– शेरबहादुर विश्वकर्मा
पूँजीवादी व्यवस्था रहेसम्म आर्थिक संकटहरु रहिरहन्छन् अनि आइरहन्छन् । त्यो संकटले उत्पादक शक्तिको विनाश गरिरहन्छ । जसलाई सचेत प्रयत्नद्वारा क्रान्तिकारी दिशामा रुपान्तरण गर्न सकिन्छ भन्ने मान्यता नै माक्र्सवादी राजनैतिक अर्थशास्त्रको मूलभूत मान्यता हो । पुँजीवादी उत्पादन सम्बन्धमा आइरहने चक्रिय संकटलाई सरल र सहज रुपमा बुझाउन र संकटको पुँजीवादी विरोधाभाषाबारे स्पष्ट गर्ने उद्देश्यले एकजना भारतीय माक्र्सवादी विद्वान् नरेन्द्र कुमारले आफ्नो किताबमा विशेष व्याख्या गरेका छन् । उनले लेखेका छन्, “एउटा कोइला मजदुरको बच्चाले कठ्याङ्ग्रिदो चिसो रातिमा आमालाई भनेछ, “आमा आगो बाल्नुहोस्, यस्तो ठण्डी धेरै सहन गर्न गाह्रो भो”, आमाले एकदमै उदास स्वरमा भनिन्, “घरमा कोइला छैन”, फेरि बच्चाले सहजभावमा सोध्यो, “किन ?” अनि आमाले अलि चर्को र व्यांग्यात्मक लवजमा भनिन्, “किन कि कोइलाको उत्पादन अति ज्यादा हुन गएको छ ।” आमाको उत्तरमा निहित अन्तरविरोधी पक्षको बारेमा उसले नबुझे पछि बच्चा उदासीन र मलिन अनुहारसहित ऊ घोक्राइरह्यो । त्यसपछि बच्चालाई आफ्नो काखमा राख्दै आमाले शान्त स्वभावले भनिन्, “कम्पनीले कोइलाको उत्पादन ज्यादा गरिदियो, बजारमा मागको कमी भयो, माग घटेपछि कम्पनीले खानी बन्द गरिदियो, अनि तिम्रो बाबाको नोकरी पनि गुम्यो, बाबु तिमीलाई थाहा छ, जब तिम्रो बाबाको नोकरी छुट्यो, तब देखि घरमा यति पनि पैसा छैन कि जसले छाक टार्न रोटी किन्न सकुँ, भने छाप्रोलाई न्यानो बनाउन कोइला कसरी किन्न सक्नु, कम्पनीले त कोइला मुनाफाका लागि बेच्छ, उसले बिना पैसा हामीलाई कोइला किन दिनु ।”
पुँजीवादका कैयौँ विशेषता, चरित्र र विरोधाभाषी नियमहरुमध्ये हामीले बुुझ्नै पर्ने दुईवटा मुख्य स्वभाव छन् – नाफा र पुँजीको विस्तारित पुनरुत्पादन । के उत्पादन गर्ने, कति उत्पादन गर्ने, किन उत्पादन गर्ने, कहाँ उत्पादन गर्ने, भन्ने कुराको निक्र्योल ती वस्तु तथा सेवाहरुले पुँजीपतिलाई नाफा प्राप्त भइरहेको छ वा छैन भन्ने कुराहरुले निर्धारण गर्दछन् । कुनै वस्तु तथा सेवा समाजका लागि उपयोगी छन् वा छैनन्, वस्तुले सामाजिक नैतिकता र मर्यादा प्रतिकुल असर गर्छ वा गर्दैन, यो कुनै निर्णायक विषय हुँदैन, मुख्य कुरा नाफा प्राप्ति हुन्छ वा हुन्न भन्ने मान्यता राखिन्छ । जाँड रक्सी, लागू औषधदेखि वेश्यावृत्तिसम्म पुँजीवादका लागि क्रय–बिक्रय गर्न सकिने वस्तुहरु हुन ।
यहाँ पुँजीवादी व्यवस्थामा उत्पादन पद्धति के हुन्छ भन्ने बारे विस्तारित पुनरुत्पादनको बारेमा अलिकति चर्चा गरौँ । वस्तु उत्पादन प्रणाली प्रारम्भ हुन अघिका प्रणालीहरुमा वस्तु–मुद्रा र फेरि वस्तुको सूत्रअनुसार वस्तुको परिचालन हुन्थ्यो । वस्तु उत्पादन गर्ने, मुद्रामा विनिमय गरेर आपूmसँग नभएको अर्को वस्तु किन्ने वा विनिमय गर्ने । तर, पुँजीवादी उत्पादन प्रणालीमा यो सूत्रलाई उल्ट्याइन्छ, मुद्रा–वस्तु–मुद्रा । मुद्राको परिचालन स्थिर र परिवर्तनशील साधनहरुमा गरिन्छ, वस्तु उत्पादन हुन्छ र त्यो बिक्री गरेर पुनः पहिलेको लगानीभन्दा पुँजीको सञ्चयमा बढोत्तरी हुन्छ ।
भूमि, भवन र मेसिनजस्ता उत्पादनका साधनहरुमा मानवीय (परिवर्तनशील साधन–ज्यालादारी श्रम)को संयोजन गरिन्छ र निरपेक्ष तथा सापेक्ष अतिरिक्त श्रमको शोषणद्वारा कुल पुँजीमा वृद्धि हुन्छ । यसलाई अर्को तरिकाद्वारा पनि भन्न सकिन्छ, जस्तो कि भूमि, पुँजी र संगठनको रुपमा उत्पादनका साधनहरुमा कुल आयको वितरण गर्ने प्रक्रियामा भूमि, पुँजी र उद्यमीको भागमा सम्पत्तिको केन्द्रिकरण हुँदै जान्छ, पुँजी र उपयोग मूल्यको सर्जकको रुपमा रहेको श्रमिक वर्गको क्रयशक्ति घट्दै जान्छ, उनीहरुको श्रमशक्तिको शोषणद्वारा पुँजीपतिहरुको स्थिर पुँजीमा वृद्धि हुँदै जाने प्रक्रियामा उत्पादित मालको माग घटछ । यसैलाई पुँजीवादी अर्थशास्त्रीहरुले प्रभावकारी मागको कमी भनेर पनि व्याख्या गरेका छन् ।
यो व्यवस्थामा आइरहने संकटलाई मन्दी, संकट, पुनरुत्थान र समृद्घिको चक्रको रुपमा पनि बुझ्न सकिन्छ । यसरी आवधिक रुपमा आउने पुँजीवादी संकटको खास कारण बारे एंगेल्सले यसरी लेखेका छन्– उत्पादनको सामाजिक चरित्र र उपभोगमा व्यक्तिगत स्वामित्वले निम्त्याएको भयानक बिस्फोट । नाफा, पुँजी सञ्चय र पुँजीको विस्तारित पुनरुत्पादनले ज्यालादारी श्रमिक वर्गको अतिरिक्त मूल्यको शोषणद्वारा पुँजीको केन्द्रिकरण हुँदै जाने र मजदुर वर्गको उपभोग क्षमतामा कमि हुुँदै जाने प्रक्रियामा, जो संकट देखापर्छ त्यसलाई किन्सलगायतका अर्थशास्त्रीहरुले बचत विरोधाभाषको सिद्धान्तको रुपमा अथ्र्यायका छन् । यसअनुसार मानिसहरुको जीवनमा दुई प्रकारका जोखिम हुन्छन् ज्ञय र अज्ञय । भविष्यमा आउन सक्ने ती जोखिमहरुलाई न्यूनीकरण गर्न उनीहरुले आफ्नो आयको सबै भाग खर्च नगरि बचत गर्न खोज्छन्, यसरी बचत गर्दै जाने मानिसको प्रवृृतिको कारण बचत बढ्दै गई मागमा कमी आउँछ र यसले नै आर्थिक संकट पैदा गर्छ । फेरि पनि यो सिद्धान्तको मुख्य उद्देश्य अतिरिक्त श्रमको शोषण र पुँजीको विस्तारित पुनरुत्पादनद्वारा उत्पन्न पुँजीवादी आर्थिक संकटको आधारभूत कारणलाई लुकाउनु र अन्ततः पुँजीवाद दीर्घजीवि छ भनेर सावित गर्नु नै हो ।
हामीले अघि नै भन्यौँ पुँजीवाद नाफा प्रेरित अर्थ प्रणाली हो । नाफा बिना यो एकछिन् पनि बाँच्न सक्दैन । यसका लागि पुँजीपतिहरुबीच जुन प्रतियोगिता चल्छ, त्यसले बजारको माग र उत्पादनको परिणामबीच एउटा भयनाक असन्तुलन ल्याइदिन्छ । नाफाको दौडमा रहेका पुँजीपतिहरुले त्यहाँ र त्यो वस्तुमा लगानी गर्दछन् जहाँ र जुुुन वस्तुको नाफा दर उच्च छ । जब अर्थतन्त्रमा समृद्घिको समय हुन्छ, माग बढ्दै गइरहेको हुन्छ । माग र मूल्य बढ्दा आपूर्ति पनि बढ्छ र त्यही क्षेत्रमा लगानी केन्द्रित हुँदै जाँदा तुलनात्मक रुपमा कम नाफादर भएका अन्य वस्तु तथा सेवाहरुको क्षेत्रमा लगानी घट्ने र पुरानो सन्तुलनमा गढबढी आउने हुन्छ भने अर्कातिर विस्तारित पुनरुत्पादनको पुँजीवादी चरित्रका कारण श्रमिकहरुको जीवनस्तरमा गिराबट आउन थाल्छ । कैयौँ ज्यालादारी श्रमिकहरु बेरोजगार बन्दै जान्छन्, कैयौँको ज्यालादार घट्छ, यसरी पुँजीवादी प्रणालीमा आउने आर्थिक संकट र त्यसले ल्याउने भयानक बेरोजगारीलाई माक्र्सले ‘औधोगिक रिजर्व सेना’ को संज्ञा दिनुभएको थियो र बेरोजगारीहरुको विशाल पंक्ति नै समाजवादी क्रान्तिको लागि सशस्त्र बलको रुपमा अगाडि आउने विश्लेषण गर्नुभएको थियो ।
तर, माक्र्सकालीन युरोपको औद्योगिक पुँजीवाद र आजको पुँजीवादमा कैयौँ अन्तरहरु देखिएका छन् । प्रतियोगिताको ठाउँँ एकाधिकार र बहुराष्ट्रिय निगमहरुले लिएका छन् । पुँजीवादको आधारभूत र शोषणकारी चरित्र यथावत् हुदाँहुँदै पनि रुप पक्षमा कैयौँ परिमार्जनहरु आएका छन् । सन् १९२९—३३ को महामन्दी, प्रथम र द्वितीय विश्वयुद्घजस्ता पुँजीवादका संकटहरुले ल्याएका विपत्तिहरुबाट सुशिक्षित हुँदै उनीहरुले मजदुरहरुका लागि आधारभूत मानवीय आवश्यकताको सुनिश्चितता गर्ने नीति लिएका छन् । कतिपय उत्पादनका क्षेत्रमा मजदुरहरुकै शेयर राख्न लगाउने, बीमा, सञ्चयकोष, आठ घण्टाको कार्यअवधिभन्दा बढी काम गर्दा ओ. टि. दिने जस्ता सुधारहरु गरिएका छन् । अर्थशास्त्री किल्सद्वारा सन् १९३६ मा लेखिएको जनरल थ्यरीको मूल सार नै पुुँजीवादमा आउने आवधिक संकटलाई भरथेग गर्न सार्वजनिक खर्च, सामाजिक सुरक्षा र लोककल्याणमा वृद्घि गर्ने कुराहरुसँग सम्बन्धित छ । संसारभरि निरपेक्ष रुपमा गरिबीको रेखामुनि रहेको जनसंख्यालाई सन् २०३० सम्म मध्यम स्तरमा पु¥याउने कुरा सहश्राब्दी विकास लक्ष्य र खासगरी दिगो विकास लक्ष्यको एउटा कम्पोनेन्ट हो । चिनियाँहरुले पछिल्लो आवधिक योजनामा ७० करोड जनतालाई गरिबीको तहबाट माथि उकाल्दै मध्यम स्तरको जीवनस्तरमा बदलिएको विषयलाई सि.जिन.पिङ.र चिनियाँ विशेषताको समाजवादको सफलताको रुपमा समेत चर्चा गरिँदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies