तेजबहादुर बन/मध्यान्ह
इटहरी : वि.स २०६४ साल चैत ५ गते सुनसरीको इटहरीका हार्डवेयर व्यवसायी कैलाश अग्रवाल र श्रीमती कान्तादेवीको विभत्य हत्या भयो । हत्या भएको १४ वर्ष बितिसक्दा पनि अभियुक्त अझै पत्ता लाग्न सकेको छैन् । घरभित्रै सुनियोजित ढंगबाट भएको अग्रवाल दम्पत्ती हत्या काण्ड बेला–बेला चर्चामा आइरहन्छ । तर, पीडामा परेका आफन्तहरूले न्याय भने अझै पाएका छैनन । त्यो बेला इटहरीमा प्रहरी प्रमुखको रूपमा प्रहरी निरीक्षक विश्वमणी पोख्रेल थिए । विभिन्न काण्ड र विवादै विवादले इटहरीको यो हत्याकाण्ड अहिलेसम्मपनि ओझेलमा छ । घटनाको रहस्य र दोषी अझै पत्तो लागेको छैन ।
वि.स २०७२ फागुन २० गते इटहरीकै एक विपन्न परिवारमा हुर्किएकी १४ वर्षीया बालिका सपना भुजेलको विभत्स हत्या भयो । हत्या भएको चार वर्ष बितिसक्दा पनि प्रहरी प्रशासनले अभियुक्तलाई पक्राउ गर्न नसक्दा उक्त हत्याकाण्ड पनि त्यत्तिकै ओझेलमा परेको छ । सुरूवाती समयमा विभिन्न महिला समुहले हत्याको विरोधमा बुलन्द आवाज उठाएपनि बोलिदिने मान्छे नै नहुँदा यो काण्डपनि अहिले त्यतिकै सेलाउन पुगेको छ ।
नेपाल प्रहरीको अपराध अनुसन्धानमा राम्रो नाम कमाएर चर्चामा आएका तत्कालिन डिएसपी ओम अधिकारीले घटनालाई नजिकबाट अनुसन्धान गरेको बताउँदै अभियुक्त पक्राउ गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । उनको पालामा सपना भुजेल हत्याकाण्डका दोषी पत्ता लाग्ने र परिवारले न्याय पाउनेमा आफन्त र नगरवासीको चाहना थियो तर उनी पनि सरूवा भएर गएपछि घटना रहस्यमयमै रहिआएको छ ।
त्यस्तै वि.स २०७४ असार १३ गते इटहरीमा सोच्दै नसोचेको घटना हुनपुग्यो । इटहरी उपमहानगरपालिका–४ मा रहेको अर्गानिक रेष्टुरेन्टमा एक महिला मृत अवस्थामा फेला परेकी थिइन् । पोखरीमा डुबेको अवस्थामा फेला परेकी २९ वर्षीया रञ्जु ठकुरीको हत्या भएको भन्दै पूर्वजर्नेल कुमार फुदोङमाथि हिंसात्मक आक्रमण भएको थियो ।
महिलाको धेरैले हत्या भएको दावी गरेपनि प्रहरीले घटना के हो ? खुलाउन नसक्दा आजसम्म पनि रहस्यमै रहेको छ । त्यतिबेला इलाका प्रहरी कार्यालयमा नयाँ डिएसपी नरेशराज सुवेदी थिए । घटनाको अनुसन्धान शुरू गरेपनि मुख्य चुरो पत्ता लाउन नसक्दा अहिले त्यो पनि त्यतिकै सेलाउन पुगेको छ । तीन मुख्य हत्याकाण्डसँगै इटहरीमा सुल्झिन नसकेको अर्काे विवाद अवैध वित्तीय कारोबार हो । इटहरी क्षेत्रमा अहिले पनि अवैध वित्तीय कारोबार गुपचुपमा हुने गरेको पाइएको छ । अवैध वित्तीय कारोबारमै संलग्न इटहरी रूची हाडर्वेयरका संचालक अरबिन्द कुमार अग्रवाल ४ वर्षदेखि फरार छन् । अग्रवालले सर्वसाधरणहरूबाट करिब १० करोड रुपैयाँ डुबाएर फरार भएका हुन् । त्यस्तै वित्तीय कारोवारमै संलग्न अर्का व्यवसायी भुलन जैसवाल पनि २ वर्षदेखि फरार रहेका छन् । उनले इटहरीका सर्वसाधरणबाट करिब १२ करोड रुपैयाँ उठाएर फरार भएका हुन् । यता इलाका प्रहरी कार्यालय इटहरीमा गत मंसिर २ गते आएका नयाँ प्रहरी प्रमुख डिएसपी खगेन्द्र खड्काले अनुसन्धानको प्रक्रियामा रहेका तर हालसम्म अभियुक्तहरू फेला नपरेका पुराना अपराधिक मुद्दाका फायलहरू पुनः खोल्ने बताएका छन् ।
मध्यान्हसँग कुरा गर्दै डिएसपी खड्काले सोमबार १४ वर्ष अघिको अग्रवाल दम्पती हत्याकाण्ड देखि लिएर चर्चित तीनै वटा हत्याकाण्डको पनि फाइल खोलेर अनुसन्धान गर्ने बताएका छन् । त्योसँगै उनले इटहरीमा रहेका विभिन्न अपराधिक गतिविधिहरूलाई निर्मुल बनाउन लागि पर्नेपनि प्रतिवद्धता व्यक्त गरेका छन् । डिएसपी खड्काले विगतमा पनि १ वर्ष इटहरी बसेर काम गरिसकेको अनुभव सुनाउँदै अपराध अनुसन्धान तथा शहरमा शान्ति सुरक्षा कायम गर्ने सवालमा कसैसँग नझुक्ने र सम्झौता पनि नगर्ने बताए । व्यक्तिगत एवम् राजनीतिक पहँुचलाई परै राखेर नेपालको संविधानले तय गरेको कानूनलाई टेकेर मुद्दा दर्तादेखि न्याय सम्पादन सम्मको भूमिकामा इटहरी प्रहरी कटिबद्ध रहेको उनले बताए । हालै कार्यभार सम्हालेका डिएसपी खड्कालाई इटहरीका सञ्चारकर्मीहरूले शहरमा हुने चोरी, वेश्यावृती, ठगी, लागूऔषध कारोवार नियन्त्रण र रात्री गस्ती बढाउन सुझाव दिएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies