तरुणा जोशी/मध्यान्ह
बझाङ : स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती हुने गरेको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् । सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले सास्ती भोग्नु परेको छ ।
जिल्लाका १२ वटा स्थानीय तहमध्ये साईपाल गाउँपालिकामा मात्र बैंक स्थापना भएको छैन । साईपाल गाउँपालिकाले तल्कोट गाउँपालिकामा रहेको एभरेष्ट बैंक र सदरमुकाम चैनपुरबाट कारोबार गरिरहेको छ । बैक खाता अनिवार्य गरेपछि बुङगल नगरपालिकाले ११ वटै वडामा बैक खाता खोल्न शिविर सञ्चालन गरेको छ । बैंक सम्म पुग्न भौगोलिक कठिनाइले सकस हुने भएपछि कृषि विकास बैंकका कर्मचारीसहित नगरपालिकाको टोलीले वडा कार्यालयमै पुगेर शिविर सञ्चालन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत रोकायाले मध्यान्हलाई बताए ।
यसअघि घरमै भत्ता बुझ्दै आएकी ८५ वर्षीया लक्ष्मी पटकी देवी धामीले यसपाली बैंकबाटै भत्ता बुझ्ने भएकी छन् । सरकारले बैंकबाट मात्र भत्ता दिने भएपछि गाउँलेले बोकेर उनलाई वडा कार्यालयमा आएको शिविरमा पु¥याएका छन् । लेखपढ गर्न नजान्ने र राम्ररी आँखा पनि नदेख्ने धामीलाई बैकमार्फत भत्ता बुझ्ने काम झन्झटिलो लागेको उनले बताइन् । बैकमा भन्दा पनि पहिलेका जसरी घरमै पुगेर दिए राम्रो हुने धामीको भनाइ छ ।
बझाङका अधिकांश लाभग्राही अहिले सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागी कम्तिमा २ घण्टादेखि १ दिन हिँडेर बैंक पुग्ने गरेका छन् । बैक पुगेपनि चेकमा लेख्न लगाउनु पर्ने, घण्टौ लाइनमा बस्नुपर्ने, घर फर्कन गाडी कुर्नुपर्ने, बुढेसकालमा घण्टौ हिँडनुपर्ने बाध्यता रहेको ज्येष्ठ नागरिकको गुनासो छ । यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा गएर सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले बैंकिङ प्रणालीबाट दिन शुरू गरेपछि नागरिकहरूलाई सास्ती भएको छ । स्थानीय सरकारमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्ने लाभग्राहीको माग छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies