खडानन्द अधिकारी/मध्यान्ह
कालीकोट : जिल्लाको नरहरिनाथ गाउँपालिकामा पहिलो पटक कालिज फार्म संचालनमा ल्याइएको छ ।नरहरिनाथ गाउँपालिका–३ माडेगाउँका युवाहरुले आफ्नै व्यक्तिगत लगानीमा कालिज फार्म संचालनमा ल्याएका हुन् । दैनिक जसो युवा विदेशिने क्रम बढ़े पनि नरहरिनाथ गाउँपालिकाका युवाहरुले सामुहिकरुपमा कालिज फार्म संचालन गरेका छन् । युवाहरुले व्यक्तिगत ७ लाखको लगानीमा कालिज फार्म संचालनमा ल्याएका हुन् ।
कालीकोट जिल्लामा उनीहरुले पहिलो पटक कालिज फर्म संचालन गरेका हुन् । ७ जना युवाहरुको सामुहिक लगानीमा कालिज फार्म संचालन गरिएको हो । पहिलो चरणमा २ सय चल्लाबाट सुरु गरेका छन् । वैदेशिक रोजगारीका लागि खाडि मुलुक जानुभन्दा आफ्नै गाउँठाउँमा केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएका छन् नरहरिनाथका युवाहरुले । युवाहरु कामको शिलशिलामा छिमेकी देश भारत र अन्य खाडी मुलुकमा जाने भएकाले उनीहरुलाई रोक्न र आफ्नै भूमीमा केही गर्न सकिन्छ भन्ने उदाहरण दिनका लागि कालिज फार्म संचालनमा ल्याएको मालिका वाइल्ड लाइफ एग्रो फर्मका संचालक धर्मप्रसाद उपाध्यायले मध्यान्हलाई बताए ।
‘हामीले थोरै लगानीबाट सुरु गरेका र्हौ’, उपाध्यायले भने, ‘तर उत्पादन अनुसारको बजार नहुँदा समस्या भएको छ ।’ नरहरिनाथ गाउँपालिकामा फार्म भएपनि उत्पादन गरे अनुसारका कालिज विक्रीका लागि बजारको समस्या भएको संचालक उपाध्यायले बताए । ‘कालिजको मूल्य बढी छ, किनेर खानसक्ने आयस्रोत ग्रामीण भेगका प्राय: नागरिकको छैन’, उनले भने, ‘त्यसैले उत्पादन गरे अनुसारको बजार नभएर खर्च बढेको छ ।’
अहिले उक्त फार्ममा १२० भन्दा बढी कालिज रहेका छन् । फार्ममा रहेका कालिजको प्रजनन् समय सुरु भएकाले व्यवस्थापनका लागि समस्या भएको उपाध्यायको भनाई छ । अरु कुखुराले जस्तै चारो खाने र त्यसमा साना घाँस पनि खाने भएकाले कालिज पाल्न गाह्रो छैन । उडेर भाग्ने सम्भावनाका कारण वरिपरि घेरबार मात्र नभएर निश्चित उचाइमा आकाश ढाक्नेगरी जाली पनि लगाइएको छ ।
फार्ममा अहिले हुर्किएका १ सय २० वटा बिक्रीयोग्य कालिज ग्राहकको प्रतीक्षामा छन् । फार्ममै आउनेहरुले प्रति कालिज तीन हजार हालेर किन्ने गरेको उपाध्यायको भनाइ छ । सुर्खेतबाट पहिलो पटक प्रति गोटा १ हजार मूल्यमा कालिजको चल्ला किनेको उपाध्यायले सुनाए ।
कार्यालय प्रमुखले गरे कालिज फार्मको अनुगमन
नरहरिनाथ गाउँपालिकामा रहेको कालिज फार्मको पशुसेवा कार्यालय कालीकोटका प्रमुख लक्ष्मीप्रसाद अधिकारीले अनुगमन गरेका छन् । जिल्लामा पहिलो पटक व्यवसायिकरुपमा सुरु गरिएको कालिज फार्मको कार्यालय प्रमुख अधिकारीले अनुगमन गरेका हुन् । उनले फार्ममै पुगेरै अनुगमन गरेका हुन् । अनुगमनपछि उनले आफ्नो कार्यालयबाट हुनसक्ने सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।
उनले युवाहरुले गरेको कामको प्रशंसा गर्दै यस्ता व्यवसायिक युवालाई सरकारले पनि सहयोग गर्नुपर्ने बताए । नेपालमा पछिल्लो समय कृषि पेशामा युवा आकर्षण पुन: बढ्दो छ । अहिले युवा वर्गमा कृषि पेशाबाट पनि उच्च प्रतिफल र सम्मान पाउन सकिन्छ भन्ने धारणा बढ्दै गएको छ । यसका कारण सम्मानित र उच्च आम्दानी गरिरहेका युवाहरुसमेत अहिले ठूलो लगानीसहित कृषि पेशामा सक्रिय बन्दै गएको भन्दै प्रमुख अधिकारीले खुसी व्यक्त गरे ।
‘कृषि क्षेत्रमा नयाँ तरिका वा व्यवसाय अंगाल्ने र प्रयोग गर्नेहरुको संख्यासमेत बढ्दो छ । यसको उदाहरण पछिल्लो समय कालीकोटमा कालिज पालन व्यवसायमा बढ्दो लगानी र युवा आकर्षणलाई हेर्न सकिन्छ’, प्रमुख अधिकारीले भने, ‘बढ्दो मासुको माग र शहरिया नागरिकको ‘चुजी जिब्रो’का कारण जंगली चरा भनिने कालिज पालनमा युवाको आकर्षण बढ्दै गएको छ ।’
स्थानीय सरकारको परेन नजर
पछिल्लो सयम व्यवसाय बढ्दै जाँदा व्यवसायीले सरकारी सहयोगको अपेक्षा पनि गरिरहेका छन् । कालीकोटमा यसबारे आवश्यक स्वास्थ्य, सुरक्षा, बजारलगायतको समस्या बेलाबेलामा आउन थालेको बताउँदै उपाध्यायले सरकारले उचित बजार व्यवस्थापन, बीमा सेवा, स्वास्थ्य सेवालगायतमा विशेष सहुलियत तथा नीति निर्माण गरिदिनुपर्ने बताए ।
आफुले कालिज फार्म संचालन गरेदेखि स्थानीय सरकार आफ्नो फार्म हेर्न समेत नआएको उपाध्यायले गुनासो गरे । नरहरिनाथ गाउँपालिकामा यति ठुलो फार्म संचालन गर्दा पनि स्थानीय सरकारले सहयोग गर्नुको साटो फार्म कस्तो छ भनेर हेर्न समेत नआएको उनको गुनासो छ । युवाहरुलाई व्यवसायिक बनाउने सरकारको जिम्मेवारी भएपनि स्थानीय सरकारले व्यवसायी युवाहरुलाई आस्थाकै रुपमा सहयोग नगर्ने गरेको कतिपय स्थानीय युवाहरु बताउँछन् । युवाहरुलाई पालिकामा रोजगारी सिर्जना गर्ने घोषणा पत्र तयार गरेका नेताहरुले व्यवसायिक युवाहरुलाई दिनुपर्ने सहयोग समेत दिन नसकेको युवा व्यवसायीको गुनासो रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies