काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा बुधबार भएको भेटमा विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारीताको विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । भेटका अवसरमा मन्त्री श्रेष्ठले नेपालको विकासमा विश्व बैंकले पुर्याउँदै आएको योगदानको लागि धन्यवाद दिँदै आगामी दिनमा लगानी थप प्राप्त हुने विश्वास गरिएको बताएका थिए ।
मन्त्री श्रेष्ठले विश्व बैंकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न योजनाहरुमा पुर्याउँदै आइरहेको सहयोग महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरोकारवलाहरुसँग बृहत छलफल गरी प्रभावकारी बनाइने जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विश्व बैंकबाट सहयोग प्राप्त छ । उक्त सहयोगले ठूलो योगदान दिइरहेको भन्दै मन्त्री श्रेष्ठले यसलाई प्रभावकारी बनाउन दीगो रोजगारीसँग जोडने, बेरोजगार, विपन्न तथा लक्षित वर्गका लागि उपयोगी किसिमका पूर्वाधार विकास गर्ने तथा बजारको माग अनुसार रोजगारी आपुर्ति गर्नेतर्फ काम अगाडि बढाउनुपर्ने बताएका छन् ।
श्रम रोजगारी तथा सीप तालिमलाई एकीकृत रुपमा संचालन गर्न स्थानीय तहमार्फत नमूना सेवा केन्द्रको संचालन गर्ने र सबै स्थानीय तहमा विस्तार गर्ने आफ्नो योजना रहेको बताउँदै मन्त्री श्रेष्ठले मन्त्रालयले राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको अवधारणा अघि सारेकोले त्यसमा विश्व बैंकबाट प्राविधिक सहायता प्राप्त हुने विश्वास व्यक्त गरेको पनि सचिवालयले जानकारी दिएको छ ।
बेरोजगार, गरीब र जोखिमपुर्ण अवस्थामा रहेका समुदायको उत्थानको लागि हाल संचालनमा रहेका विभिन्न सामाजिक सुरक्षा वा संरक्षण सम्बन्धि क्रियाकलापहरु एकीकृत रुपमा संचालन गर्ने योजना रहेको भन्दै मन्त्री श्रेष्ठले विभिन्न निकायबाट हुँदै आएका सबैखाले सीप तालिमहरुलाई एकत्रित रुपमा संचालन गर्ने तयारी गरिएकोले त्यसमा पनि विश्व बैंकसँग सहयोगको अपेक्षा गरिएको बताए । निर्देशक जर्भोसले नेपालमा थप रोजगारमुलक कार्यक्रम, यस सम्बन्धि आवश्यक नीति, क्षमता विकास तथा सेवा प्रवाहमा सुधार हुने गरी प्राविधिक सहायता परिचालन गर्न विश्व बैंक तयार रहेको जानकारी दिएको मन्त्रीको सचिवालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies