कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण नेपालमा संक्रमित संख्या तीव्र गतिमा बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बिहीबार थप ३,५५३ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार भन्दा यो झण्डै पाँच सयले बढी हो । बुधबार ३,०७५ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार १५,०८१ जनाको परीक्षण रिपोर्ट आउँदा पाँच सय बढीमा संक्रमण पुष्टि भयो । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि सरकारले प्रतिबन्धात्मक व्यवस्थाको निर्णय गरेको छ । विद्यालयहरु बन्द गरिसकेको छ भने भीडजन्य गतिविधिमा रोक लगाएको छ । कोरोना संक्रमण रोकथामको उच्च सतर्कता नअपनाए कारबाही गर्ने राजधानी उपत्यकाका स्थानीय प्रशासनले निर्णय गरेको छ ।
तर भीडजन्य गतिविधि रोकिएको छैन । मंगलबार मात्रै पृथ्वीनारायण शाहको ३००औं जयन्तीमा हजारौं मानिस सडकमा उत्रिएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह समेत सडकमा निस्किएपछि देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार परिसरको सडक घण्टौ अवरुद्ध हुन पुगेको थियो । राजतन्त्र पुनर्स्थापनाको माग गर्नेहरुको मात्रै नभएर मुलुकको नेतृत्व गरिरहेका प्रमुख राजनीतिक दलहरुको गतिविधि समेत रोकिएको छैन । विपक्षी दल नेकपा एमालेको देशभर जिल्ला अधिवेशन यही अवधिमा चलिरहेको छ । गएको पुस २३ गतेदेखि जारी अधिवेशनमा भीडभाड चलिरहेको छ । यो भनेको अघिल्ला वर्षहरु जस्तै दुखद् नियति दोहोरिन पुगेको छ । अघिल्ला वर्षहरुमा पनि यस्तै राजनीतिक गैरजिम्मेवारी देखिएको थियो । जसको कारण कोरोना महामारी डढेलो जसरी फैलिन पुगेको थियो । लामो समय लकडाउन र निषेधाज्ञा गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यसपटक निषेधाज्ञा नहुने बताएका छन् । तर निषेधाज्ञा नहुने मन्त्रीले बताएर मात्रै पुग्दैन । बरु मन्त्री खतिवडा आफ्नै अग्रसरतामा निषेधाज्ञा नहुने परिस्थिति सिर्जना गरिन आवश्यक छ । यदि संक्रमणको दर उच्च भएमा निषेधाज्ञा निर्विकल्प बन्न पुग्छ । किनकि नागरिकको जीवन रक्षासँग अरु घटनाको तुलना हुन सक्दैन । सँगै नागरिकलाई रोगबाट मात्रै नभएर भोकबाट समेत जोगाउनु सरकारको र राजनीतिक नेतृत्वको दायित्व हो । संक्रमण बढेर जाँदा नागरिकमा भोक टार्ने समस्या अघिल्ला पटक पनि देखिएको थियो । त्यसैले यसपटक नागरिकलाई रोगबाट मात्रै नभएर भोकबाट समेत जोगाउन संक्रमणको रोकथाम उच्च प्राथमिकतामा राख्न जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies