तरुणा जोशी/मध्यान्ह
बझाङ : लागूऔषध चरेससहित पक्राउ परेपछि प्रहरी अनुसन्धानको क्रममा हिरासतमा रहेकी एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् । मंसिर १४ गते २८ किलो चरेससहित पक्राउ परेकी जयपृथ्वी नगरपालिका वडा नं ३, की कल्पना रोकायाले झुण्डिएर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धानको लागि दोस्रो पटक म्याद थप गर्ने तयारी हँुदै गर्दा शौचालय जाने बहाना बनाएर उनले जिल्ला प्रहरी कार्यालयको हिरासतको शौचालय भित्रै झुण्डिएकी थिइन् । आफुले प्रयोग गर्ने गरेको तौलियालाई शौचालयको भेन्टिलेसनमा रहेको रडमा बाँधेर उनले आत्महत्याको प्रयास गरेको बझाङका प्रहरी प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले मध्यान्हलाई बताए ।
‘पहिले नै योजना बनाएकी रहेछिन्’ विष्टले भने ‘पासो लाउन प्रयोग गरेको तौलिया लचकदार भएकोले उनको ज्यान जान पाएन’ रोकायाले पासो लगाइसकेपछि चिच्याएको सुनेर त्यहाँ रहेका महिला प्रहरीहरुले शौचालयको ढोका फोरेर उनको उद्धार गरेको विष्टले बताए । तौलिया लचकदार भएको कारण तन्किएर भुई छोएकोले उनको ज्यान बचेको विष्टको भनाई छ ।
उनको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । केहीबेरको उपचार पछि होस् आएको र उनको अवस्था खतरामुक्त रहेको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए । ‘अहिले होस् आइसकेको छ । दुई, तीन दिन अरु निगरानी गरेपछि डिस्चार्ज हुन्छ’ खड्काले भने ।
रोकायाले हिरासतमा फेरी पनि आत्महत्याको प्रयास गर्न सक्ने भएकोले प्रहरीले विशेष निगरानी गर्ने डिएसपी विष्टले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies