– खिमराज गिरी
अकबर वीरबलको कथामा आधारित विभिन्न शीर्षकका कथाले नेपाली राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा प्रत्यक्ष तथा परोक्षरूपमा असर पारी नै राखेको देखिन्छ । अकबर वीरबलको कथामा अकबर घमन्डी र हठी बादसाहका पात्र हुन् भने वीरबल चलाख मन्त्रीको पात्र । अकबर राजाको घमन्डलाई धुजा धुजा पार्नको लागि वीरबलद्वारा चर्पीको हाउगुजीको रूपमा रचिएको यो कथा खासगरी अहिले हाम्रो समाजका केही व्यक्तिहरूको राजनीतिक चरित्रसँग मेल खान्छ । यहाँका केही पार्टीका नेता तथा कार्यकर्तालाई हेर्ने हो भने तिनको चरित्र सिद्धान्तनिष्टभन्दा पनि राजनीतिक हिसाबले व्यक्तिवादी देखिन्छ । जुन पार्टीको नेतासँग उसको राम्रो सम्बन्ध छ र उसबाट फाइदा लिन सकिन्छ प्रायः व्यक्तिहरू त्यस्ता नेताहरूको पछि लागि परेका हुन्छन् ।
सामान्यतयाः राजनीति गर्ने व्यक्ति समाजको जुनसुकै परिवेशसँग पनि घुलमेल गर्न सक्ने हुनुपर्दछ । जस्तोसुकै परिस्थितिको पनि सामना गरी व्यक्तिवाद, परिवारवाद, पार्टीवादको स्वार्थबाट टाढा रही जो व्यक्तिहरू सामाजिक परिवेशमा राष्ट्रिय चिन्तनमा डुबी जस्तोसुकै परिस्थितिसँग पनि सामना गर्न तयार हुन्छन्, ती नै असली राजनीतिज्ञ हुन् न कि, कुनै नेतासँग व्यक्तिगत काम नमिलेकै कारण तिक्तता भयो भन्दैमा सिद्धान्त नै परिवर्तन गरी बाटो बिराउने कार्यकर्ता ठीक हुन्छन् । झन अहिलेको नयाँ प्रविधिले त सामाजिक सञ्जालमा केही तथ्यपरक तथा केही झुट्टा कुराहरू फैलाएर यति दुर्गन्धित बनाइएको छ कि, अफबाह फैलाएकै कारणले कति त आत्महत्या गर्ने र हत्या गराउने जस्तो जघन्य अपराधको कार्यमा संलग्न भएको पाइएको छ । जसले गर्दा समाजमा जति जति नयाँ प्रविधिको विकास भएर मानिसले निकास पाइरहेका छन् त्यति त्यति नै हर घडी हर पल चुनौतीका पहाडहरू पनि बाधकको रूपमा अगाडि तेर्सिएका छन् । यस्तै अहिले अर्को हाउगुजीको रूपमा एमसीसी र कालापानी लिम्पियाधुरा नेपालको जमिनबारे देखिराखेको छ । देश बनाउँछु भन्ने र अघिल्लो सरकारको पालामा निकै नै तादाम्यता प्रकट गर्ने नेपाली कांग्रेसका युवा नेताहरू गगन र विस्वप्रकासबाट झन यसबारेमा प्रष्ट धारणा आउन सकेको खोइ त ?
ओली सरकारको पालामा राष्ट्रियताको विषयलाई लिएर सामाजिक सञ्जालभरि विरोधको नौमती बाजा बजाएर आफैलाई अमेरिका र युरोपको प्रेसिडेन्ट सम्झने कांग्रेसका युवा नेताहरू आज आफ्नै सरकार हुँदासमेत भारतले माहाकालीको नामै फेरेर कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूमिसहितको नक्सा पुनः प्रकाशित गरिसक्यो । अझ लिपुलेकमा त सडक नै बनाई सक्यो । भारतीय सेनाले गुन्जिमा आएर परेड मात्रै खेलेन र सार्वजनिक रूपमा कार्यक्रम नै गरेर गयो ।
आज यी चारतारेका चौतारीमा दम नभएका चुपचाप र गुमनाम छन् । ओली हुँदा बोल्न हिम्मत आउने यी ज्वाईँ साहेबहरू अझ पन्ध्र वर्ष भारतीय मतियार भएर पार्टी हाँकेकाहरू अनि क्रान्तिकारी झुजारू भनिनेहरूको असली राष्ट्रवाद त लङौटीको छत्रछाँयामा परेपछि त यस्ता सिंहहरू एकाएक नामर्द हुँदा रहेछन् । सरकारको बिरोध गर्नु त कता हो कता एक शब्दले समेत प्रहार गर्ने हिम्मत देखाएनन् । यो कस्तो अचम्मको राष्ट्रवाद ?
समग्रमा भन्नुपर्दा राष्ट्रियताको मामलामा नेपालका केही राजनीतिक पार्टीहरू, मिडिया, बुद्धिजीवी वर्ग, मानवधिकारवादी, जनसरोकारमा चासो राख्ने सामाजिक अभियन्ताहरू प्रायको धारणा हात्तीको देखाउने दाँत र चपाउने दाँत जस्तै देखियो । अझै भन्नु पर्दा अकबर वीरबलको कथामा आधारित ‘खोपाको श्याउ चर्पीको हाउ’ जस्तै हाउगुजीको रागले सन्त्रास फैलिएकोले देशले निकास कहिले पाउने ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies