नारायणहिटी दरबार संग्राहलय परिसरमा रेष्टुरेन्ट चलाउन दिने निर्णय र सञ्चालनको तयारीबारे प्रति अर्को आलोचना भयो । बतास कम्पनीले प्रतिरोपनी ५० हजार भाडामा संग्राहलय परिसरमा रेष्टुरेन्ट सञ्चालनको तयारी गरेको थियो । तर चर्को आलोचनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले रोक लगाएको छ । मन्त्री प्रेम आलेको निर्देशनमा रेष्टुरेन्ट सञ्चालनको तयारीमा रोक लगाउनुको साथै छानबीन समिति पनि बनाइएको छ । पर्यटन महाशाखाका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतामा पाँच सदस्य छानबीन समिति बनेको छ । यो समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश समेत दिइएको छ । अतः ऐतिहासिक संग्राहलय परिसरमा रेष्टुरेन्ट सञ्चालन गर्ने प्रक्रिया तत्काललाई टरेको छ । छानबीन समिति बनेकाले प्रतिवेदनपछि थप निर्णय हुने अनुमान गर्न सकिन्छ ।
तर यो प्रकरणमा राजनीतिक नेतृत्व समेत जोडेर आलोचना र चर्चा भइरहेको छ । त्यसमा तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईको पनि आलोचना भइरहेको छ । भट्टराई मन्त्री र यादवप्रसाद कोइराला सचिव हुँदा संग्राहलय परिसरमा रेष्टुरेन्ट सञ्चालनको अनुमति दिइएको थियो । त्यसैले भट्टराईलाई यो प्रकरणमा जोडेर हेरिएको छ । भट्टराईले भने आफ्नो हस्ताक्षर देखाउन चुनौती दिएका छन् । रेष्टुरेन्ट सञ्चालनको अनुमति दिइरहदा भट्टराईको मौखिक सहमति रहेको सरकारी दावी छ । यो प्रकरणमा थप अर्का शीर्ष नेता पनि जोडिन पुगेकी छन् । बतास समूहको सल्लाहकार प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य आरजु राणा रहेको सार्वजनिक भयो ।
लगत्तै राणाले बक्तव्य जारी गरेर बतास समूहमा आफ्नो संलग्नता नरहेको प्रष्टोक्ति दिएकी छन् । भट्टराई र राणामाथि लागेको आरोप अनि दिइएको प्रष्टोक्तिको परीक्षण छानबीन समितिको प्रतिवेदनपछि प्रष्ट हुनेछ । तर संशय भने कायमै रहनेछ । किनकि सार्वजनिक सम्पत्तिमा शीर्ष नेतृत्व र विचौलियाको संलग्नतामा ठूलो अपचलन भएको तथ्य एकपछि अर्कोगरी सार्वजनिक हुँदै आएको छ । ललिता निवास जग्गा प्रकरण अहिले ठूलो प्रकरण र चासोको विषय बन्दै आएको छ । त्यसबाहेक राजनीतिक नेतृत्वकै मिलेमतोमा सार्वजनिक सम्पत्ति अपचलन हुने अरु घटनाहरु समेत सार्वजनिक हुँदै आएको छ । तसर्थ, बतास समूहको निष्पक्ष छानबीन र आवश्यक निर्णय लिनु आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies