२०८२ कार्तिक २६ गते बुधवार / Nov 12 , 2025 , Wednesday
२०८२ कार्तिक २६ गते बुधवार
Ads

दल दर्ता धमाधम, तर छैनन् जेनजी

shivam cement
दिवाकर अधिकारी
२०८२ कार्तिक २६ गते ०६:४०
Shares
दल दर्ता धमाधम, तर छैनन् जेनजी

काठमाडौं : जेनजी आन्दोलनपछि धमाधम दलहरू जन्मिँदै छन् । अध्यावधिक दलको संख्या १ सय २६ पुगिसकेको छ । २९ वटा दल दर्ताको प्रक्रियामा छन् । तर नयाँ दल दर्ताका लागि पुगेका पार्टीहरूको नेतृत्वमा जेनजी देखिएका छैनन् । 

बरु पूर्वकर्मचारी र व्यापारिक पृष्ठभूमिका व्यक्ति दल गठनमा सक्रिय भएका छन् र आफू संरक्षक रहेर पार्टी बनाउँदै छन् । 

पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । ऊर्जामन्त्री कुलमान घिसिङको पहलमा गठन भएको प्रस्तावित पार्टीका पदाधिकारीले मंगलबार आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखामा निवेदन दिएका हुन् । पार्टीको चुनाव चिह्न बलेको चिम रहेको छ । 

पार्टीमा ५१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । यो पार्टीको केन्द्रीय समितिमा नयाँ पुस्तालाई समेट्ने प्रयास भए तापनि नेतृत्व तहमा पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय छन् । 

यसबाहेकका अन्य दलमा पनि नेतृत्व तहमा जेनजी छैनन् । सोमबार मात्रै नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । रेशम चौधरी पहलमा गठन भएको यो पार्टीको अध्यक्षमा कबिर सोप छन् । चुनाव चिह्न जाँतो रहेको छ । 

यो पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । आयोगले मंगलबार दर्ता गरेर दल दर्ताको प्रमाणपत्र दिएको छ । 

आयोगका सहसचिव यज्ञ भट्टराईका अनुसार योसँगै जेनजी आन्दोलनपछि दर्ता हुने दलको संख्या पाँच पुगेको हो । 

यसअघि हर्क साम्पाङको नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता भएको थियो । साम्पाङ धरानका मेयर हुन् । 

बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतको पहलमा गठन भएको गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी र सिके राउतको जनमतबाट विभाजन भएको जनस्वराज पार्टी दर्ता भइसकेका छन् । यससँगै दर्ता भएका दलको संख्या १ सय २६ पुगेको हो  । नयाँ दर्ताका लागि मंगलबारसम्म २९ वटा निवेदन आयोगमा पुगेका छन् । 

निर्वाचन आयोगका अनुसार बाँसुरी चुनाव चिह्न राखेर अजयकुमार राईले राष्ट्रिय परिवर्तन पार्टी नामक दल दर्ताको निवेदन दिएका छन् ।

गोपीलाल न्यौपानेको नेतृत्वमा नेपाल लिबरल पार्टी दर्ताका लागि पुगेको छ । यो पार्टीको चुनाव चिह्न सिक्का प्रस्तावित छ ।

हिराप्रसाद सेतीले क्रस खुकुरी चुनाव चिह्न राखेर राष्ट्रिय जेनजी पार्टी नेपाल नामक दल दर्ताको निवेदन दिएका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ कम्युनिस्ट पार्टी नेपाल नामक दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । नवराज सुवेदीको नेतृत्वमा जनयुग पार्टी नामक दल दर्ताको निवेदन प्रक्रियामा छ ।

अभियन्ता खगेन्द्र सुनारले हाम्रो नेपाल पार्टी नामक दल दर्ताको निवेदन दिएका छन् । यो पार्टीको प्रस्तावित चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न रहेको छ ।

हिमालयबहादुर चन्द नेपाल राष्ट्रिय युवा पार्टी नामक दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेका छन् । उनले पार्टीको चुनाव चिह्न गोलो घडीभित्र कलमको लेख्ने टुप्पो सुईका रूपमा रहने प्रस्ताव गरेका छन् ।
चापाकल चुनाव चिह्न प्रस्ताव गरेर योगेन्द्र मण्डल राष्ट्रिय ऊर्जाशील पार्टी नामक दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेका छन् ।

चन्द्रप्रकाश सुवेदी नेतृत्वमा सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको नेतृत्वमा राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठको नेतृत्वमा नागरिक सर्वोच्चता पार्टी नेपाल नामक दल दर्ताको निवेदन प्रक्रियामा छ ।

सुन्दर नेपाल निर्माण पार्टीको चुनाव चिह्न फलेको केराको बोट प्रस्तावित छ । राष्ट्र निर्माण पार्टीको चुनाव चिह्न तीन पात, नागरिक सर्वोच्चता पार्टी नेपालको चुनाव चिह्न मुठ्ठीमा धानको बाला रहेको छ ।

रियाज अहमद शेषले राष्ट्रिय स्वराज पार्टी नामक दल दर्ताको निवेदन दिएका छन् । उनले चुनाव चिह्न मुठ्ठी वा डोजर प्रस्ताव गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र), आवाज पार्टी, सार्वभौम नागरिक पार्टी, नागरिक बचाऊ दल र राष्ट्र निर्माण दल नेपाल पनि दर्ता प्रक्रियामा रहेका छन् । तर यीमध्ये कतिपय दलले आवश्यक कागजात निर्वाचन आयोगमा पुर्‍याएका छैनन् ।

नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र)को नेतृत्वमा राजकुमार कक्षपति छन् । आवाज पार्टीको अध्यक्षमा सुन्दरराम बोहरा छन् । आवाज पार्टीले चुनाव चिह्न सुनिरहेको कान मागेको छ ।

नागरिक बचाऊ दलको नेतृत्वमा माधवप्रसाद खतिवडा र राष्ट्र निर्माण दलको नेतृत्वमा अकबर खान रहेका छन् ।

सार्वभौम नागरिक पार्टीको अध्यक्षमा गणेशकुमार मण्डल छन् । उनले पार्टीको चुनाव चिह्न २४ कोण भएको चक्र प्रस्ताव गरेका छन् ।

कानुनतः दल दर्ताको निवेदन प्राप्त भएको ४५ दिनभित्र आयोगले निर्णय दिनुपर्नेहुन्छ । तर आवश्यक कागजात पुगेको अवस्थामा छिटै पनि दल दर्ताको प्रमाणपत्र दिन सकिने र दिँदै आएको आयोगका अधिकारी बताउँछन् । सनाखतलगायतका प्रक्रिया पूरा भएपछि दल दर्ताको प्रमाणपत्र दिँदै आएको छ ।

निर्वाचन आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनमा भाग लिन चाहने दलले यही कात्तिक ३० गतेअगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने हुन्छ ।

त्यसपछि मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । 

कुलमानको पार्टीमा कोको छन् ? 

ऊर्जामन्त्री कुलमान घिसिङको पार्टी भनेर प्रचारित उज्यालो नेपालले दल दर्ताका लागि विधान र केन्द्रीय कमिटीको सूची निर्वाचन आयोगमा बुझाएको छ । 

५१ सदस्यीय केन्द्रीय कमिटीमा घिसिङ स्वयंको नाम भने छैन । तर पूर्वकर्मचारी, विवेकशील साझादेखि पहिचानवादी आन्दोलनका अगुवाहरू उक्त सूचीमा छन् । दल दर्ताको नेतृत्व गरेका जितराम लामाले काठमाडौं महानगरका मेयर बालेन शाहका प्रतिनिधिसमेत यो नयाँ दलमा आबद्ध छन् । 

कैलालीका इन्जिनियर अनुपकुमार उपाध्यायलाई सो पार्टीको अध्यक्ष प्रस्ताव गरिएको छ । पार्टीको केन्द्रीय कमिटीमा महेन्द्रसुन्दर लावती, डा. विशाल भण्डारी, डा. अभिषेकराज सिंह, रिमा विश्वकर्मा, निलिमा बस्नेत, डकेन्द्र सिं थेगिम, ज्ञानेन्द्रकुमार तामाङ, जितराम लामा, अरविन्द शाह, टासी ल्हान्जोमलगायत छन् । सिंह डा. गोविन्द केसीको आन्दोलनका सहयोगी हुन् भने थेगिम गत उपनिर्वाचनमा इलाम २ मा पहिचानवादीका तर्फबाट उम्मेदवारी दिएका नेता हुन् । टासीले भने आफू अहिले नै कुनै दलमा आबद्ध भइनसकेको प्रस्टीकरण दिइसकेकी छन् । 

रास्वपा छाडेर नयाँ पार्टी गठनका लागि गृहकार्य गरेकी सुमना श्रेष्ठ भने घिसिङको पार्टीमा छैनन् । पार्टी नामलगायत विषयमा विमति भएपछि उनी यो समूहबाट बाहिरिएकी थिइन् ।

ADV

सम्बन्धित खबर