काठमाडौं राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सातौं चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । हिमालनय शेर्पालाई जीत दिलाउन कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरे ।
उनले खेलको ४४औं मिनेटमा पेनाल्टीमार्फत गरेको एक गोल नै हिमालयन शेर्पाका लागि निर्णायक गोल सावित भयो । खेलको ४२औं मिनेटमा सातदोबाटोका पिटर सेगुनले पेनाल्टी क्षेत्रमा त्रिदेव गुरुङलाई फाउल गरेपछि रेफ्री प्रज्ज्वल क्षेत्रीले हिमालन शेर्पालाई पेनाल्टीको अवसर दिएको थियो । जसमा विश्वासले गोल गरे ।
यस्तै खेलको इन्जुरी समयमा सातदोबाटोले पनि पेनाल्टीको अवसर पाएको थियो । तर सातदोबाटोका मार्टिन सिलोले पेनाल्टीमा गोल गर्न सकेनन् । यस जीतसँगै हिमालयन शेर्पाले सात खेलमा ११ अंक जोडेको छ । हिमालनय शेर्पा अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ । यसअघि हिमालयन शेर्पा नवौं स्थानमा रहेको थियो । शेर्पाले सातौं चरणको खेल सकिँदासम्म तीन जीत, दुई बराबरी र दुई हारको नतिजा निकालेको छ ।
समान सात खेल नै खेलेको सातदोबाटोको भने आठ अंक रहेको छ । पराजित सातदोबाटो अंक तालिकाको आठौं स्थानमा झरेको छ । सात खेलमा सातदोबाटोले दुई खेलमा जीत, तीन खेलमा हार तथा दुई खेलमा बराबरीको नतिजा ल्याएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies