बबिता खालिङ, सिक्किम
एउटी नारीले आफ्नो गलामा झुण्ड्याउने
दुई संसारबीचको पवित्र बन्धन हो मङ्गलसूत्र ।
एउटी स्त्रीले स्विकार्ने
हरेक परिवर्तनको
यथार्थ पहिचान हो मङ्गलसूत्र ।
मङ्गलसूत्र प्रेमको आस्था अडिने
प्रेम धागो हो
जसमा बाँधिएर एउटी स्त्रीले
आफ्नो बालापन त्याग्छे
परिवार त्याग्छे
जन्मभूमि त्याग्छे
र त्यही त्यागहरूलाई पुनः समेटेर
अर्को खुशीको संसार निर्माण गर्छे
तर समाजलाई बहिष्कृत छे नारी
जसले केवल एउटा धागोसँग साटेकी छे
आफ्नो सपना र बिपना दुवै ।
एउटा सानो धागोको भरमा बाँधिएर
निभाएकी छे हरेक जटिल सम्बन्ध र दायित्व ।
यहाँ औँली उठ्दछ
उसका हरेक हाँसोमा
आखिर ऊ हाँसे त किन हाँसी ?
तिरस्कार छ हरेक रोदनमा
आखिर ऊ रोई त किन रोई ?
यहाँ शंका छ हरेक पाइलामा
आखिर हिँड़ी त ऊ किन हिँड़ी ?
एउटा सानो धागोको परिधिभित्र
आफ्नो संस्कारलाई बचाउन
र परिधिबाहिरका मर्यादालाई स्विकार्न
यही दुई सूत्रमा बाँध्न चाहने
समाजको अर्को माग हो
मङ्गलसूत्र लाएकी आफ्नी छोरीको सम्मान
र स्वतन्त्रता ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies