राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालको संविधान, २०७२ का मूलभूत विशेषताहरुलाई अस्वीकार गर्दै आएको छ । राप्रपाले गणतन्त्र, धर्म निरपेक्षता तथा संघीयताप्रति विमति जनाउँदै आएको छ । राजतन्त्र, हिन्दुराज्य, एकात्मक शासन प्रणालीजस्ता मान्यतालाई राप्रपाले आज पनि मान्दै आएको छ । राप्रपा प्रजातान्त्रिक व्यवस्था र महेन्द्रीय राष्ट्रवादलाई संस्थागत गर्न चाहन्छ । जुन मुद्दालाई कसरी संस्थागत गर्ने भन्ने बहस जारी राष्ट्रिय महाधिवेशनमा जोड रुपमा उठेको देखिन्छ । मुद्दाहरुसँग जोडेर राप्रपामा नेतृत्व परिवर्तनको समेत बहस चलेको छ ।
तर, राप्रपाले उठाएका मुद्दाहरुप्रति युवा पुस्तामा भने निकै विकर्षण देखिन्छ । राजसंस्था बिदाइ भएपश्चात जन्मेको पुस्ताले पनि त्यो व्यवस्थाको कल्पना गरेको छैन् । नयाँ पुस्ताले थप नयाँ कुराको खोजी गरेको प्रष्ट देखिन्छ । सत्तामा भएका र सत्ता बाहिर रहेका दलहरुका व्यवहारप्रति असन्तुष्ट नयाँ पुस्ताले उनीहरुका कमी कमजोरीलाई हटाउने नयाँ व्यवस्था खोजेका छन् । तर, राप्रपा युवापुस्ताको मनोविज्ञान अनुकुलन ढंगले बढ्न चाहेको देखिदैन् । तत्कालिन समय पार्टी स्थापना गर्दै गर्दा उसले जे–जस्ता मुद्दा उठाएको थियो, राप्रपा आज पनि त्यहि मुद्दामा अडिग छ । सशस्त्र र शान्तिपुर्ण आन्दोलनको माध्यमबाट व्यवस्था परिवर्तन गरेर नयाँ व्यवस्थामा मुलुक गइसकेको अवस्थामा राप्रपाले मुलुकलाई पुनः पुरानै बाटोमा लैजान गरेको प्रर्यत्न भने परिवर्तनकारीका निम्ति स्वीकार्न सक्ने विषय होइन् ।
समय गतिशिल छ । समयले नयाँ कुराको खोजी गरिरहेको छ । विद्यमान व्यवस्थामा भएका गलत प्रवृत्तिहरुको अन्त्य अनिवार्य छ । संघीय गणतन्त्रात्मक व्यवस्थाभित्रका गलत प्रवृत्तिलाई विस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ । तर वर्तमान व्यवस्थामा रहेका कमिकमजोरीको विषयहरुलाई लिएर आजको पुस्ता यसलाई भत्काउन भने चाहँदैन् । बरु वर्तमान व्यवस्थाभित्र रहेका कमीकमजोरीलाई हटाएर थप अग्रगामी व्यवस्था निर्माण गर्ने प्रयत्न गर्नु आजको आवश्यकता हो । वर्तमान संसदीय प्राणाली र मिश्रित निर्वाचन प्राणालीलाई सुधार गर्नुपर्ने अवस्था रहेको यसले पैदा गरेका खराबीहरुले देखाएको छ । दिगो, जनमुखी, समृद्धि लक्षित र शुसासनमुखी बलियो व्यवस्था निर्माणका लागि प्रत्यक्ष राष्ट्रपतीय निर्वाचन प्रणाली र पुर्णं समानुपातिक निर्वाचन प्रणालीको बहस गर्नु यतिबेलाको सान्दर्भिक बहस हुनसक्छ ।
सबैको सदिक्षा छ, राप्रपाको आगामी नेतृत्व नयाँ एजेण्डालाई बोक्ने खालको होस् । व्यवस्थाभित्र देखिएका गलत प्रवृत्तिहरुको समाधान खोज्ने खालको होस् । आज राष्ट्रियता र जनजिविकाका मुद्दामा उठेका प्रश्नलाई सम्बोधन गर्ने खालको नेतृत्व राप्रपाभित्र उदाओस् भन्ने कामना सबैको छ । समाज फेरि पछाडि फर्कन चाहन्न भन्ने कुरा राप्रपाको नेतृत्वले बुझोस् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies