । यसरी भाउ बढ्नुका मुख्य कारण उत्पादनसँग जोडिएको हुनाले कृषकले राम्रो मुल्य लिइरहेको उनी बताउँछन् । यसको नियन्त्रणको लागी बजार व्यवस्थापनको केहि भूमिका नरहने बताउँछन् । बरु बजार भाउमा तोकिएको भन्दा बढीमा बिक्री वितरण गरेको खण्डमा कारवाही गर्न सकिने अधिकृत धिताल बताउँछन् ।
उनका अनुसार अहिले कृषकहरुको खेतमा धमाधम तरकारी फलिरहेको अवस्था भएको र त्यो तरकारी बजारमा नआएसम्म बजारभाउ स्थिर रहनेछ । जब माग भन्दा बढी उत्पादन हुन थाल्छ त्यसपछि बजारभाउ ओरालो लाग्ने गर्दछ । पहिलेको तुलनामा आयातमा दुई टन घटेको छ भने भारतबाट ४० प्रतिशत तरकारी आयात भइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies