– अवतार ढकाल
“ल नानी बाबुहरु । भोलि स्कुल बिदा । तिमीहरु सबैजनाले आफ्नो आमाको मुख हेर्नु । राम्रा राम्रा उपहार दिनु र दिनभर आमासँगै बस्नु है । अनि भोलि त आमासँग झगडा गर्ने, उहाँलाई दुःख दिने जस्ता काम गर्नु हुन्न नि ।” अन्तिम घण्टीको पढाइ सकिन लागेपछी कक्षा चारका विद्यार्थीहरुलाई सम्झाउँदै सविता मिसले भनिन् ।
सबै विद्यार्थीहरु खुसीले चिच्याए । दोस्रो बेन्चमा बसिरहेको एउटा नयाँ विद्यार्थी अँध्यारो अनुहार लगाएर बसिरह्यो ।
भोलि बिदा । पाले दाइको टुपी सिधा । घण्टी लाग्ने बित्तिकै तँछाड मँछाड गर्दै सबै विद्यार्थीहरु बाहिर निस्किए । कक्षाबाट सबैभन्दा पछि निस्केको त्यही विद्यार्थीलाई मिसले सोधिन्, “विकास तिमीलाई के भको छ ? स्कुल बिदा भको मन पर्दैन हो ?”
“मनपर्छ । तर भोलि चाहिँ ...।” उसले भन्यो ।
“भोलि त झन आफ्नो आमाको मुख हेर्ने दिन हो नि ।” उनले सम्झाइन् ।
“म्याम मेरो ममि हुनुहुन्न । ममि भको भए पो मुख हेर्नु । बाबा र म मात्र कोठामा बस्छौं ।” उसले झन मलिन अनुहार बनाउँदै भन्यो ।
“अनि ममि नि ?” उनले सोधिन् ।
“खै ? हामीलाई छाडेर विदेश जानु भको रे । आउनु भएन ।” आँखाभरी आँसु पारेर उसले भन्यो । उसँग कुरा गर्दा गर्दै सविता एक्कासी भावुक भइन् ।
“अनि ममिको नाम नि ? फोटो देखेको छौ?” उनले सोधिन् ।
विकासले टाउको हल्लाउँदै छैन भन्यो ।
“उसो भए मलाई ममि मानेर मेरो मुख हेर न त ।” भावनामा डुबेर उनले भनिन् ।
उसले उनको अनुहारमा एकछिन हेर्यो र भन्यो, “अनि हजुरका आफ्नै छोराछोरी छँदै छन् होला नि ।”
“छैनन् । मेरो बिहा त गरेको छैन ।” उनले भनिन् ।
अनुहार उज्यालो बनाउँदै उसले “हुन्छ” भन्यो ।
सविता एकाएक सोच मग्न भइन् ।
“ममी .... ए म्याम ! उ मेरो बाबा आउनुभयो मलाई लिन । गेटतिर औंला देखाउँदै विकासले भन्यो ।
सविताका आँखा गेटमा पुगे । नौ बर्ष अगाडि उनलाई धोका दिने उनकै पुर्व प्रेमी उनीतिरै हेरिरहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies