नेकपा (एमाले)मा १० बुँदे सम्झौताका पक्षधर समूह सुरुवातीदेखि नै कमजोर अवस्थामा थियो । देखिँदा एउटै समूह देखिए पनि फरक–फरक स्वार्थका कारण १० बुँदे समूह विभाजित देखिन्थ्यो । १० औं राष्ट्रिय महाधिवेशनको दौरान समूहभित्रको विभाजन स्पष्ट रुपमै बाहिर प्रकट भएको थियो । समूह विभाजित भएपछि नै नेता भीम रावलले एकल रुपमै रिपोर्टस क्लबबाट अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए । पार्टी कार्यालयमा ठाउँ नदिएपछि नै रावलले उम्मेदवारी घोषणा गर्न रिपोर्टस क्लब रोजेका थिए । एक्लो भएका रावलले एक्लो रुपमै उम्मेदवारी घोषणा गर्नु आफैंमा अर्थपूर्णं थियो । सार्वजनिक रुपमै प्रकट नगरेपनि रावल चुनावी प्रक्रियामा हार्छु भन्नेमा ढुक्क थिए । महाधिवेशन प्रतिनिधि चयनकै प्रक्रियामा केपी शर्मा ओली पक्षले गरेको एकलौटीबाट रावल पक्कै पनि अनविज्ञ थिएनन् । हार्छु भन्ने थाहा भएको प्रक्रियामा पनि रावल अडान लिएरै बसे । ओलीले आफुँ अनुकुलको समूह बनाएर सर्वसम्मत नेतृत्व बनाउन गरेको प्रक्रियामा रावलले बाँझो हालेका थिए । उनले हारेरै भएपनि एमालेभित्र ओलीले विकास गर्दै गरेको प्रवृत्ति र सोंचलाई तोड्न चाहन्थे ।
आज चुनावी प्रक्रियाबाट रावलसहित नेताहरु घनश्याम भुसाल, भीम आचार्य र टंक कार्की पराजित भएका छन् । नवौं महाधिवेशनबाट पदाधिकारी भएका नेताहरु आज पदाधिकारीमा समेटिन सकेनन् । तर, निर्वाचनको प्रक्रियामा पराजित भएको भएपनि उनीहरुको अडानले भने एमालेमा जितको इतिहास कायम गरेको छ । उनीहरु ओली र ओलीको सोंचलाई असफल बनाउन सफल भएका छन् । उनीहरुले एमालेभित्रको लोकतान्त्रिक अभ्यासलाई मर्न दिएनन् । नेताहरुले एमालेभित्र ओलीले जबरजस्त विकास गर्न खोजेको मनमौजी प्रवृत्तिलाई तोडेरै छोडेका छन् । २०४६ पछि एमालेभित्र विकास हुँदै आएको लोकतान्त्रिक अभ्यासलाई रावलसहितका केही नेताको कारण तोडिएको छैन । यो एमालेको लागि निकै ठूलो शिक्षाको पाठ हो ।
ओलीले तयार गरेको सूचीका पात्रहरुले चुनावी प्रक्रियाबाट जित त हाँसिल गरेका छन् तर, उनीहरु सर्वसम्मत चयन हुन सकेनन् । जितेका कतिपय पात्र पनि निकै कमजोर मतले जित्ने अवस्थामा पुगे । पार्टीभित्रको लोकतान्त्रिक अभ्यासमा कार्यकर्ताहरुको मतलाई सम्मान गर्नु प्रमुख दायित्व हो । भलै प्रतिनिधि चयनमा लोकतान्त्रिक अभ्यासमा केही कमी देखियो । तर, महाधिवेशनको दौरान एमालेको विधि र विधानअनुरुप लोकतान्त्रिक अभ्यासले जित भने हाँसिल गरेको छ । यो एमाले र अन्य दलहरुको लागि पनि निकै ठूलो पाठ हो । यसले एकातिर कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने भन्ने बुझाईलाई स्वीकार गरेको छ भने अर्कोतिर, नेतालाई जबरजस्त कार्यकर्ताप्रति बफादार हुन सिकाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies