सुमन महतारा/मध्यान्ह
गुल्मी : नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले नेपाली कांग्रेस विपन्न, गरिब र दलित समुदायको पार्टी भएको बताएका छन् ।
मंगलबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ मर्भुङ्गमा ‘गुल्मी कांग्रेसको अठोट: सवल वडा सक्षम टोल’ भन्ने मुख्य नारासहित गुल्मी कांग्रेसको अभियानको शुभाराम्भ गर्दै सभापति पन्थीले नेपाली कांग्रेस विपन्न, गरिब र दलित समुदायको पार्टी भएको बताएका हुन् ।
'अहिले हाम्रो समाजमा दलितको श्रम, सीप र रगत चल्छ । पानी नचल्ने अपराध गर्न कसैलाई छुट छैन,' पन्थीले भने । पटक–पटक मन्त्री बन्दा खोलामा एउटा पुल बनाउन नसक्नेले गफ मात्र सुनाएको भन्दै उनले प्रतिपक्षको गफ र प्रलोभनमा नपर्न आग्रह गरे । उनले आफ्नो पहलमा तम्घास सिमलटारी सडकखण्डमा पक्की पुल बन्न लागेको बताए ।
अभियानको शुभारम्भ कार्यक्रममा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा ’ख’ का सभापति रेखाकुमार जिसीले मालिका गाउँपालिका पूर्णरुपमा असफल भएको बताए । चुनावमुखी योजना र बजेटको भ्रममा नपर्न जिसीले आग्रह गरे । उनले अहिले निर्वाचित जनप्रतिनिधिहरुले ४ वर्षसम्म मनपरी दास बनाएर अहिले प्रलोभनमा पार्न थालेको भन्दै त्यसको अन्त्य गर्न सबैलाई आग्रह गरे ।
त्यस्तै मालिका गाउँपालिकाका सभापति उपेन्द्र अर्यालले कम्युनिष्टहरुले भोट किनेर चुनाव जितेको आरोप लगाए । उनले स्थानीय तहको निर्वाचन नजिक आएको कारणले विभिन्न प्रलोभन देखाएर कम्युनिस्टहरुले दास बनाएकोले त्यसबाट उम्किन आवश्यक रहेको बताए ।
कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी दर्जनौं कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सचिव लालमणी भण्डारी, मालिका गाउँपालिका सभापति उपेन्द्र अर्याल, उपसभापति दिपक भण्डारी, क्षेत्रीय सदस्य ओमप्रकाश अर्याल साथै वडा सभापति लगायतको उपस्थिति रहेको थियो ।
अभियानको लागि जिल्लाका ९३ वटै वडामा जिल्ला तहका नेताहरुलाई प्रतिनिधिकारुपमा खटाएर एकैसाथ अभियानको शुभारम्भ गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies