राजनीतिक सुद्धिकरणको बहस नेपालमा संभवतः अरु कुनै क्षेत्र भन्दा धेरै भएको छ । आधुनिक राज्य निर्माणको प्रक्रियासँगै राजनीतिक सुद्धिकरणको बहस पनि बढेर गएको थियो । पृथ्वीनारायण शाहको राज्य एकीकरण पछि यो बहस झनै सघन बन्यो । राज्यले मूर्त रुप लिएकाले पनि यसको राजनीतिक सुद्धिकरणको मुद्दा प्रमुख बन्यो । राज्य निर्माणको आवश्यकता नपरेपछि कायम भएको राज्यमा थिति बसाल्न पनि यो मुद्दा आवश्यक परेको थियो । तर राजनीतिक सुद्धिकरणको प्रक्रिया सधैं अग्रगामी मात्रै बनेन । निरंकुश शासक उदयको साधन समेत बन्न पुग्यो । भीमसेना थापा, जंगबहादुर राणा त्यसैको उदाहरण हुन् । कतिपय अवस्थामा राजनीतिक सुद्धिकरण गर्न व्यवस्था परिवर्तनकै आवाज उठ्यो र व्यवस्था परिवर्तन पनि भयो ।
राजाबाट राणा शासनको उदय राजनीतिक उतारचढाबकै परिणाम थियो । राणाशासनको उदयसँगै राजा खोपीमा बस्न पुगे भने जनता दमित हुन पुगे । राणाहरुले मुलुक नागरिकको वर्गीकरण मात्रै गरेन, आफ्नै भाइभारदारहरुमा पनि वर्गीकरण गरे । त्यो वर्गीकरण समयान्तरमा विभेदको कारक पनि बन्यो । राणाशासनबाट मुक्त हुने चाहना पनि राजनीतिक सुद्धिकरणकै परिणाम थियो । २००७ सालमा राणाशासनको अन्त्य भयो । तर जनताको शासन शुरु भएन । २०१७ सालमा फेरि महेन्द्रले पञ्चायती व्यवस्था लागू गरे । यो व्यवस्था ३० वर्ष चल्यो । फेरि बहुदलीय व्यवस्था आयो, राजतन्त्र संवैधानिक बने । २०६२ को क्रान्तिले २४० वर्षे राजतन्त्र अन्त्य गरिदियो । मुलुक गणतन्त्रमा प्रवेश गर्यो ।
तर गणतन्त्र पनि समस्या रहित बन्न सकेको छैन । विशेषगरी समाजको वास्तविक प्रतिविम्व राजनीतिक नेतृत्वमा देखिन सकेको छैन । मुलुकको कुल ग्राहस्थ उत्पादनमा बढी योगदान दिने आर्थिक उमेर समूहको जनसंख्या नेपालमा ठूलो संख्यामा छ । तर मुलुक भने अल्पसंख्यक उमेर समूहबाट चलिरहेको छ । राजनीतिक नेतृत्वमा युवा बहस नयाँ होइन । समावेशी प्रतिनिधित्वको आवाज पछिल्लो केही दशक यता चर्कोगरी उठेको छ । तर नेतृत्वमा भने एउटै समुदाय र प्रौढहरु हाबी हुन पुगेका छन् । अहिले प्रमुख राजनीतिक दलहरु महाधिवेशनमा केन्द्रीत भएका छन् । तर लगभग कुनैपनि दलका प्रमुख नेतृत्व हस्तान्तरण गर्न तयार देखिएका छैनन् । अतः इतिहासको प्रवृत्ति मसिनोगरी अध्ययन गर्ने हो भने अब विद्यमान प्रवृत्तिमाथि हस्तक्षेपकै अवस्था आउने खतरा देखिन्छ । तर त्यसअघि नेतृत्वले विवेक पु¥याए भने त्यो दुर्घटना नआउन पनि सक्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies