काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभा र कार्यसमिति निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । मुलुकभर कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढेपछि संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति लिई साधारणसभा र निर्वाचनको कार्यक्रम अनिश्चितकालीनरूपमा स्थगन गरेकोे बताएको छ ।
संघले नयाँ कार्यसमितिको निर्वाचनका लागि गठन गरेको निर्वाचन समिति पनि विघटन गरेको बताएको छ । निर्वाचन समिति विघटनसँगै कार्यसमिति निर्वाचनका लागि बुधबारसम्म भएका सबै प्रक्रिया शुन्य भएका छन् ।
संघको १७ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रगतिशील वैदेशिक रोजगार व्यवायी मञ्चद्वारा प्रस्तावित फ्युचर स्टार म्यानपावर प्रा.लि.का सञ्चालक हरि बहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चद्वारा प्रस्तावित हेराल्ड इन्टरनेशनल प्रा.लि.का सञ्चालक प्रमेश्वर अधिकारी र महासचिवमा एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव इम्प्लोइमेन्ट लिंक प्रा.लि.का सञ्चालक मधुकर रिजालको मात्र उम्मेद्वारी परेका कारणले उनीहरू निर्विरोध निर्वाचित हुने अवस्था थियोे ।
राजनीतिक दल निकट वैदेशिक रोजगार व्यवसायीका पाँच संस्थाबीच संघको आगामी निर्वाचन निर्विरोध नेतृत्व चयन गर्ने सहमति भएको थियोे । तर उम्मेद्वारी दर्ता गर्दा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र नेपाल गणतन्त्रान्त्रिक वैदेशिक रोजगार व्यवसायी निकट व्यवसायीबाट सहमतिभन्दा फरक तरिकाले उम्मेद्वारी दर्ता हुँदा सहमतिको प्रयास जुटेको थिएन ।
अध्यक्ष पदमा गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रा.लि का सञ्चालक भुवन सिंह गुरुङ र मञ्चका पूर्व अध्यक्ष रोज ओभरसिज प्रा.लि.का सञ्चालक राम प्रसाद भान्तना, तृतीय उपाध्यक्षमा ओभरसिज इम्प्लोइमेन्ट प्रा.लि.का सञ्चालक अख्तर हुसैन र संघका कार्यसमिति सदस्य डाइनामिक स्टाफिङ सोलुसनका सञ्चालक कर्ण राज कटुवाल, सचिवमा एसोसिएसनका पूर्व अध्यक्ष बाबा ह्युमनका सञ्चालक प्रज्ञान न्यौपाने र गुगल ओभरसिजका केशवराज न्यौपाने र कोषाध्यक्षमा नौकरी नेपालका सञ्चालक तथा एसोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकाल र संघकी वर्तमान कोषाध्यक्ष सि.एस.टी सिजन सर्भिसकी सञ्चालिका इन्दिरा गुरुङको उम्मेद्वारी दर्ता भएको थियो । तर अन्तिम अवस्थामा गुरूङले उम्मेद्वारी फिर्ता लिएकी थिइन् ।
कार्यसमिति सदस्यहरुमा एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनद्वारा प्रस्तावित कन्फिडेन्ट म्यानपावरका सञ्चालक अनिल बोगटी, सुर्खेत ओभरसिजका गणेश कुँवर र आयुष ओभसिजका कामेश्वर साह (राहुल), गणतान्त्रिक मञ्चद्वारा प्रस्तावित इम्प्लोइमेन्ट ह्युमन रिसोर्सका सञ्चालक केदारनाथ अधिकारी, उज्यालो ओभरसिजका चन्द्र बहादुर लिम्बु, प्रगतिशील मञ्चका तर्फबाट एसिया लिंक सर्भिसेजका मिलन कट्टेल, सल्मा एचआरका सोम बहादुर तामाङको उम्मेद्वारी दर्ता भएको थियो ।
एसोसिएसनका तर्फबाट मोहम्द जुनैद (खोजी रिक्रुटमेन्ट), जंग बहादुर इजम (एलन ओमर्सिज), राजेन्द्र अधिकारी (जेजे ह्युमन), हर्क बहादु लिम्बु (इसिएस इम्प्लोइमेन्ट), कैलाश पाठक (सिल्भर कर्नर), प्रेम राज लावती (एडभान्स रिक्रुटमेन्ट), प्रकाश बोहरा (मार्स म्यानपावर), नगेन्द्र प्रसाद पोखरेल (नबिन) (पुकार इन्टरनेसनल), बिक्रम श्रेष्ठ (शुभहारती म्यानपावर), लक्ष्मण पौडेल (त्रिवेणी ओभरसिज), बिजय कुमार कार्की (इम्पायर इन्टरनेसनल), ऋषिराम कडेल (आर बी ओभरसिज)को उम्मेद्वारी परेको थियो ।
सदस्यमा उम्मेद्वारी दर्ता गराएका पोखरेल, लिम्बू, श्रेष्ठ र जुनैद एसोसिएसनका आधिकारिक उम्मेद्वार थिए । धेरै उम्मेद्वारी दर्ता भएपछि एसोसिएसनले निर्धारित समयभित्र उम्मेद्वारी फिर्ता नलिने उम्मेद्वारहरूलाई अनुशासनको कारबाही गर्ने चेतावनीसमेत दिनु परेको थियोे ।
सहमति नबन्दा दुःखी : तामाङ
संघका कार्यवाहक अध्यक्ष कमल तामाङले सर्वपक्षीय सहमतिपछि पनि उम्मेद्वारी दर्तामा सो अनुसार नहुनु अत्यन्तै दुःखद् भएको बताए । सहमति जुटाउन नै पटकपटक उम्मेद्वारी फिर्ता लिने समय थप गराएको भन्दै कार्यवाहक अध्यक्ष तामाङले आफू कोरोनाको पीडाबाट गुज्रिएका व्यवसायीहरूलाई राहत दिनका लागि विगत हप्ता दिनदेखि अनवरतरूपमा सहमति जुटाउन लागेको बताए ।
सहमतिको उच्चतम प्रयास गर्दागर्दै अध्यक्षमा सहमति नजुट्नु नै चिन्ताको विषय भन्दै उनले कार्यसमितिको अवधि लम्ब्याउन निर्वाचन सारेको आरोप लगाउनु पूर्वाग्रही दृष्टिकोण भएको बताए । ‘पदको आकांक्षी रहेको भए स्वतः अध्यक्षको उम्मेदवार बन्ने अवस्थामा सर्वपक्षीय सहमतिको मेहनतमा लाग्नु किन पर्थ्यो ? अध्यक्षमा सहमति भएको भए कार्यसमितिका अन्य पदमा स्वतः सहमति हुने अवस्था थियोे,’ उनले भने, ‘माथि नै नमिल्दा समस्या भयो । सहमति विपरीत अध्यक्षमा उम्मेद्वारी दिएका रामप्रसाद भान्तनालाई सहमतिमा ल्याउन पहल नगर्नेले मलाई आरोप लगाउनुको अर्थ छैन ।’
पद लम्ब्याउन संघमा ‘कू’
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा र निर्वाचन अन्तिम समयमा रोकिनु पद लम्ब्याउन संघमा ‘कू’ गरिएको आरोप लगाएको छ । मञ्चका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारीले लोकतान्त्रिक एसोसिएसन भित्र अध्यक्षको उम्मेद्वारप्रतिको अस्वीकार्यका कारणले सहमति भाँडिएको टिप्पणी गरे ।
मञ्चका पूर्व अध्यक्ष तथा प्रथम उपाध्यक्षका उम्मेद्वार रहेका हरि बहादुर पाण्डे क्षेत्री आफुले निर्वाचन स्थगित नभई यो संघ नेतृत्वको प्रतिगामी कदममा जुटेको र सहमति माथि भएको कुठाराघातको रूपमा लिएको बताए । संघ कार्यसमितिलाई निर्वाचन समिति भंग गर्ने अधिकार नभएको भन्दै निर्वाचन नगराउने संघको कदमलाई व्यवसायीले मुल्यांकन गर्नुपर्ने माग गरे ।
मञ्चका महासचिव डिक बहादुर खत्री (कुमार)ले निर्वाचन रोक्ने काम आफ्नो नेतृत्व लम्ब्याउन संघ कार्यसमितिको सुनियोजित कदम र व्यवसायी विरोधी सिन्डिकेट स्थापित गर्ने प्रपञ्च भएको दाबी गरे ।
सहमति प्रयास जारी राखिने : एसोसिएसन
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि व्यवसायी एकतालाई निरन्तरता दिनुपर्ने बताएको छ । सहमति नहुनुमा एसोसिएसन नेतृत्वको कुनै कमजोरी नरहेको भन्दै केही व्यवसायी विरोधी केही तत्वका कारणले समझदारी पछि पनि सहमति कार्यान्वयनमा बाधा उत्पन्न गराइएको भन्दै अध्यक्ष ढकालले गुट तथा फुटपरस्त व्यवसायीलाई आम व्यवसायीले चिन्नुपर्ने अवस्था आएको एसोसिएसनको धारणा रहेको बताए । एसोसिएसनको बैठकपछि एसोसिएसनको थप धारणा सार्वजनिक गरिने पनि उनको भनाइ थियोे ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका सल्लाहकार कमल सापकोटाले संघको साधारणसभा र निर्वाचन हुन नसक्नुको कारणबारे समीक्षा भइरहेको भन्दै यस पटक निर्वाचन नभएपनि वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान गर्न सहमति र सहकार्यलाई निरन्तरता दिनुपर्ने पक्षमा संगठन रहेको बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी महिला संघकी अध्यक्ष सीता देवकोटाले सहमतिको नेतृत्व खोज्नु नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको गलत कार्य भएको टिप्पणी गरिन् । निर्वाचनमा एसोसिएसनको तर्फबाट अध्यक्षमा प्रस्तावित गुरूङले भने कुनै प्रतिक्रिया दिएनन् ।
अधिवक्ता देवराज कटुवालले व्यवसायी संघ भन्दा दलगत, जाती, धर्म, वर्ण, भेग र लिङ्गका आधारमा खोलिएका संस्था हाबी भएकाले संघको भूमिका केवल वैदेशिक रोजगार ऐनमा मात्र सीमित पारिएको परिणाम भएकाले खासै फरक नपार्ने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies