– झलक शर्मा
नेपाली पर्यटन क्षेत्रले विभिन्न चुनौतीहरुको सामना गरिराख्नु परेको छ । मुलुकमा दश वर्षे सशस्त्र द्धन्द्ध समाप्तिपश्चात देशमा पर्यटन र पर्यटनसँग सम्बन्धित कृयाकलापहरु बढ्दै गयो । पर्यटन क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीकर्ताको लगानी गर्ने चाहना वृद्धि हुँदै गएको थियो । तर २०७२ सालको विनासकारी भूकम्पले यस क्षेत्रलाई नराम्ररी गाँज्यो । ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुमा क्षति पुग्यो । देशमा आउन इच्छा गर्ने मानिसहरु त्रसित भए । त्यस्तै भुकम्प पछिको पूर्ननिर्माणको गतिविधि एवं संविधान निर्माण पछि पर्यटन क्षेत्रमा केही सुधार हुँदै आएको थियो । नेपालमा पर्यटकीय गतिविधि संचालन गर्न र मुलुकको अर्थतन्त्रलाई गतिशिल बनाउनका लागी नेपाल भ्रमण वर्ष २०२० को अभियान घोषणा गरिएको थियो । तर यही समयमा कोभिड–१९ को महामारीको संक्रमणले गर्दा सो कार्यक्रम रद्द गर्नु पर्ने अवस्था आयो । लामो समयसम्म भएको चरणबद्ध बन्दाबन्दीले गर्दा यस क्षेत्रको गतिविधिमा शुन्यता छायो । कैयौं पर्यटन व्यवसायीहरु टाट पल्टे, कैयौं व्यक्तिको रोजगार गुम्यो । सन् २०१९ मा नेपाल भित्रने पर्यटकको संख्या ११ लाख ९७ हजार १ सय ९१ जना रहेको थियो । सन् २०२० मा कोभिड–१९ को महामारीका कारण कुल पर्यटक आगमन संख्या २ लाख ३० हजार ८५ मा सीमित रहि अघिल्लो वर्षको सोही अवधिको तुलनामा करीब ८१ प्रतिशतले घट्न गएको छ । कोरोना भाइरसविरुद्धको खोपको उपलब्धता र संक्रमणको फैलावटमा कमी आएकोले अबका दिनमा पर्यटन क्षेत्रले गति लिनेमा विश्वास गर्न सकिन्छ । पन्ध्रांै योजनाअनुसार पर्यटन क्षेत्रबाट कुल ग्रार्हस्थ उत्पादनमा २.७ प्रतिशत योगदान रहेको छ । जसमा २ लाख व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । प्रति पर्यटक खर्च प्रति दिन ४८ अमेरिकी डलर रहेको छ भने उनीहरुको औसत बसाई १२.७ दिन रहेको छ । त्यस्तै चालु योजनाको अन्तिम वर्षमा विदेशी पर्यटक आगमन संख्या ३५ लाख पुग्ने अपेक्षित उपलब्धि रहेको छ । पर्यटकको सरदर बसाई अवधि १५ दिन र दैनिक खर्च १०० अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यही योजना अवधिमा ३ लाख ८२ हजार थप प्रत्यक्ष रोजगारीको अवसर सृर्जना भएको हुने र कुल ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुगेको हुने अपेक्षा राखिएको छ ।
नेपालमा सार्क मुलुक विशेषगरि भारतीय पर्यटकहरु बढी भित्रिने गरेका छन् । फस्टाउदै गरेको होमस्टे कार्यक्रमले ग्रामिण पर्यटकीय स्थलको प्रवद्र्धनमा ठुलो सहयोग पुग्दै आएको छ । बाह्य पर्यटक जति भित्राउन सकिन्छ त्यति नै देशले समृद्धिको मुहार फेर्ने गर्दछ । विदेशी पर्यटकबाट नेपालले आयआर्जन वृद्धि गर्नुका साथै देशमा रहेको विद्यमान बेरोजगारीको अवस्थालाई केही हदसम्म न्यूनिकरण गरेको छ । विदेशी पर्यटकसँग भएको सीप, अनुभव, रणनीतिक ज्ञान, प्राविधिक ज्ञान, विदेशी नीतिबारे विनिमय वा साटासाट गर्ने अवसर नेपालीहरुमा प्राप्त भएको छ । यस्ता थुप्रै अवसरहरु हुँदा हुँदै पनि हामीले पर्यटन क्षेत्रबाट लाभ लिन सकिरहेका छैनौं । समस्याहरुको चाङ बढ्दै गए पनि समाधान तर्फ ध्यान दिन सकिएको देखिँदैन ।
पर्यटन क्षेत्रलाई सहज र सरलरुपमा व्यवस्थापन गर्नका निमित्त थुप्रै संघ संस्थाहरु जन्मिएका छन् । संघ संसस्थाहरु केवल अगुवाको भूमिकामा देखिन्छन् भने कार्यान्वयन पक्ष कछुवाको गतिमा छ । प्रमुख चर्चामा रहेका पर्यटकीय स्थल बाहेक अन्य पर्यटकीय स्थल तथा गन्तव्यहरुको खोज अनुसन्धान गर्न सकिएको छैन । चुनावमा दलहरुले गरेको प्रतिबद्धता र उनीहरुले प्रकाशन गरेको घोषणापत्रअनुसार पर्यटन क्षेत्रको विकास गर्न पछि परेका छन् । अनावश्यक सिण्डिकेट हाबी भएको छ । पर्यटन व्यवसायीहरु होटल र ट्रेकिङ्ग व्यवसायमा बढी केन्द्रित रहेका छन् । व्यापारी र सरकारबिच समन्वयको अभाव छ । पर्यटकीय पूर्वाधारहरुको विकासमा सरकार बारम्बार असक्षम बन्दै गएको छ । पर्यटकलाई सहजरुपममा व्यवस्थापन गर्न विभिन्न देशका भाषाका विद्यालयहरु खुल्न सकेका छैनन् । पर्यटकहरुको सुरक्षाको प्रत्याभुति गर्न सकिएको छैन । हवाइ मार्ग झन् असुरक्षित बन्दै गएको छ । पर्यटकसँग असुल गर्ने चन्दा आतंक नियन्त्रण गर्न सकिएको छैन । पर्यटकीय स्थलहरुको व्यापक प्रचार प्रसार गर्न सकिएको छैन । पर्यटन उद्योगमा कार्यरत कर्मचारी तथा श्रमिकहरुको लागि जोखिमको मात्रा हेरी विभिन्न विमाहरु तथा आकस्मिक राहतको व्यवस्था हुन सकेको छैन । यस्ता समस्याहरु विद्यमान रहिरहे नेपालको पर्यटन उद्योग धराशायी बन्ने प्रवल सम्भावना देखिन्छ । यस्ता समस्याहरुलाई जरैबाट उखेल्न सके नेपालको पर्यटन उद्योग मौलाउदै जाने देखिन्छ ।
पर्यटन क्षेत्रको सुधार कसरी गर्ने ?
पर्यटन उद्योगलाई व्यवस्थित गर्न सरकार र पर्यटन व्यवसायीबिच समन्वय हुनु जरुरी छ । यसमा नागरिक समाजले पनि आफुले गर्न सकेको योगदानको अपरिहार्यता छ । कोरोना महामारीबाट प्रभावित भएका उद्यमीलाई उचित राहत तथा प्याकेज उपलब्ध गराउने एवं रोजगारी गुमाएका जनशक्तिलाई पुनस्र्थापना गराई रोजगारीको सुनिश्चितता गर्नुपर्दछ । पर्यटन नीति, २०६५ अबलम्बन गर्दै यस क्षेत्रको सुधार गर्नुपर्दछ । साहासिक पर्यटन र अन्य रमणिय पर्यटकीय गन्तव्यको खोजी गर्ने, दलहरुको पर्यटन उद्योगप्रति प्रतिबद्धताको कार्यान्वयन गर्ने । पर्यटकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाउने । हवाई सुरक्षालाई मध्यनजर गदै अध्ययन अनुसन्धान गर्ने । पर्यटन उद्योगमा संलग्न कर्मचारी तथा श्रमिकहरुलाई विभिन्न भाषामा दक्ष बनाउने तथा विभिन्न बीमाको व्यवस्था गर्ने, भैपरि आउने जोखिम निराकरण गर्न उद्धत रहने । व्यापक प्रचार प्रसार गरि धेरैभन्दा धेरै पर्यटक भित्र्याउने । वातावरण संरक्षण गर्न स्थानियलाई सचेत गराउँदै जनचेतना फैलाउने । जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिमलाई न्यूनिकरण गरी पर्यटकीय व्यवसायलाई निरन्तर चल्ने बनाउने । देशको मौसम पूर्वानुमान गरी हुन सक्ने विपद्का घटनाहरुलाई कम गर्न विभिन्न सूचना जारी गर्ने । पर्यटन क्षेत्रमा वैदेशिक लगानी भित्राउन तथा आकर्षित गर्न पहल गर्ने । पर्यटन उपजको विकासमा स्थानीय साधन र उत्पादनलाई प्रोत्साहन गर्दै स्थानिय जनसमुदायलाई आत्मनिर्भर बनाउने । पर्यटकीय क्षेत्रमा फोहोर मैलाको उचित व्यवस्थापन एवं प्रदुषणको नियन्त्रण गर्नमा जोड दिने । पदमार्ग मास्ने काम बन्द गर्ने । पर्यटकलाई वस्तु तथा सेवा वितरणमा समान मूल्य बनाउने । व्यवसायी व्यवसायीबिचको तिक्तता हटाउने । भौतिक पूर्वधार निर्माण गर्ने तथा आवश्यक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने । पर्यटन सूचना केन्द्रको व्यवस्था गर्ने । उल्लेखित विषयहरुको सुधारमा ध्यान दिन सकेमा नेपालमा पर्यटन क्षेत्रमा नयाँ आयाम थपिनेमा विश्वास गर्न सकिन्छ । त्यसैले सबै तह र तप्काका मानिसहरुले पर्यटन क्षेत्रको विकासमा आत्मसाथ गर्न सके नेपालको आर्थिक वृद्धि हुनुको साथै समुन्नत समृद्धि नेपाल निर्माण गर्न सहज पुग्दछ । कोभिड–१९ को महामारीले सिर्जना गरेको पर्यटकीय क्षेत्रको धरासाही तथा चुनौतीपूर्ण परिस्थितिको सामाना गर्दै पर्यटन क्षेत्रलाई गतिशिल तुल्याउनु राज्यको प्रमुख जिम्मेवारी हो ।
इमेल : sharmajhalakpkr@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies