२०८२ कार्तिक १६ गते आइतवार / Nov 02 , 2025 , Sunday
२०८२ कार्तिक १६ गते आइतवार
Ads

जेलेन्स्कीसँग तुलना गरिएका बालेन

shivam cement
नारायणप्रसाद पौडेल
२०८२ कार्तिक १६ गते ०६:००
जेलेन्स्कीसँग तुलना गरिएका बालेन

विश्व राजनीतिमा कहिलेकाहीँ परम्परागत दल वा पुराना नेताभन्दा बाहिरका व्यक्तिहरू अचानक उदय हुन्छन् । जनअसन्तुष्टि, सांस्कृतिक प्रभाव र लोकप्रियतावादको लहरलाई आधार बनाएर यी व्यक्तिहरू सत्तामा पुग्छन् । यस्तै उदाहरण युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नेपालको काठमाडौं महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ हुन् । दुवैको राजनीतिमा प्रवेशको शैली, लोकप्रियताको स्रोत र सम्भावित पतनका कारणबीच उल्लेखनीय समानता देखिन्छ ।

राजनीतिमा प्रवेशको शैली

जेलेन्स्कीले ‘सरभेन्ट अफ द पिपुल’ नामक टेलिभिजन सिरियलमार्फत ‘साधारण मानिसबाट राष्ट्रपतिको भूमिकामा पुगेको पात्र’ अभिनय गरे । यही भूमिकाले उनलाई जनमानसमा भ्रष्टाचारविरुद्धको प्रतिमूर्तिका रूपमा स्थापित गर्‍यो । राजनीतिक दलमा लामो संघर्ष नगरी, सांस्कृतिक लोकप्रियता र जनअसन्तुष्टिलाई आधार मानेर उनी सत्तामा पुगे । ठिक त्यसैगरी बालेन– र्‍यापर, अभियन्ता र स्वच्छ छविका रूपमा स्थापित हुँदै दलहरूको भ्रष्टाचार र असक्षमताविरुद्ध युवा पुस्ताको आवाज बने । लोकप्रियता, सामाजिक सञ्जालको पहुँच र जनअसन्तुष्टिलाई आधार बनाएर उनी काठमाडौं महानगरपालिकाको मेयरमा अनौठो शैलीमा निर्वाचित भए । यसरी, दुवै नेताको उदय सांस्कृतिक प्रभाव र जनअसन्तुष्टिको संयोजनबाट भएको देखिन्छ अर्थात् दुवैको राजनीतिमा प्रवेश गर्ने शैलीमा एकरूपता पाइन्छ ।

चुनौती र असफलताको सम्भावना

जेलेन्स्कीले निम्त्याएको युद्धको विनाश अर्थात् रूस–युक्रेन युद्धले युक्रेनको भौतिक संरचना, अर्थतन्त्र र सामाजिक संरचनामा पारेको गम्भीर असर परेको छ । सँगै, पश्चिमी मुलुकहरुको इसारामा चल्ने अवस्था बनेको छ । लामो युद्धले युक्रेनलाई ‘रणभूमिमा अल्झाइदिएको’ कारण बढ्दो जनअसन्तुष्टि, भूमि लुटिनुको पीडा, युवा पुस्तामा युद्धले पारेको मानसिक प्रभाव (खुट्टा काट अभियान : युद्धको डरले आफ्नै खुट्टा काटेर युद्धको सन्त्रासबाट जोगिने) र भूमिगत प्रदेश गुमाउनुपरेको पीडाले जेलेन्स्कीको लोकप्रियता कमजोर हुँदै गएको छ ।

नेपालको सन्दर्भमा बालेनको डिजिटल आदेशमा सञ्चालित ‘जेनजी आन्दोलन’ले युवाको ऊर्जा र असन्तुष्टिलाई राजनीतिक आन्दोलनमा परिणत त गर्‍यो, तर भौतिक उपस्थितिबिहीन नेतृत्वका कारण त्यस आन्दोलनमा अराजकता, असंगठितता, स्वार्थसमूहको घुसपैठ र विदेशी हस्तक्षेपको आशंका आज विभिन्न ‘जेनजी’ समूहका नेता र सञ्चारमाध्यममा खुलमखुल्ला सार्वजनिक हुँदै आएका छन् । यसले बालेन स्वयंलाई पनि यदि आन्दोलन सफल नहुने, आन्दोलनका मूल उद्देश्य पूरा नहुने वा बाह्य शक्ति केन्द्रसँग जोडिएको आरोप यसरी नै अझै पुष्टि हुँदै जाने हो भने यही आन्दोलन उनको राजनीतिक पतनको कारण बन्न सक्छ भन्ने कुरा ‘जेनजी’कै विभिन्न समूहले बताएका छन् । अर्को अर्थमा, दुबैको राजनीतिक पतनको कारणमा पनि एकरूपता नै हो कि भन्ने पर्याप्त आधारहरू भेटिन थालेका छन् ।

यसरी विश्लेषण गर्दा दुबै नेताका समानताका बिन्दुहरू यसरी पनि प्रस्तुत गर्न सकिन्छ– 

१. राजनीतिमा प्रवेश : परम्परागत दलबाट होइन, सांस्कृतिक प्रभाव र लोकप्रियतावादबाट ।
२. लोकप्रियताको कारण : जनअसन्तुष्टि, दल र नेताप्रतिको आक्रोशलाई भजाएर ।
३. बाह्य प्रभावको आरोप : जेलेन्स्कीमाथि पश्चिमी हस्तक्षेपको, बालेनमाथि विदेशी उक्साहटको ।
४. सम्भावित पतन : युद्ध र आन्दोलन—दुवै नेताको पतनको आधार बन्न सक्ने ।

बालेन साह र भोलोदिमिर जेलेन्स्की राजनीतिक इतिहासमा फरक मुलुक र सन्दर्भका पात्र भए पनि प्रवेश शैली, जनअसन्तुष्टि, बाह्य शक्ति प्रभाव र सम्भावित पतनका कारणमा उल्लेखनीय समानता देखिन्छ । युक्रेनमा युद्धको खरानीले जेलेन्स्कीलाई कमजोर बनाएको छ भने नेपालमा जेनजी आन्दोलनको असफलता वा विदेशी प्रभावले बालेनलाई चुनौती दिन सक्छ । यसरी, दुवै नेताको राजनीतिक यात्रा जनताको आशा र पीडाको तराजुमा नापिने देखिन्छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर