-राजनारायण राई
भानज्येङ लेकको छेउमा पैँयौ घारी छ । पैँयौ फुलेर ढकमक्क परेको छ । त्यही एक छेउको चौतारामा पूर्णीमा र भावेश अङ्गालिएर बसेको पनि निकै समय भइसकेको थियो । अँध्यारोले झ्याप्पै छोपिसक्दा पनि दुवै छुट्टिने कुनै सुरसारै थिएन । उतिबेला रातको मन्द चिसो हावाले पूूर्णिंमाको केशराशी घरि घरि उडाईदिन्छ ! भवेशको अनुहार भरी भरी । भवेश उतिबेला भने आनन्दको गहिराइबाट झस्किन्थे । अनि पूर्णिमालाई झन् च्याप्पै पक्रिएर म्वाइको वर्षा गरिरहन्थ्यो ।
पूर्णिमालाई खै के भयो भवेशको अङ्गालोबाट एक्कासि अलिक पर हटिन् अनि भन्दै थिइन् “भवेश हामी दुई यहाँ धैरै समय बितायौं । घर जानु अबेर भईसक्यो ।” पूणिर्माको कुरा सुनेर पनि बोलेन भवेश । बरू उ पूर्णीमाको सुन्दर अंगहरूसँग रमाइरह्यो । अनि धित मरिन्जेल पिइरह्यो पूणिर्माको तेजिलो स्वास ।
पूर्णिमाले भवेशलाई अझै भन्दै थिईन्, “भावेश हामीलाई यस्तो अवस्थामा कसैले देख्यो भने दोष त मेरै शीरमा लाग्छ । यति अबेर मैले घरमा पाईला राख्दा घरकाहरूले पनि मलाई राम्रो दृष्टिले हेर्ने छैनन् । मेरो इज्जत रहने छैन ! म घर कसरी फर्कनु अब ? आमाले मार्छिन् । घरकाहरूले केही प्रश्न गरे मेरो प्रतिउत्तरले परिवार सन्तुष्टि हुने छैनन् । तिमीले मेरो शरीरको रसपान गरी छोड्यौ । मैले बिरोध चाहेर पनि गरिन । बिन्ती छ भवेश मलाई तिमीसँगै लैजाउ सँधैभरिलाई ।”
पूर्णिमाको यस्तो वाक्यांश सुनेपछि भवेशको शरीरमा करेन्ट प्रवेश गरे झैँ पूर्णिमाको अंङ्गालोबाट छुटिन्छ ! अनि भवेशको त्यो हालत देखेर पूर्णिमा पनि छक्कै पर्दै भन्छिन्, “भवेश के भयो तिमीलाई ?” केही अकमक्कीन्दै भवेशको शब्दद्वार खोलिन्छ ! “केही भएको छैन हौ पूर्णिमा । तिम्रो कुरा सुनिरहेको छु । बुझिरहेकै त छु नि मैले । जुन प्रस्ताव तिमीले मसँग राखेको छौ त्यो सही हो तर......“ । यति भनेर भवेश फेरी चुप भईदिँदा पूर्णिमा पनि नआतिएकी चै होइन । हस्याङ फस्याङ हुँदै अलिक सम्हालिदै “तर के भवेश ?” भनेर सूर्यको प्रकाश जतिकै छिट्टो प्रश्न पनि गरिहाल्छिन् पूर्णिमाले पनि ।
उतिबेला भवेश भने होशीयारी बन्ने प्रयास गर्दै । पूर्णिमालाई आफ्नो छात्तीमा टाँसेर भन्छ, “पूर्णिमा तिमीलाई अवश्यै जिवन संगिनी बनाउनेछु । तर यतिबेला आवेशमा होइन होशमा । अहिले आफुलाई अलिकति उठाउनु छ । बसाउनु छ । उभ्याउनु छ । यसैले त म विदेश जानुलाई तयारी भइसकेको छु । पर्सी आकाशमा उड़ेर नौलो माटोमा टेक्दै छु ।यही भन्नु थियो तिमीलाई आज र छुट्टिनु सकिरहेको थिइनँ तिमीबाट । अब भन त आज कसरी तिमीलाई मसँगै लानु सक्छु र ? केही वर्ष पर्ख म तिमीलाई विवाह पक्कै गर्ने छु । यति हो तिमीले मलाई विश्वास चाहिँ गरेको हुनुपर्छ ।”
भवेशको कुरा सुनेपछि पूर्णिमा केही बोल्न सकिनन् । झन् आँशु थाम्न किन सक्थिन् र ? अनि झार्यो आँशु भवेशको छात्ति भरी । त्यसपछि दुवै मौन रहन्छ । केहीमाथि सड़कमा जोडले गाडी कुदेको आवाज सुनेपछि नै झस्कियो दुवै । अनि त्यस स्थानदेखि छुट्टियो ति दुवै निकै अवेर गरी । मनभरी तितो मिठो यादहरू बटुलेर ।
साँच्चै भवेश दुई दिन पछि बिदेश तिर पायलन भयो । पूर्णिमा पनि मन बाँधेर भवेशको प्रतिक्षामा बाँच्न थालिन् । दिनहरू बित्दै गयो । भवेश विदेश लागेको पनि तीन महिना पुगिसकेको थियो । अचनाक पूर्णिमाको स्वस्थ्य गडबडी हुनथाल्छ । बान्ता हुन्छ । शरीर उथुलपुथुल बनिरहेको थियो । बिस्तारै पूर्णिमाको पेटको आकार बढ्दै गरेको देखिनु थालेपछि गाउँभरि हल्ला डढेलो सरह फैलिन्छ । अनि बदनाम हुन्छिन् । एकदिन उनकी आमाले पूर्णिमालाई सोधखोज गरेपछि पूर्णिमाको पेटममा हुर्किँदै गरेको बच्चा भवेशकै हो भन्ने थाहा लाग्छ ।
“तैँले परिवारको इज्जत राखिनस । हामी सबैको अनुहारमा कालो मोसो दलिदिइस । त यस्तो गतिछाडा कलंक हुन्छस् भनेर जानेको भए मेरो कोख नै तुहाईदिन्थे बरु । र यस्तो बदनामी हुनबाट जोगिन्थे । तँलाई जन्मदिनु मेरो भूल भयो ।” भन्दै आमा रूँदै भूल पश्चताप गर्छीन् ।
भवेशको कुनै अत्तो पत्तो थिएन । न फोन लाग्छ न त उसको कुनै वास्तविक जानकारी नै थाहा हुन्छ । एउटै कूरा भवेश विदेश गएको छ भन्ने पूर्णीमालाई थाहा छ । तर कुन देशमा भन्ने पनि थाहा छैन । भवेशको खोज तलास गरेर पनि कुनै ठेगाना लगेन । पूर्णिमाले आफ्नु पेटमा बढिरहेको बच्चालाई तुहाउन चाहिनन् । उनले छोरा जन्माइन् । अनि नाम राखियो “निर्दोष”।
यतिकै समय बित्दै जान्छ । पूर्णिमालाई छोरोको लालन पालनको जिम्मेवारी थपिन्दै जान्छ । पूर्णिमा भवेशको यादहरुबाट टाढा बन्दै जान्छिन् । भवेश फर्किन्छ भन्ने आशा पनि मर्दै जान्छ । यसरी नै पूर्णिमाले जिउन सिकिन् । सही, गलत र धोखा भन्ने छुट्याउन सक्ने भइन् । तर एउटै कुरा पूर्णिमाको जिवनमा कालो लागेको रंग भने कसै गरि मेट्न सकिनन् । उनी निर्धक्क बाँच्न पनि सकीनन् । बरू काँडामाथि हिँडेर पनि बाँचिरहिन् । छोरा निर्दाेषकै निम्ति ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies