– अच्युतप्रसाद पौडेल ‘चिन्तन’
देशभरि दिवसै दिवस मनाइन्छ, दिन दिनै पर्छ दिवस । तर, राष्ट्रिय एकता दिवसमा देशले एक दिन बिदासम्म दिन सकेन । विगतदेखि भएको प्रथालाई समेत खारेज गरियो । बिदा दिन माग गरिएको छ तर, यो पंक्ति तयार गरुन्जेल यसले सार्थकता पाएको छैन । यद्यपि यो देश अहिलेसम्म कसैको अधिनमा छैन । विश्वमा एक्लै वीर गोर्खालीको नामले चिनिएको देश अहिले आयातमुखी र धेरै हदसम्म परमुखी र औपनिवेशिकतामा रहेको भान हुन्छ । भाषा, भेषभुषा, रहन सहन, अर्थ प्रणाली राजनैतिक प्रणाली केमा छैन औपनिवेशिकता यहाँ ?
राष्ट्रिय मुखपत्र दैनिकमा ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामय, सर्वे भद्राणी पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत्’ भनी प्रकाशन हुन्थ्यो तर, हटाइयो । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि’ भनिन्थ्यो त्यो पनि छैन । वालकृष्ण समले भनेका थिए देशभक्ति त मर्दैन चुत्थै देश भए पनि । यो देशको एकीकरण कसले गरेको होला, कसैलाई सम्झनै नपर्ने ? के हामी आकाशबाट झरेका हौँ ? हाम्रो वीर पुर्खा छैन ? कहाँ छ हाम्रो इतिहास ? कति थियो हाम्रो सिमाना, अहिले पनि सिमाना मिचिएको छैन र ? दिव्योपदेशको किन चर्चा नै हुन्न, त्यहाँ घरेलु, कुटीर उद्योग अनि विदेशीलाई गर्नुपर्ने व्यवहार छैन ? के अहिले जस्तो विदेशीको शरणमा रहनु पर्ने भनिएको थियो र ? हो, अहिले मुलुकको राष्ट्रियता कमजोर भएको छ । सुगौली सन्धिपछि कायम भएको मेची महाकाली भूगोल हामीले दरिलो र भरिलो बनाउनु पर्ने हो, तर राजनैतिक रडाको छ । देशलाई चिरा चिरा पारिएको छ । भागवण्डा गरिएको छ । यति सानो देशमा राजनैतिक संयन्त्रहरु अनगिन्ती छन् । नेपालीहरु लाखौँ विदेशमा भाँडा माभ्mदै छन् । एउटै भवनमा ५/५ वटा मन्त्रालयहरुको साइनबोर्ड राखेर के जात्रा देखाएको हो, राजनैतिक व्यक्तिहरु देश बाहिर गएर बाहिरकालाई भित्र ल्याउनु पर्ने बेला भएन र ? कसको लागि राजनीति गरिएको हो, के यसअघि कसैले यो देश चिनेकै थिएन र ? श्री ३ हरुको १०३ को शासन त ढल्यो भनेपछि अहिलेको जर्जर अवस्थाबाट देशले त्राण नपाउने, विदेशीको झोला कति दिन हेर्ने, स्वदेशी उत्पादन खोइ ?
सीमा विवादको प्रसंग खुलेर बाहिर आएको छ । भाइचाराको सम्बन्ध दक्षिण हाम्रो मितेरी साइनो मजबुत हुनुपर्छ । सुगौली सन्धिपछि मुलुकमा भक्तिधाराको प्रवाह बढेको हो । भानुभक्तले रामायणलाई त्यतिकै लोकभाषामा उजागर गरेका होइनन् । राष्ट्रियताको मियो राजनीतिमै हुन्छ । केही दशक यतादेखि राजनीति रंगकर्मीहरुको थलो बनेको छ । भारतीय जमीन खासगरी दिल्ली सानोतिनो झरीमा पनि दिल्लीको छाता नओढी सुख छैन । चालु नयाँ राजनैतिक परिवेशको सुत्रपात बाह्रबुँदे सम्झौता दिल्लीमै भएको थियो । नेताहरुले उतै पढे, उतै हुर्के, उतै साथीभाइ बनाए । खानपिन, बस् उठ्, रहनसहन उतैतिर सिकियो । यताबाट निर्वासित हुँदा होस् वा स्वतन्त्र जीवन यापन गर्दा होस्, भाषा संस्कृतिले डो¥याएर होस् सामाजिक परिवेश बिहाबारी, लेनदेन, आर्थिक लेनदेन बजार विविधीकरण या भनौं धार्मिक, सांस्कृतिक परिवेशले नेपाल भारतको सम्बन्ध पुरानै युगदेखि प्रगाढ रहिआएको छ । उत्तरतिर भृकुटीको नामले दक्षिणतिर सीताको नामले पनि धार्मिक, अध्यात्मिक क्षेत्र, नारायणी, विश्वनाथ होस् या पशुपतिनाथ, चारैधाम होस् या द्धादश ज्योति लिंग, पिण्ड पानीदेखि मूंक्ति क्षेत्रसम्म जनकपुर होस् या अयोध्या नेता वी.पी, जी.पी.,वाजपेयी । गान्धी, नेहरु पुराना नयाँ पुस्तादेखि मोदी युगसम्म नेपाल भारतका सम्बन्ध चिसो तातो हुँदै गर्मी, ठण्डा हुँदै, अध्ययन, अवलोकन, आरोह, अवरोह हुँदै लामो इतिहासदेखि हालसम्मको धरातलमा आइपुगेको छ । पटक–पटकको सीमा विवाद, आर्थिक नाकाबन्दी कुनैबेला भात भान्सा बन्द स्वासप्रस्वास रोकिँदा पनि अबोध बालकझै निरीहझै बस्यौँ हामी भक्ति र भजन गर्दै । अधिकांश हाम्रो अर्थ बजार आयात निर्यात भारतीय भूमिको विकल्प छैन आजसम्म । मजासँग चल्दै आएको तातोपानी व्यापार नाका लामो समयदेखि बन्द छ । काठमाडौँ केरुंग बाटो साहृै असजिलो छ । कसरी हो कुन्नी हाम्रा बीर बहादुर शाहले केरुंग कुतीसम्म व्यापार सहज बनाए ।
भूपरिवेष्ठित भूमिको कारण मात्र राष्ट्रियता कमजोर भएको भने पक्कै होइन । राष्ट्रियता भन्नु भूगोल मात्रै होइन । मुटु पनि हो । माया विना मुटुको धड्कन चल्न सक्दैन माया भन्नु स्वदेशको माया हो, स्वदेशीपन हो । नेपाल अरुको उपनिवेशमा परेन तर, आर्थिक औपनिवेशिकता, परनिर्भरता, भाषिक औपनिवेशिकता, आयातित संस्कृतिले मुलुकको राष्ट्रियतालाई गल्र्याम गुर्लुम ढालेको छ । मुलुकमा रोजगारी छैन । स्वेच्छा वा विवसताले नेपालीहरु विदेशिएका छन् । बूढावा आज घर गोठको चिस्यानमा छन् । छोरो जापानमा छ, बुहारीलाई लण्डनको चिसोले छोला भन्ने डर छ । छोरी कोेरिया छिन् उनका पति अर्थात् जुवाँई कतारमा छन् । सालो बैंककमा छ, साली अष्ट्रेलियामा । सासु ससुरा सम्धीहरु यतैउतै शहरमा कोठा खोजी बसेका छन् ।
आयातित सामान र तिनबाट हामीले विकासको मूल फुटाउने इच्छा गरेका छौं । मुलुको राष्ट्रियतारुपी गाडी बलियो हुन आफ्नै धर्म, संस्कृति, भाषा र भूमिरुपी चार पाङ्ग्रा हुन जरुरी छ । भूमिको कुरामाथि भयो । भूमिमा पनि कहिल्यै टनकपुर र महाकाली सन्धिको कुरा भएन । कहिले चाँदनी दोधाराको, कहिले लिपुलेकको, कहिले कोशी सम्झौताको, कहिले त्रिवेणी–सुस्ताको, कहिले मेचीपुल वरिपरिको सीमानाको । विश्वकै एकमात्र हिन्दु राष्ट्रको नाम झिकिसक्यौँ हामीले । पावन पशुपतिनाथको एकमात्र भूमि नेपालमा मौलिक धर्म, हिन्दु त्यो अब रहेन । विश्वको आँखा यता तान्न सकिन्थ्यो, मुलुक नेपाल भन्दा नेपाल र नेपालीको मुहार सगरमाथाको शिरझै उचो हुन्थ्यो यसमा हाम्रो गहिरो ध्यान गएन ।
मुलुक बहुआयामिक संस्कृतिको धनी छ । तर मुलुकभित्रको संस्कृतिमा अब धमिरा लाग्न सुरु भएको छ । सबै संस्कृतिलाई धेरै पूmलहरु मिलाएर एउटै धागोमा बाँधेर माला बनाएझै रंगीन, हराभरा बनाएझैं एक सुत्रमा आबद्ध थियो पहिले । अब एक अर्काप्रति अविश्वासको संस्कृति हुर्केको छ । विदेशी सस्कृतिले बढी प्रश्रय पाउन थालेको छ । बत्ति बालेर पूजा गर्नुको सट्टा बत्ति निभाएर जन्मोत्सव मान्ने उल्टो संस्कृति भित्रेको छ । खानपिन, रहनसहन, लवाई, भाषा, भेषभुषा सबै विदेशी संस्कृतिमय बनेको छ । कुनैबेला यस्तो संस्कृतिको सबैलाई उराठ लाग्न सक्छ, समयमै बुद्धि नपु¥याए । वैवाहिक जोडीको संस्कृति भन्दा पारपारचुकेको संस्कृति भित्रिरहेको छ । विदेशीहरुले यहाँको मौलिक संस्कृतिलाई लोप गराई राष्ट्रियतामाथि धावा बोलिरहेका छन् । नजानिदो रुपमा भन्दा मन्द विष खुवाइरहेका छन् ।
लैगिंक र जातीय असमानतालाई हटाइनुपर्छ । भौगोलिक विकटता र आर्थिक असमानतालाई हटाइनुपर्छ । राष्ट्रिय हित, राष्ट्रिय स्वार्थभन्दा कोही ठूलो हुन सक्दैन । हाल गणतन्त्र नेपालले धेरै विषयमा फड्को मारेको छ । मुलुकको संरचना संघीय प्रणालीमा छ । तर यो प्रणाली बहुत खर्चिलो छ । विश्वका कम मुलुकमा मात्र यस्तो शासन पद्धतिले पश्रय पाएको छ । जनतालाई सार्वभौम गराउनु पर्छ तर, बोलीले मात्रै होइन यो व्यवहारले पनि हुनुपर्छ । मौलिक अधिकारको पुलिन्दा कागजमा लेखेरमात्र हुँदैन व्यवहारमा कति छ भुक्तभोगी नै जानून् ।
नेताहरुको निहित स्वार्थभन्दा नीतिले नै सञ्चालित हुनुपर्छ मुलुक । नेपालमा एक किसिमको द्धन्द्ध कायमै छ । राजनैतक परिवर्तन पुरा भएको भनिए पनि आर्थिक समृद्धिको मार्गमा राज्य खुलेर लाग्न सकेको छैन । दिगो विकास र समृद्धिका लागि मुलुकको आफै चिनारी हुन जरुरी छं । भाषिक औपनिवेशिकता छ यहाँ भर्खरै बोली सिक्न लागेको बच्चाले पिता, माता वा हजुरबा भन्न जान्दैन । उसले भन्न जान्दछ डेडी, ममी, कुकुर भन्न जान्दैन पपी भन्छ । काकाकाकी भन्दैन, अंकल, अन्टी भन्छ । यस्ता उदाहरण छन् । अन्य मुलुकका आफ्नै भाषा छन्, थाइल्याण्ड, चीन, जापान, जर्मनी, रुस, कोरिया सबैको आफ्नै भाषा छ ।
युगौंयुगदेखिको इतिहास बोकेको सुन्दर, शान्त र विशालको नारा लिएको मुलुक भूपरिवेष्ठित बाध्यता र विवशतासँगै आशैको आशाको त्यान्द्रोमा बसिरहेको छ, बहुमूल्य खनिज छ, हामीसँग हिमालको गर्भगृहमा सुन छ । वन पैदावार, जडिबुटीको खानि हो मुलुक । उपयोग गर्न, उत्खनन गर्न, उपभोग गर्न सकिएको छैन । हामी भिक्षार्थी भएका छौं, ग्याँसको, मट्टितेलको, पेट्रोलको, हवाइ इन्धनको । हो, सबैथरि सबैथोक एकै ठाउँमा एउटै भूगोलमा नहुन सक्छ, नपाइन सक्छ । सँधै पाइने वस्तु पानीको प्रयोग पनि हामीले सही ढंगले गर्न सकेका छैनौं । शुद्ध पिउने पानीको सँधै हाहाकार छ, खेतीपातीमा सिँचाइ सुविधा पुगेको छैन, पानीबाट उत्पादन हुने विद्युतको संकट खेपेको खेप्यै छौं, हामी । हो, हाम्रो बोलीमा सत्य भन्दा मित्थ्या धेरै, व्यवहारमा सत्यभन्दा झूठ धेरै छ, हामीसँग कृषिमा हाम्रै मल खाद र बीउ बीजनले भन्दा रासायनिक मल र हाइव्रीड बीउले प्रश्रय पाएका छन् । देशको साँच्चै माया गर्ने वीर सपुत नेपाली आमाले कहिले जन्माउलिन्, कति युग पर्खनु पर्ला ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies